विनय यात्रु बनेर ‘कठोर गाउँ’ पुग्दा झमक्क रात परिसकेको थियो। दिनभरको पैदलयात्रा, नाक ठोक्किने अनकन्टार पहाडको उकालो चढ्दा हातगोडा थर्थराइसकेका थिए।
बिजुली नपुगेको त्यो ‘कठोर गाउँ’को पल्लो कुनाको एक्लो घरमा धिप्धिपाउँदै गरेको टुकीको वर्तन पनि सकिन लागेको थियो। विनय ढोकाको देब्रे कुनामा झोला राखेर मझेरीको सुक्कुलमा घत्रक्कै पल्टियो। ब्युँझँदा शीतको थोपाले बलेँसी तप्तपाउँदै थियो।
पुसको महिना। चिसोले लुगलुग कमाएको थियो। घरबाट सामुन्ने पारिपट्टि पहाडको थाप्लोमा अनादि कालदेखि कहलिएको एउटा विशाल पहरो छाती खुलाएर पुस्तौँदेखि पल्टिएको देख्यो। चैत वैशाखका चर्का घाम, वर्षायामको दर्के पानी र हिउँदे भुँवरीमा रन्फनिएको हुन्डरी पालो पालो त्यही पहराको छातीमा थुरिन्थे।
गाउँलेहरू त्यसलाई कसैले ‘कठोरताको जिउँदो लास’ त कसैले ‘चिहाने डाँडो’ भन्थे। न त्यहाँ हरियालीको कुनै उर्वरा थियो, न त जीवनको कुनै मधुर सुवास नै। शीतले निथ्रुक्क भिजाएका र घामले डढाएका ती सुक्खा चट्टानहरूलाई हेर्दै गाउँका बुढापाकाहरू लामो सुस्केरा हाल्थे, ‘यहाँ सम्भावनाका फूलहरू कहिल्यै फुल्दैनन्, यो केवल एउटा निष्प्राण मरुभूमि हो’ भन्थे। तर त्यो पहराको छाती फोरेर सुनाखरी ढकमकाएको उनीहरूले पत्तो पाउँदैन थिए।
ठ्याक्कै त्यही उजाड पहरोको फेदीमा एउटा सानो झुप्रे घर थियो। त्यहाँ एउटा संघर्षशील परिवार बस्थ्यो। त्यही परिवारमा एउटी दृष्टिविहीन युवती थिइन्। तर उनमा चेतनाको बेग्लै दैवीशक्ति थियो। उनको नाम हो ‘चेतना’। बाहिरी संसारका लागि चेतनाको आँखामा अन्धकारको बाक्लो पर्दा थियो, तर उनको मानसपटलमा एउटा अलौकिक दियो बलिरहन्थ्यो।
भीडले उनलाई सधैं असहाय, कमजोर र ‘नियतीले ठगेकी’ भन्दै दयाको कचौरा थमाइदिन खोज्थ्यो। तर चेतना त समाजले कोरिदिएको बन्धनको सीमारेखाभन्दा धेरै माथि, आफ्नै धूनको महाआकाशमा मग्न थिइन्।
जब–जब औँसीको निष्पट्ट अँध्यारो छाउँथ्यो, तब संसार देख्ने आँखाहरू पनि ठक्कर खान्थे। दृश्यका अहंकारीहरू घरभित्रै थुनिएर बस्थे। तर त्यही मध्यरातमा बिना कसैको सहारा ‘चेतना’ भने आफ्नो बाँसुरी बोकेर आँगन माथिको ढुङ्गे थुम्कीमा निस्कन्थिन्।
उनका कोमल औँलाहरू बाँसुरीका प्वालहरूमा नाच्न थालेपछि हावामा एउटा यस्तो संवेग छुट्थ्यो, मानो त्यो कालो रातलाई चिर्न लाखौँ जुनकिरीहरूले एकैपटक विद्रोह गरिरहेका छन्। बाँसुरीबाट निस्किएको त्यो प्रतिरोधी स्वरले सुतेको गाउँलाई जुरुक्क–जुरुक्क उठाउँथ्यो। गाउँलेहरू मन्त्रमुग्ध भएर साउती मार्थे, ‘आँखा नहुनेले कसरी यस्तो सुमधुर धून निकाल्न सक्छ?’ चेतना मनमनै मुस्कुराउँथिन्।
दृष्टि त केवल एउटा भ्रम हो, असली चेतना र उज्यालो त संकल्पको मुटुमा हुन्छ। चेतनाको त्यो ‘सुनाखरी सपना’ बजारमा बिक्ने सस्तो र चम्किलो झिलिमिली बत्ती जस्तो भड्किलो थिएन। त्यो त मौनतामा मगमगाउने एउटा यस्तो रैथाने सुगन्ध थियो, जसको गहिराइ महसुस गर्न उनको संगीतको आत्माभित्रै समाहित हुनुपथ्र्यो।
उनी प्रकृतिका अदृश्य आवाजहरूलाई समेटेर एउटा युगीन महासंगीत रचना गर्न चाहन्थिन्। त्यही उनका घरमाथिको पहरामा संघर्ष गरेर फुलेको सुनाखरीको कथा उनले सुनेकी थिइन्। त्यही कथा उनका लागि प्रेरणा बनेको थियो। न कि उनलाई पनि त्यो सुनाखरीजस्तै फूल्नु थियो। अनि सुवास छोड्नु थियो समाजमा।
तर सहरका कथित आधुनिक संगीतका ठेकेदार र कलाका व्यावसायिक पारखीहरूले उनका लागि आफ्ना सीप सिक्ने ढोकाहरू पूर्ण रूपमा बन्द गरिदिए, कारण एउटै प्रश्न थियो कि, दृष्टिविहीनले कसरी सिक्न सक्छन् र?
भन्थे कानै नसुन्नेहरू र आँखा नै नदेख्नेहरूले के गर्न सक्छन् र?
एउटा ग्यालरीको चस्माधारी महासयले त व्यङ्ग्य कस्दै उनको आत्मामै प्रहार गरेको उनलाई झल्झली आउँथ्यो, ‘संगीतका सात रङ्ग र मञ्चका चम्किला प्रकाश नदेख्ने दृष्टिविहीन मान्छेले कस्तो संगीत सिर्जना गर्नु? तिम्रो त जिन्दगी नै अधुरो छ, घरमै बस्नु, बाहिर समय नफालेकै राम्रो!
त्यो तिरस्कारको तीक्ष्ण वाणले चेतनाको कोमल मन क्षतविक्षत भयो। त्यो बेला केही क्षण उनका खुट्टा धर्मराए तर उनको प्रतिज्ञा डगमगाएन। उनले कसैको सहानुभूतिमा बाँच्ने वैशाखी संगीतको सिंहासन रोजिनन्, बरु आफ्नै स्वाभिमानका पखेटाले उड्ने अनन्त नीलाकाश रोजिन्। चेतनाका लागि संसार दृश्यहरूको भीड थिएन, ध्वनि, सुवास र स्पर्शहरूको एउटा सुन्दर संगीत थियो।
चेतनाको सानैदेखिका साथी हुन् आभाष। उनी रेडियो स्टेसनमा टेक्निसियनको काम गर्थे। उनीहरूबिच घनिष्ठ प्रेम थियो। मानिसहरू रूप हेरेर प्रेममा पर्छन् भन्थे, तर चेतनाको प्रेमको सुरुआत निकै भिन्न र अलौकिक तरिकाले भएको थियो। त्यो प्रेमको बीजारोपण रेडियो स्टेसनको स्टुडियोभित्र भएको थियो, जहाँ चेतना ‘मनका तरङ्ग’ नामक विमर्शमूलक कार्यक्रम सञ्चालन गर्थिन्।
आभाष जब स्टुडियोभित्र छिर्थे, चेतनाले उनको पदचाप (हिँडेको आवाज) बाटै चिन्न सक्थिन्। सुरुमा उनीहरूबीच व्यावसायिक कुराकानी मात्र हुन्थ्यो। तर चेतनाका लागि आभाषको आवाज सामान्य थिएन। आभाषको बोलीमा एउटा गहिरो आदर र न्यानोपन थियो, उनी त्यसैबाट प्रभावित थिइन्।
एक दिन कार्यक्रम सकिएपछि आभाषले चेतनालाई कफीको कप दिँदै भनेका थिए, ‘चेतना जी, तपाईं जब कविता वाचन र संगीतको कार्यक्रममा प्रवेश गर्नुहुन्छ, स्टुडियोको हावा पनि भावुक भएर पग्लिए जस्तो लाग्छ।’
त्यो वाक्य भनिरहँदा आभाषको सासमा आएको कम्पन र कफीको कप समातेको हात थर्थराएर कामेको चेतनाले महसुस गरिन्। भनिन्छ, आँखा नभएका मानिसहरूको सुन्ने र महसुस गर्ने क्षमता निकै प्रखर हुन्छ। आभाषको आवाजको त्यही कम्पन र उनीबाट आउने हल्का सुवास चेतनाको मनमा सधैँका लागि जमेर बस्यो। त्यो कुनै रूपको आकर्षण थिएन, त्यो त दुई भावनाको पहिलो सामीप्यता थियो।
दृष्टिविहीनहरूको प्रेममा ‘आँखाको इशारा’ हुँदैन, तर त्यहाँ ‘स्पर्शको समृद्ध व्याकरण’ हुन्छ। उनीहरूको सम्बन्ध गहिरिँदै जाँदा स्पर्श र कम्पनकै भाषामा प्रेमिल भावहरू साटिन थाले।
एक साँझ मुसलधारे पानी परिरहेको बेला आभाषले चेतनालाई बाटो काट्न सहयोग गरे। पहिलो पटक आभाषले चेतनाको हात आफ्नो हत्केलामा लिए। चेतनाका लागि त्यो केवल बाटो काट्ने सहारामात्र भएन। आभाषको न्यानो हत्केलाको स्पर्शले चेतनाको शरीरमा एउटा अज्ञात तर मीठो तरङ्ग प्रवाह गरिदियो।
आभाषको हातको आकृतिका रेखाहरूलाई चेतनाले आफ्ना औँलाका टुप्पाहरूले सुस्तरी महसुस गरिन्। त्यो स्पर्शमा एउटा मौन तर बलियो प्रस्ताव थियो– ‘म तिम्रो जीवनभरको सहयात्री बन्न चाहन्छु। के तिमी मलाई अपनाउन सक्छौ..?’
सम्बन्ध अझ प्रगाढ बन्दै गएपछि, एकदिन आभाषले चेतनाको हातलाई आफ्नो अनुहारमा राखिदिए। चेतनाका औँला आभाषका आँखाहरू, उनको तिखो नाक, ओठ र दाह्रीका रेखाहरूमाथि सुस्तरी सल्बलाए। जसरी दृष्टिविहीनहरू ब्रेललिपि छामेर ज्ञान लिन्छन्, त्यसरी नै चेतनाले आभाषको अनुहार छामेर उनको ‘रूपको चित्र’ आफ्नो मनको क्यानभासमा कोरिन्। आभाषको ओठको मुस्कानलाई उनले आफ्ना औँलाका टुप्पाले स्पर्श गरेरै महसुस गरिन्, तर लाजले उनको अनुहार गह्रो भएको महसुस भयो।
जब उनीहरू एकान्तमा नजिक बस्थे, शब्दहरू मौन हुन्थे र जैविक चाहनाहरू सल्बलाउँथे। चेतना आभाषको छातीमा टाँसिँदा आभाषको मुटुको तीव्र धड्कन सुन्थिन्। त्यो धड्कन नै चेतनाका लागि संसारको सबैभन्दा सुन्दर प्रेम–गीत थियो।
एकअर्काको तातो श्वासमा उनीहरू आफ्नो यौवनको तिर्खा, सामीप्यता र तृप्तिलाई साटासाट गर्थे। आभाषको ओठले जब चेतनाको निधार र गालामा स्पर्श गर्थ्यो, चेतनाले अनुभव गर्थिन् कि, ‘प्रेम पाउन र यौवनको तृप्ति भोग्न आँखाको प्रकाश होइन, मनको उज्यालो र स्पर्शको इमानदारिता भए पुग्ने रहेछ।’
चेतनाले आफ्नो प्रेम कथाबाट समाजको त्यो भ्रमलाई तोडिन्, जसले सोच्छ कि दृष्टिविहीनहरू केवल दयाका हकदार मात्र हुन्, उनीहरूभित्र यौवन र दाम्पत्यको चाहना हुँदैन। चेतना आफैमाथि पनि प्रश्न गर्छिन्– ‘यदि त्यसो हो भने अनकन्टारको सुक्खा पहरामा कसरी सुनाखरी फूल्यो?’
उनको एकाग्रता तोड्दै जब आभाषले उनलाई अँगालोमा बाँधेर सोधे, ‘तिमीले मलाई कहिल्यै देखिनौ, तिमीलाई म कस्तो लाग्छु?’
चेतनाले मुस्कुराउँदै आभाषको मुटुमा हात राखिन् र भनिन्, ‘मैले तिमीलाई बाहिरी आँखाहरूले हेरेको भए सायद तिम्रो छालाको रङ र रूप मात्र देख्थेँ होला, जुन समयसँगै बदलिन्छ। तर मैले तिम्रो आत्मालाई मेरो स्पर्श र तिम्रो धड्कनभित्र देखेकी छु, जुन कहिल्यै बदलिने छैन। मलाई लाग्छ कि, हाम्रो प्रेम दृश्यको दास होइन, यो त महसुसको उत्सव हो।’
आवाजबाट सुरु भएको, स्पर्शबाट झाँगिएको र हातको धड्कनमा पुगेर पग्लिएको चेतना र आभाषको यो प्रेमकथाले प्रेम र यौवन चाहनाको भाषा आँखाले होइन, मुटुको गहिराइ र स्पर्शको पवित्रताले लेखिन्छ भने कुरालाई बलियो गरी प्रमाणित गरिदियो।
एक वर्ष गाउँमा यस्तो भयानक र क्रूर खडेरी पर्यो कि नदीनालाहरू तिर्खाएर सुके, खेतका गह्राहरूमा धाँजा फाटेर खोल्सीजस्ता बक्र बने, धानको रोपो सुकेर युद्धमैदानमा लासहरू ढलेझैँ यत्रतत्र ढले। प्रकृति नै मरेझैँ चारैतिर हाहाकार र क्रन्दन मच्चियो।
तर चेतनाले त्यही उजाड र उराठ समयको लय समातिन्। उनले सुकेका पातहरूको र्याई र्याई, तिर्खाएका चराहरूको मधुरो छट्पटी र धर्तीको छातीबाट निस्किएको तातो सुस्केरालाई आफ्नो बाँसुरी र सारंगीको तारमा बुनिन्।
जब–जब असफलता र तिरस्कारका आँधीहरू आए, उनका आँखाबाट तप्तप् आँसुका थोपाहरू खसे। तर अनौठो कुरा, जहाँ–जहाँ ती आँसुका थोपाहरू खसे, त्यहाँ–त्यहाँ संगीतको एउटा नयाँ अंकुरण पलाउँथ्यो। त्यो आँसु निराशाको आत्मसमर्पण थिएन, बरु हठी मनले आफैँलाई सिञ्चित गरेको अमृत थियो।
कोरोना भाइरसले विश्व थर्थराएको महामारीका बेला सहरका भव्य स्टुडियोहरू बन्द भए पनि उनले गाउँका पुराना चौतारी, रुखका छहारी र गाउँका अग्ला घरका भित्ताहरू र बाँसका टुप्पीहरूमा सिल्भरे थालीको टावर थापेर भएपनि आफ्नो सांगीतिक मञ्च बनाउन छाडिनन्, झरनाहरूका शीरलाई नै स्टुडियो मानिन्, र ‘मनका तरङ्ग’ कार्यक्रमलाई निरन्तर बजाइरहिन्।
उनको धूनमा यस्तो चुम्बकीय शक्ति थियो कि, बिस्तारै गाउँको सीमा नाघेर टाढा–टाढाका मानिसहरू उनको कलाको सुवास पछ्याउँदै ठेलमठेल गर्दै आउने गर्थे। हिजो उनलाई ‘अपाहिज’ भनेर बाटो काट्नेहरू आज उनको दैवी धूनको अगाडि नतमस्तक भएर आँसु खसाल्न बाध्य थिए। उनको मौन साधनाले अन्ततः समाजलाई उनको विलक्षण परिचय स्वीकार्न बाध्य बनायो।
एक साँझ, क्षितिजमा सूर्यले आफ्नो अन्तिम सुनौलो र रक्तिम रङ्ग पोखिरहेको थियो। चेतना आफ्नो टेक्ने लौरोको सहारामा बिस्तारै हिँड्दै गाउँको त्यही सुरुवाती विन्दु अर्थात् त्यही विशाल, फुस्रो र कठोर पहरोको सामुन्ने पुगिन्, जसलाई गाउँलेहरूले अनादि कालदेखि सम्भावनाहीन ‘चिहाने डाँडो’ भनेका थिए।
उनले आफ्नो लौरो बिसाइन् र ढुङ्गाको फेदीमा बसेर लामो श्वास फेरिन्। आफ्नो प्रखर स्पर्श र सुँघ्ने शक्तिले चट्टानको एउटा साँघुरो तर कडा दरारभित्र केही दिव्य महसुस गरिन्। उनले अचम्म मान्दै काँप्ने औँलाहरूले सुमसुम्याइन्। त्यहाँ कठोर चट्टानको छाती चिरेर, कत्ति पनि विचलित नभई एउटा रैथाने ‘सुनाखरी’ फुलेर मग्मगाइरहेको थियो!
त्यहाँ कतै मलिलो माटोको नामोनिसान थिएन, केवल चट्टानको मुटुभित्र लुकेको एउटा अदृश्य भरोसा थियो। चेतनाको आँखाबाट ठीक त्यही बेला एउटा तातो आँसुको थोपा खस्यो र त्यो सुनाखरीको पातमा रहेको शीतको थोपासँग मिलेर एकाकार भयो।
त्यो स्पर्श यस्तो लाग्थ्यो, मानौँ उही अभिमानी र कठोर पहरो आज गर्वले पग्लिएर भनिरहेको थियो, संसारले मलाई मृत र बन्जड भन्यो, सम्भावनाहीन ‘चिहाने डाँडो’ को उपमा दियो, तर हेर, मेरै छाती चिरेर, मेरै काखमा यो अनुपम सौन्दर्य सुनाखरी जन्मिएको रहेछ।
उनले महसुस गरिन्– ‘मभित्र पनि जीवन र सम्भावनाको महासागर लुकेको रहेछ।’ चेतनाको ओठमा एउटा दिव्य र ओजस्वी मुस्कान छायो। शारीरिक अपाङ्गता त केवल बाहिरी संसारले देख्ने एउटा फुस्रो र कठोर चट्टान मात्र हो, यदि मनमा अडिग विश्वास, हठी संकल्प र साधनाको तेज छ भने, संसारको कडाभन्दा कडा परिस्थितिको छाती चिरेर पनि सफलताको सुनाखरी फूल अवश्य फुलाउन सकिन्छ।
बिहान बलेँसीको शीतको थोपासँगै ब्युँझिएका यात्री विनयका लागि त्यो ‘कठोर गाउँ’ केवल एक रातको बासस्थान मात्र रहेन। दिनहरू बित्दै जाँदा उनले चेतनाको जीवन, आभाषसँगको आत्मिक प्रेम र उनको सांगीतिक साधनालाई नजिकबाट नियाल्ने मौका पाए।
विनयले देखे, चेतनाको बाँसुरी र हठी संकल्पले सिंगो गाउँको चेतनशील पुनर्जन्म गराइरहेको थियो। चेतनाको धूनको कम्पन महसुस गरेर जन्मजात बोल्न र सुन्न नसक्ने त्यही गाउँकी दश वर्षीया नानी आस्थाले गाउँका सुक्खा भित्ताहरूमा माटो र वनफूलका रङहरूले जीवनका अद्भुत चित्रहरू कोर्न थालेकी थिइन्।
भयानक खडेरीले विस्थापित हुन लागेका किसान संकल्पले चेतनाकै जीवनबाट प्रेरणा पाएर आफ्ना सुक्खा पाखाहरूमा थोपा–थोपा पानी सिञ्चित गर्दै मरुभूमितुल्य माटोमा सुन्तला र केराको हरियाली बगानमा बदल्ने प्रेरणा पाए। चेतनाले कसैलाई उपदेश दिइनन्, तर उनको जीवनले गाउँका धेरै कठोर मनहरूलाई पगालिदिएको थियो।
झम्कँदो साँझमा आभाषले चेतनालाई सुस्तरी अँगालोमा बाँधे। आभाषको मुटुको तीव्र धड्कन र सासमा आएको सुवास महसुस गर्दै चेतनाले आफ्नो टाउको उनको छातीमा बिसाइन्। आभाषले चेतनाको हात समाउँदै बिस्तारै सोधे, ‘चेतना, सुनाखरी त फुल्यो... अब तिम्रो यो अथाहा यात्रा कता जाँदैछ? अब के हुन्छ?’
चेतनाको ओठमा एउटा गहिरो र ओजस्वी मुस्कान छायो। उनले देब्रे हातले आभाषको हात कसिलो गरी समाइन् र दाहिने हातले बाँसुरी ओठ नजिक ल्याइन्।
त्यहीँ छेउमा उभिएका यात्री विनयले सुस्तरी आफ्नो झोला काँधमा भिरे। उनलाई लाग्यो, उनले त केवल रात काट्न यो गाउँमा बास मागेका थिए, तर यहाँ त उनले जीवनको सबैभन्दा ठूलो दर्शन पाए। शारीरिक अपाङ्गता त केवल बाहिरी संसारले देख्ने एउटा फुस्रो र कठोर चित्र मात्रै रहेछ। यदि मनमा अडिग विश्वास छ भने कठोरताको विचपनि सफलताको सुनाखरी अवश्य फुल्दोरहेछ।
अँध्यारोलाई चिर्दै चेतनाका औँलाहरू बाँसुरीका प्वालहरूमा पुनः नाच्न थाले। अब त्यो धून केवल त्यो पहराको फेदीमा मात्र सीमित रहनेवाला थिएन, त्यो त विनयजस्ता हजारौँ भौँतारिएका यात्रीहरूसँगै सुदूर पाखाहरूसम्म बहँदै थियो। विनय पाइला बढाउँदै उकालो चढे, तर उनीसँग एउटा यस्तो प्रश्न दौडिरहेको थियो कि, ‘यी प्रेरणाका नयाँ सुनाखरीहरू अब मुलुकका कुन–कुन कठोर चट्टानहरू फोरेर उम्रिन्छन् र फुल्छन् होला?’