उज्ज्याला झ्यालभित्र
मेरा धेरै अनुहारहरू थिए
नाम,
पद,
हस्ताक्षर,
बजारले तोकेको मूल्य,
पर्दाले समेटेको संसार,
ती सबैको पछाडि
एउटा मौन छाया।
ढोकाहरू खुल्दै गए,
उचाइहरू थपिँदै गए।
म चढिरहेँ
तर भित्र कतै
एउटा सिँढी
अधुरै रह्यो।
बाटो मेरै थियो,
पाइलाहरू पनि;
जहाँ सफलता पुग्यो,
मेरो छाया पनि पुग्यो
म पुगिनँ।
तर यात्राको धुलोमा
मभन्दा अगाडि
कसै अर्कैको पदचिह्न थियो।
म जसलाई
आफ्नो इच्छा ठान्थेँ,
त्यसको आवाज
पहिले नै
मभित्र बोलिसकेको रहेछ।
एक साँझ
ऐनासामु उभिएँ;
नाम पुछेँ
अनुहार बाँकी रह्यो;
अनुहार पुछेँ
आँखा बाँकी रहे;
आँखा बन्द गरेँ
र खुल्यो
नक्साले नदेखाउने
एउटा अनन्त दूरी।
त्यहाँ
न पद थियो,
न परिचय,
न मैले जितेको संसार;
केवल एउटा प्रश्न
यी सबै हटेपछि
म कहाँ छु?
उत्तर खोज्दै
धेरै टाढा पुगेँ।
त्यहीँ
दौड रोकियो।
न अगाडि
गन्तव्यको भोक,
न पछाडि
पछुतोको छाया।
अन्ततः
आफ्नै गाउँको
पुरानो काठे ढोकामा फर्किएँ।
माटोले
मेरो नाम सोधेन,
पद सोधेन,
नागरिकता सोधेन
केवल उसले
मेरो स्पर्श स्विकार्यो।
एउटा सास
भित्र आयो;
अर्को बाहिर।
त्यही दुई सासको बिचमा
‘म’ को अन्तिम पर्खाल
मौनमै ढल्यो।
न स्वदेश,
न परदेश;
न आगमन,
न प्रस्थान।
केवल
एक जागृत क्षण
त्यस क्षणभित्र
पूरै जीवन।
तब थाहा भयो
म जहाँ पुगेँ,
त्यहाँ म थिइनँ;
किनकि म सधैँ
अर्कै ठाउँमा पुग्न खोजिरहेको थिएँ।
जब पुग्नुपर्ने
कुनै ठाउँ बाँकी रहेन,
खोज्नुपर्ने
कुनै ‘म’ बाँकी रहेन
त्यहीँ
पहिलो पटक संसारलाई
पर्दाबिना सुनेँ।
हावा आफ्नै थियो,
माटो आफ्नै थियो,
आकाश आफ्नै थियो
तर
‘मेरो’ भन्ने केही थिएन।
जहाँ
म थिइनँ
तर
जीवन पहिलो पटक
पूर्ण उपस्थित थियो।