जरुरी छैन
सबै फुलेका फूलहरू सुन्दर होउन्
जरुरी छैन
सबै जन्मिएका चाहनाहरू प्राप्तिमै टुङ्गिउन्।
कतिपय फूलहरू
सुगन्ध नफैलाईकनै ओइलाउँछन्
कतिपय रहरहरू
आँखाभरि सपना भएरै हराउँछन्।
फूल भएर पनि सुन्दर नहुनु
चाहना भएर पनि प्राप्तिमा नटुङ्गिनु
माया भएर पनि वैवाहिक जीवनसम्म नपुग्नु
केही सम्बन्धहरू नाम नपाईकनै जीवनभर मनमा बसिरहनु
केही मान्छेहरू आफ्नो नभएर पनि आफ्नैजस्तो लागिरहनु
सायद यहीँ त जीवनको सबैभन्दा सुन्दर अपूर्णताको सौन्दर्य हो।
मलाई चाहना छैन,
मैले मन पराएका सबै कुरा
मेरो भागमै परुन् भनेर।
मलाई पीडा छैन
ती छुटेर गएका सम्बन्धहरूप्रति
मलाई न त कुनै गुनासो नै छ
मेरो हुन खोज्दा खोज्दै मेरा
हुन नसकेका मान्छेहरूप्रति
किनकि केही सपनाहरू
सपना भएरै सुन्दर हुन्छन्।