अरूले सोच्दै नसोचेको
अरूले देख्दै नदेखेको
अरूले बुझ्दै नबुझेको
र,
अरूले नखोजेको खोज्न
निरन्तर चिन्तनमा हुन्छ ऊ।
करध्वनि चाहिन्छ उत्प्रेरणाको निम्ति
गाली चाहिन्छ सत्यको गोरेटो नपछ्याउॅंदा
साथ चाहिन्छ स्पष्ट विचारको
सबैभन्दा बढी स्वयमको उर्वर माथ
त्यसैले
निरन्तर चिन्तनमा हुन्छ ऊ।
समालोचना बन्न नसकेको आलोचना खेप्न सक्छ
सेतोमा खोट देख्नेलाई सहस्र स्विकार्न सक्छ
कालो भनेर हृदयमा पुग्ने चोट बिर्सन सक्छ
निलोमा पसिनाको दुर्गन्ध छ भन्दा पनि खुसी हुन्छ
रातोमा रक्त समूह नमिल्ने रङ्ग किन?
बैजनीमा आध्यात्मिकता धेरै किन?
यावत सवालबाट लेश मात्र विचलित हुँदैन नवद्रष्टा
र,
अन्तःकरणका भावनाहरूको रङ्गसँगै
निरन्तर चिन्तनमा हुन्छ ऊ।
साधनामा ऊ विश्वामित्र हो,
युगले भुल्न नसक्ने स्वतन्त्रताको सेनानी हो,
तर पनि एउटा कोमल हृदयको मनुवा हो,
अन्न, आश्रय, र तूलको घेरा भित्र हुन्छ
यद्यपि
सत्ता, र शक्तिको धङधङी देखी दूरस्थ भएर
निरन्तर चिन्तनमा हुन्छ ऊ।
कोरिएका सीमारेखाका विरुद्ध अन्धो
आवाज नभएकाहरूको रणभेरी
सबै भएर केही नभएको
केही नभएर सबै भएकोझैँ
निरन्तर चिन्तनमा हुन्छ ऊ!
अण्डा पार्न पानीदेखि पर जाने कच्छपजस्तै,
पद, पैसा र पदकको अनुरागबाट टाढा हुन्छ ऊ,
अनाशक्तिमा नै उसको ठुलो शक्ति हुन्छ
र त गज्जबको कालजयी सृजनाको निम्ति
निरन्तर चिन्तनमा हुन्छ ऊ!