एकाबिहानै आवाज आयो, यसो घडी हेर्दा ५ बजेको रहेछ। अलार्म बजेको रहेछ, निद्रा खुलेको थिएन तर पनि आँखा मिच्दै म उठ्न बाध्य भएँ किनकि म घर फर्कने दिन थियो। साथीको ममी-बाबाको आवाज आयो- उठ छोरीहरू भन्दै।
उठेर ब्रस गर्नलाई बाल्कनीमा उभिएँ र चारैतिर हेरेँ। आकाशमा कालो बादल, धमिलो बिहानी भएको रहेछ। मुख धोएर भान्सा गएँ नास्ता गर्नको लागि। अन्टीले सुख्खा रोटी साथमा भिन्डीको तरकारी बनाउनु भएको रहेछ। खासै खान मन लागेको थिएन तर पनि एउटा खादै थिएँ।
एक्कासि मेरो ध्यान अन्टीको मुहारमा गयो।
‘के भयो अन्टी,’ मैले सोधे?
हाँस्दै, ‘केही नाइँ नानी’ जवाफ आयो।
अन्टीले केही नाइँ भनेता पनि मुहारमा झल्किरहेको थियो त्यो निराशपन, त्यो रुन्चे स्वर अनि बिछोडको पीडा। किनकि दुई छोरीले एकै दिनमा घर छोड्न लागेका थियौँ, पढ्न जानको लागि।
सबै तयारी सकेर हिँड्न लाग्यौँ। अंकलको आफ्नै जिप थियो, तल बाटोमा कुरिरहनु भएको थियो। अन्टीले टीका लगाइदिनु भयो। दही खाएर घरबाट तल बाटोमा निक्ल्यौँ अनि २/४ फोटो खिचेपछि अन्टीको आँखामा आँसु रसाउन थाल्यो। तर मैले उहाँलाई हँसाउन खोजेँ, खुसी-खुसी बिदाइ हुन खोजेँ।
नराम्रो त मलाई नि लागेको थियो त्यहाँबाट छुटिनु पर्दा किनकि मलाई लिएर अन्टीको आँखामा आफ्नै सन्तानबाट बिदाइ हुनुको पीडा झल्किएको थियो। म पनि त एउटी आमालाई छोडेर अर्की आमालाई भेट्न जाँदै थिएँ, खुसी पनि थिएँ तर दुखी पनि।
देहिमाण्डु पुर्याउनु भयो अंकलले हामीलाई र बस चढाएर फर्कनु भयो। बस गुड्न थाल्यो। बाटो पुरै कुहिरोले ढाकेको थियो मानौँ न, मलाई बैतडीले नजा भनेर बाटो छेकिरहेको थियो।
अत्तरिया पुग्यौँ। पोखरा जाने प्लान थियो, दुइटैको टिकट भनिसकेका थियौँ। त्यो दिन अत्तरिया काउन्टरदेखि ८-१० किमी तल साथीको काकाकाकीकोमा बस्यौँ।
भोलिपल्ट बिहानी भयो। उठ्यौ तर कथाले अर्कै मोड लियो। केही कारणवश प्लानलाई अर्कै तिर घुमाउन पर्ने भयो। साथीको सामान धेरै हुनाले उसलाई सिधै काठमाडौँ जान पर्ने भयो अनि म पोखरा, अत्तरिया काउन्टरमा फोन गरेर एउटा पोखरा अनि अर्को काठमाडौँको लागि टिकट काटिदिनु पर्ने बताएँ। एक घण्टा अघि खबर गर्दा पनि काउन्टरको दाइ सहजै मान्नुभयो र हाम्रो छुटाछुट्टै जाने तय भयो।
मेरो बस धनगढीबाट १२ बजे हिँड्ने रहेछ। हामी त्यो गर्मीमा बाटोमा बसेर कुर्यौँ। लगभग ३० मिनेटपछि धनगढी-पोखरा लेखेको बस हामी अघि आएर रोकियो। मेरो सामान राखेँ बसमा तर काउन्टरसम्मलाई भनेर साथीको सामान राख्न मन्जुर भएन। काउन्टरमा पुगेपछि भेट हुने भनी म बस चढेँ। साथी अटोमा सामान लिएर पछाडि आउँदै थिइन्।
लगभग १५-२० मिनेटमा काउन्टर पुगेँ। मेरो टिकट लिए अनि साथीको लागि काठमाडौँको टिकट पनि सबै कुरा मिलाएर काउन्टरमा नम्बर दिएर छोडेँ। तर एक्कासि के भयो कि मेरो बस नरोक्ने पोखराको लागि हिँड्ने भनेर बस चल्न थाल्यो। मलाई फेरि मेरो परम मित्रलाई राम्रोसँग एक पटक भेटेर बाई भन्ने मन थियो, ४ वर्ष पछिको बिछोड थियो तर पनि आउन ऊ ढिला गरी र मेरो बस हिँड्यो।
मलाई धेरै नराम्रो लागेको थियो, मन भारी भएको थियो, आँखा रसाएको थियो। भन्न त काउन्टर वालाले बस फरक भए पनि खाना खान एकै ठाउँमा रोक्छ भनेको थियो।
साथीलाई फोन गरेँ, ‘हेलो, कहाँ छौ? मेरो बस हिँड्यो...’
‘म पुगेँ भरखर,’ उसको जवाफ आयो।
फोन काटियो, मोबाइलमा पैसा सकिएछ। म हिँड्ने ऊ पुग्ने भएछ। मनमा अनेक थरी प्रश्न आउन थाले; खाना खान एकै ठाउँमा रोकेन भने? एउटा बस गएपछि अर्को पुग्यो भने? म काठमाडौँ पढ्न गइनँ भने? यदि भेट नै भएन भने?
एकैछिनमा साथीको फोन आयो, ‘कपुर, म हिँडेँ अत्तरियाबाट, सिट राम्रो छ।’
मैले मेरो फोनमा पैसा सकिएको कुरा गरेँ, उसले मेरोमा ५० रुपैयाँ हाल्दिछन् एकैछिनमा।
बेलाबेलामा फोन म्यासेज गर्थेँ, यो बुझ्नलाई कि हामीहरूको बस बिचको दूरी कति रहेछ? बसमा एसी थियो, शीतल थियो तर यो मनमा चैन थिएन। बेचैनी भएकी थिएँ। समय बित्दै थियो, दूरी घट्दै थियो। कोहलपुर कटेपछि खाजा खान रोक्यो।
म फ्रेस भएर साथीलाई कल गरेँ, ‘करिस, कहाँ पुग्यौ? खाजा खायौ?’
उसले जवाफ दिइन् कि बसको एसी बिग्रेर बनाउन कोहलपुर रोकेको रहिछ।
रात पर्यो, समय ८:३० भएको थियो। साथीको फोन आयो, ‘कपुर, खाना खान रोक्यो दाङको लमहीमा।’
मलाई नराम्रो लाग्यो, आँसु टिलपिल गर्न थाल्यो। बोली निस्केन। भेट हुन मन थियो तर भएन। ९:३० भयो, म चढेको बस खाना खान रोक्यो कपिलवस्तुमा तर मलाई चाहिँ खान मन लागेन। म बसबाट झरिनँ।
अनेक प्रश्नलाई अङ्गाल्दै मनलाई आफै प्रश्न गर्दै आफै उत्तर दिँदै मेरो यात्रा अघि बढ्यो। बुटवलबाट स्याङ्जा मोडिने बाटोमा पुगेपछि करिसलाई फोन गरेँ र भनेँ, ‘हामी छुटिने बाटो आयो, म पाल्पा हुँदै स्याङ्जा तिर लाग्दै छु। तिमी बुटवलबाट नवलपरासी हुँदै चितवन तिर लाग्छौ।’
थोरै कुरा भएपछि फोन राखेँ। मनमनै सोच्न थालेँ, जिन्दगी पनि नदी जस्तै छ है, दुई नदीहरू आपसमा भेटिन्छन् र सँगै कति ढुङ्गामा ठक्कर खादै मिल्दै बग्छन् तर कुन मोडमा कहाँ नेर छुट्छन् पत्तै नहुने। त्यस्तै नयाँ ठाउँमा नयाँ साथीहरू भेटिँदै जान्छन्, थपिँदै जान्छन् त कति छुटिँदै जान्छन्। त्यसमा पनि कति भुल्न नसक्ने हुन्छन् त कति याद गर्न मन नलाग्ने।
भनिन्छ नि, एउटा गए अर्को आउँछ. तर करिस मेरो यस्तो परम मित्र थिई जो केही गरी गई भने पनि उसको ठाउँमा म अरू कोही चाहन्थिनँ। ऊ मैले बैतडीमा कमाएको सबैभन्दा अमूल्य सम्पत्ति थिई। थाहा छैन यो दोस्ती कहाँसम्म पुग्छ र मलाई त यो पनि थाहा छैन कि हाम्रो भेट छिटै हुन्छ कि हुन्न। भए पनि कहिले र कहाँ हुन्छ?