कुन रहर आउँछ र कुन्नि कविहरू सधैँ कविता लेख्छन्। कवि बन्ने रहरले कविता लेख्छन् वा कवित्व फुरेर कविता लेख्छन्? कवित्व फुरेर थाहै नभई कवि बनेका कविहरू पनि छन्। कविता लेख्नकै लागि जन्मिएका कविहरू पनि छन्। मन पोखिएर पनि कविता बनेको छ, मस्तिष्क घोटिएर कविता कुँदिएको पनि छ।
हामी पाठकलाई जे भए पनि कविता भए भो; मीठा कविता, स्वादिला कविता, मन पगाल्ने कविता अनि दिमाग रन्थनाउने कविता! उसका कवितामा आफूलाई पाउन पाए भो। आफ्ना जिन्दगीका कुरालाई कविका कवितामा पाउन पाए भो।
कहिले त कविका कवितामा आफ्नै जीवनका अनुभूतिका पङ्क्तिहरू भेटिँदा म अचम्म भएको छु। मेरै कुरा कविले कसरी बुझेको होला? कवि मभित्र कसरी पस्यो होला? कुन प्रेरणा र अदम्य शक्तिले कवि जहीँतहीँ सर्वत्र भएको होला?
झुम्पा लाहिरी केही कुराले सताएपछि लेख्छिन् रे। मानिसलाई सताउने कुराहरू कति छन् कति। तृष्णाले लखेटिएको मानिस आफैँबाट पनि सताइएको छ। आकाङ्क्षा र आग्रहको अभिप्साले मुक्ति नपाएर कविता उर्लिएका छन्। आफूलाई दुःख दिने अरूभन्दा आफैँ पनि हो। सामर्थ्यको सीमा बाहिर उभ्याउनेहरू असफलताको रागमा कविता गर्छन्।
त्यति मात्र होइन, सताइबाट मुक्तिका लागि पनि कविहरू कविता गर्छन्। बन्धनमा पनि मुक्तिमा पनि, सताइमा पनि सुखमा पनि कविहरू कविता गर्छन्। कविलाई कविता गर्न केही बहाना र विषय चाहिँदैन। फगत कविहरू कविता गर्छन्। मन उर्लिएर पनि कविता, मन चेप्टिएर पनि कविता! मन खुल्दा पनि कविता, मन थुनिँदा पनि कविता!
इन्जिनियरहरूको भेलामा यन्त्रसँग खेल्ने इन्जिनियरले लेखे–गाएको कविता कति मर्मस्पर्शी थिए। मनमनै गमेँ चिकित्सक, इन्जिनियर, वैज्ञानिकहरूका भावनाले पोखिने ठाउँ मात्र नपाएर कविता नदेखिएको रहेछ। कवि योग्यता होइन, भावना रहेछ। विषय क्षेत्र होइन, संवेग रहेछ।
प्रकृति र परिणयसँग खेल्न योग्यता किन चाहियो र? भावना र संवेग नभएको को छ र? तुलसी दिवसले भने झैँ लेख्न जान्ने शब्दका कवि, नलेख्ने भावका कवि। विशिष्ट अवस्थामा हामी सबै कवि। कवितामा कवि स्वयम् पोखिन्छ। मेलापातमा पोखिन्छ, पसिनामा पोखिन्छ। खोलासँग मितेरी लगाउँछ, चराचुरुङ्गीका चारचारचिरचिरसँग सामीप्य राख्छ, फूलसँग मुस्कुराउँछ, आकाशसँग फैलिन्छ, लहरासँग लहराउँछ, खहरेसँग खँगारिन्छ।
भावना न हो ऊ, जहीँ पनि कविता गर्छ। कविहरू कर्ममा कविता गर्छन्। कृषक कविता गर्छन्, रोपाइँको हिलोमा धान रोप्दै कविता गर्छन्, डाले घाँसको काट्दै रुखबाट कविता गर्छन्। गोठालोमा कविता गर्छन्। घाँसका भारीमा, पिठ्यूँको ढाकरमा कविता गर्छन्। पसिना र सुस्केरामा कविता गर्छन्। पाखा पखेरुमा कविता गर्छन्। खोलामा हेलिएर, पहरामा बज्रेर कविता गर्छन्। पहाडमा चढेर, भावनामा उडेर, शहर गाउँ घुमेर कविता लेख्छन्।
युद्धको विप्लव र पराजयको पीडामा लडाकु कविता लेख्छन्। विजयोत्सवमा पनि साहस र हर्षको भेल कवितामा उर्लिन्छ, मानवता निमोठिने डरले युद्धका विरुद्धमा कविता पोखिन्छ। समय र बहाना चाहिन्छ कविहरू कविता लेखिहाल्छन्। जीवनवृत्तिको कोणप्रतिकोण कविका लागि कवितामय छ। हो कविहरू फगत कविता लेख्छन्, मन खोलेर कविता लेख्छन्, अनुभूति र उच्छालहरू छ्यालब्याल पारेर कविता लेख्छन्। कविहरू जहीँ पनि कविता लेख्छन्।
प्लेटोको लागि कविता ईश्वर र राजाबाट युवा भड्काउने अस्त्र थियो, कविताको अराजकताका लागि उनी कविहरूलाई आदर्श राज्यबाटै खेद्न चाहन्थे। अरस्तुका लागि कविता मिमेसिस– सद्भाव र सिकाइका लागि कल्पनाको प्राकृतिक रूप, अनुकरणको प्राकृतिक रूप थियो। देवकोटाका लागि मनको उन्मुक्त उडान। जहाँ कवि बोलोस् जसरी चराहरू बोल्छन्, न कि उस्तादहरू कसरत गर्दछन्, हृदयले हृदयलाई बोलाओस् कवितामा न कि आडम्बरलाई।
सोझो सच्चा, नाङ्गा पहाडको महत्त्व होस् कवितामा जसबाट नालाहरू आफ से आफ भुल्भुलाउँदै उठ्छन्। प्रकृतिसँग मितेरी लगाएर कवि कविता गर्छ, अरस्तुले भनेजस्तै, देवकोटाले गरे जस्तै। न शब्द र सङ्गति न अर्थ र अभिप्रायले कविता उम्लिन्छ। आचार्यहरूका आग्रह जसरी कविहरू कविता गर्दैनन्, कविता त स्वयम् हुने विषय हो, अन्तःप्रज्ञा हो।
कविता प्रेम हो जो आफैँ हुने गर्दछ। हृदयले हृदयलाई पछ्याएपछि जहाँ पनि कविता फुर्छ, जे पनि कविता बन्छ। यो आग्रह होइन, अभिव्यञ्जना हो, स्वयम् कविका लागि सबैथोक। अरूका लागि उसैको परिवेश अनुरूपको अभिव्यक्ति।
कविता आफैँ संघर्षको कुरा हो। समाजले कविलाई त्यति वास्ता गर्दैन। तर कवि समाजलाई वास्ता गर्न छाड्दैन। धेरैका लागि कविता बेतुकको कुरा र कवि बेतुकी प्राणी। शब्दको डङ्गुरको के उपयोगिता? शासकका लागि कविता मनसम्म घोच्ने काँडा, स्थायी प्रतिपक्षी, किन उपयोगिता देख्थे?
कवि हुनु पागलपन र उसका कविता मनका विकृति। तर दुःखमा सबै कविताका सहारा खोज्छन्। कवि भावनालाई उपयोगितामा तौलदैन, जहाँ भएपनि भावना उम्लेपछि कविता गर्छ। शहरमा होस् वा मोफसलमा, सुविधामा होस् अनि अभावमा, फगत कवि कविता गर्छ, उसलाई अरू कुरा निरपेक्ष।
कवि परिवर्तनको साक्षी बन्दैन, पक्ष बन्छ। कवि आफैँ स्वतन्त्रता हो। हो उससँग अलिकति पागलपन हुन्छ। उद्वेलित मनलाई समाजले पागल देखेको हो तर उद्वेलित संयमता उसले देखेन। कविता सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ। अरूले के भन्लान् उसलाई के मतलब!
कविहरू प्रेममा पनि कविता लेख्छन्, वियोगमा पनि कवितै गर्छन्। कविताका लागि प्रेम, प्राप्ति र प्रत्याशा चाहिँदैन। उत्सर्ग र समर्पणमा कोही पनि कवि बन्दछ। शाकिर परविन विछोडमा कवि भइन्। सिल्भिया प्लाथ प्रेमपछिका गहिरो भावनात्मक पीडा, दुःखद प्रतिच्छेदन र हराएको उज्यालोलाई खोजेर संसारलाई प्रेमको उज्यालो दिन्छिन्।
खलिल जिब्रान समुद्रको नुनिलोमा आँशुको स्वाद भेटे र समुद्र जस्तै विशालतामा पुगे। प्रदीप गिरिका लागि प्रेमको परिभाषा विशुद्ध रूपमा स्वतन्त्रता हो। अमृता प्रितम प्रेम नपाएर अमर प्रेममा पुगिन्। साहिर लुधियानवी आत्मिक गहिराईको प्रेममा पागल भई सायरीमा पुगे। प्रेम विछोडपछिको कवि मन कवितात्मक बदला (पोइटिक रिभेन्ज) मा फूलका बाण बर्साउँछन् मनका कोमल स्पर्शसहित।
उनीहरूलाई अझै माया छ आफ्ना प्रेमीलाई नदुखोस्, केवल स्पर्श गरोस्को भावनामा। मुनामदनका देवकोटा उत्सर्ग र समर्पण कविता गर्छन्। माधव घिमिरे र श्रीहरिहरू विरहव्यथामा फैलिए। कविका लागि संसार नै प्रेमालय, सबै अवयव प्रेममय। प्रेममा मायाको प्राकृतिक उडान, प्रेम पन्छिँदा हृदयका कोमल भावनाबाट दुःखीसुखको अभिव्यञ्जना।
पश्चिममा भए ट्रेजेडी, पूर्वमा हुँदा वियोगान्तक, जहाँबाट पनि खोजिएको चाँहि नयाँ जीवन र प्रेरणा हो। स्वयम् कविका लागि कविता ऐन्द्रिक आनन्द, अनुकरण वा आत्मिक खुसी होइन। ऊ त फगत कवितामा प्रकाशित छ। यस मानेमा कवि स्वयम् कविता हो। पारसमणिले भने झैँ कवि कविता भएर, कविता कवि भएर, एकाकार भावविम्बमा शयर गर्छन्। त्यतिबेला कविता र कवि कसरी छुट्याउने?
देवकोटाका प्रकृतिसँगको मितेरी, इमिली डिकिन्सनको भावास्पर्श, पाव्लो नेरुदाको समुद्रको छालसँग मिसिएका ओडहरू, जोन किट्सको नाइटिंगेलसँगको जीवन कल्पना, शाकिरको फूलको बाणहरू कविलाई कविताबाट छुट्याउन अनुमति दिँदैनन्। कविहरू आफैँ भएर कविता गर्छन्, जहीँ पनि कविता गर्छन्।
कवि निजत्वको उन्मादी उर्लाइ हो। सामाजिक मानक र शासकीय संहिताबाट कवि वाक्क छ, ऊ स्वतन्त्रताको पक्षपाती छ। स्वतन्त्रता र रोजाइहरू कविका आत्मिक नाद हुन्, जिम्मेवारी स्वतन्त्रताका नाममा उसमाथि लादिने कुनैबोझ भए कवि उर्लिन्छ। सम्झन्छ, समाज, राज्य, शासन सबै निजी स्वतन्त्रताका लागि सिर्जना गरिएका अवयव हुन्। मूल्य, आचार र नैतिकताका विधिहरू आफ्नै महत्त्व र अर्थका लागि सिर्जिएका हुन्।
कुनै बहानामा स्वतन्त्रता र सम्भावनामाथि अलिकति पनि अवरोध भए कवि सहन सक्दैन, र कविता ओकलिहाल्छ, व्यङ्ग्यबाण वा विद्रोहका रूपमा। कविता विद्रोहको हतियार हो, स्वतन्त्रताको रक्षाकवच हो। त्यसैले सदनमा भूपि, काइला र गोपाल रिमालहरूलाई पाठ गरिन्छन्। सडक र कोणमा कविताक्रान्तिको ज्वारभाटा फैलिन्छ। एउटा कवि स्वाभिमान र स्वतन्त्रताका लागि कविताबाट ऐलान गर्छ। अभावमा आक्रोसित हुन्छ।
लोकतन्त्र लोकमा नपुगी तन्त्रको हावी हुँदा कविताको बाढी आउँछ, कविताले लोकलाई जागा बनाउँछ, सत्तालाई जनतासामु झुक्न लगाउँछ। कवि सकिएला तर कविता अमर छ। दीपजस्तै जलेर सकिँदा उज्यालो अरूलाई फैलाइरहन्छ।
कविको शक्ति कल्पनाको तागत हो। कविका कविताले आकाशगङ्गामा महल बनाउँछ, ब्रह्माण्ड खिँचिन्छ, स्वर्गीय आनन्दको युटोपिया रच्छ। सम्मान, सभ्यता, शालीनताको सौन्दर्य कविको युटोपिया राज्य हो। कविको युटोपियामा स्वर्गीय आनन्द छ। उसको कल्पनाको शक्ति राज्यका मानक र मूल्य परिमार्जनका सूत्र बन्दछन्।
त्यसैले कवि महान हुन्छ, उसमा ईश्वरीयताको अंश हुन्छ। कवि अग्रिम युगवोध हो, सुदूर युगलाई अगिल्तिर ल्याएर कविता गर्छ। कल्पना शक्ति मनको उडान मात्र होइन, मन स्वच्छ पार्ने आग्रह र प्रेरणाका अग्रदृष्टि, इन्स्पाइरिङ इन्साइट हो। कविका पहिरन मैलो होला, कवि ख्याउटे अनुहार र धाँजा परेको पाइतालामा होला, जिङ्रिङ्ग कपाल होला, ती सबै सिर्जनाका देदीप्य शक्ति र उज्याला ऊर्जा हुन्। उज्यालो अन्धकारलाई केवल उज्यालो दिइरहन्छ। अँध्यारोसँग उसलाई गुनासो छैन।
कवि विश्वबन्धुत्व र मानवताका लागि कविता गर्छ। नेपालमा मानवता मासिँदा, लोकतन्त्र अपहरण हुँदा कविले सडक कविता क्रान्ति, गीत र कलाक्रान्ति गरेर चित्त बुझाएनन्, एल साल्भाडोर ग्वाटेमाला, पेरु, भियतनाम र जेरुसलमहरूमा मानवताको चीरहरण हुँदा पनि कविलाई उत्तिकै दुःख्यो, शब्दको हुङ्कार गर्न छाडे। मनलाई फूलबाट पत्थर, पत्थरबाट फूल बनाउन कवि लागिरहन्छ।
कविलाई मानवीय श्रेष्ठता चाहिएको छ। त्यसैका लागि कविता कर्म हो, त्यो नै विश्वबन्धुत्वको बीउ हो। स्वाभिमान, आदर र शान्ति कविका अभीष्ट हुन्। कवि मन त्यसैले वेदागी छ। कवि हुन स्वच्छ मन चाहिन्छ, सफा सोच चाहिन्छ।
हो, कवि अवसाद र शून्यको नाद पनि गाउँछ। जीवन सिसिफसको यात्रा बनेपछि, कर्महरू वित्थामा गुमेपछि कविमन व्यग्र निराशाको नादमा बहकिन्छ, पलायनमा पागल बन्छ। अगमसिंह गिरिले भनेथे– मेरा कविता अभिशप्त जीवनको, एक पीडामय अभिव्यञ्जना। व्यथा–वैकल्यपूर्ण अन्तरको केवल विषाक्त अभिव्यक्ति। विकल निराशामा एक्लै एक्लै गुनगुनाएको नैराश्यपूर्ण जीवन गीत।
हरिभक्त कटवाल त यो जिन्दगी खै के जिन्दगीको आलाप अलापेर अस्तिहीन मानिसका विरह पोख्छन्, चन्द्रसिंहको बुढो ल्याम्पोष्टले नयाँ बल्ब पाएको छैन। मौन शून्यता र अस्वीकृतिका पीडा पोख्ने विलियम म्याकगोनागाली जीवनबाट भागेका होइनन्, जीवनका खोजाइका थकानहरू हुन्।
यी आलापहरू अस्तित्वका सन्दर्भ विन्दु हुन्, मावसत्ताप्रतिको शून्य सन्यास होइनन्, केवल अँध्यारा सत्यको उजागर हुन्। कवितालाई गीत बनाएर विट जेनेरेशन, रोज्से सेरेस, विल्ली होलिडे, हिप्पी र रकरेविलियनहरूले अँध्यारो संसारमा उज्यालो ल्याउन खोजे।
दुस्कर मानक र अमान्य सीमा भत्काएर जीवनका नवीन मूल्य परिभाषा खोजे। कवि एक्लो अनुभव गर्दैन, पूरै विश्वब्रह्माण्ड आफूभित्र बोक्छ। त्यसैले कवि कलाकार अशिप्त जीवन बोक्दैनन्, मानव मूल्यको नवगवेष गर्छन्। कवि व्यग्र निराशामा पनि आशाको दियो बाल्छ, अप्प दीपो भवको भावमा आन्तरिक उज्यालो धुइँधुइँती खोज्छ।
कविलाई कविता गर्न समय र ऋतु चाहिँदैन, केवल उसलाई नविथोले पुग्छ। कवि बिहान पनि कविता गर्छ, बेलुकी पनि, दिनमा पनि र रातमा पनि। जुनेली रातले कविलाई कविता गर्न प्रेरित गर्छ, निष्पट अँध्यारोले पनि, निलाम्मे आकाशले पनि र मडारिएको बादलले पनि। भनिएला शरदीय कमनीयता कविताको स्रोत हो, तर ग्रीष्मको न्यानो, वर्षाको रुझान, शिशिरको कठ्याङ्ग्राई, बसन्तका पालुवा, हेमन्तको परिपक्वता सबै कविका लागि समान प्रेरणा हुन्। कवि प्रकृति हो, कविता उसका सिर्जना।
कवि अन्तःप्रज्ञाका खानी हुन्, कविता रहर र लहडको विषय होइन। कविताका लागि बेजोडको कल्पना शक्ति चाहिन्छ। कल्पना र सामाजिकतालाई संयोजन गर्ने कलाकारिता चाहिन्छ। सोसल पोट्र्रेटमा कल्पनाको भाव र शिल्पको रङ्ग त्यसै भर्न सकिँदैन। आलोचनात्मक चेत र समयवोध नभए पनि कविता कविता जस्तो बन्दैन। विद्रोही शक्ति त्यसैले दिने हो। जीवनवादी दृष्टिसङ्क्षेत्र त कविसँग हुने विषय नै भयो। त्यो सङ्क्षेत्र जति फराकिलो भयो, त्यसैको सापेक्ष्यमा कवि फैलिन्छ अरूसम्म पुग्छ। जीवन हेर्ने फराकिलो फाँटले अस्मिताको खोजी र अपेक्षाका विस्फारण गर्दछ।
एक धुरन्धर कविले आफ्नो बकपत्रमा भनेका थिए ‘र म रोएँ। खुब रोएँ। आल्हाद आनन्दले रोएँ। त्यसपछि मन हलुङ्गो भयो। संवेदनाको आँसुमा ठूलै शक्ति हुँदोरहेछ। धर्तीको रजोष्णमा संवेदनै संवेदनाका आँसुहरू छन्। ती आँसुहरू मैले मेरै आमाको गर्भबाट बटुलेर ल्याएको हुँ, यी कविता पङ्क्तिभित्र। जसरी प्रमिथसले अग्नि ल्याएको थियो स्वर्गबाट।’
हो, कवि गर्भैदेखिको आगो र सपना लिएर आउँछ र कविता गर्छ, उसलाई प्लेस प्रिमियम अर्थको विषय होइन। कवि हुनु अन्तःप्रेरणा र अन्तर्दृष्टि हो।
त्यसैले कविताका बोलीहरू समाजका रङ्गरेखा हुन्, अर्थसूत्र हुन्, शक्तिसूक्ति हुन्। कवि खुसी बाँड्न पनि पीडा पोख्न पनि कविता गर्छ। सङ्घर्षको शक्तिका लागि, आन्दोलनमा ऊर्जाका लागि कवि कविता गर्छ। प्रेममा कविता गर्छ, वियोगमा कविता बन्छ।
सौन्दर्य सिर्जनाका लागि कविता गर्छ, विनिर्माण र विसर्जनका लागि कविता गर्छ। आफू भुल्न कविता गर्छ, अरूलाई भुलाउन पनि कविता गर्छ। ऊ जहाँ पनि कविता गर्छ, कविता बाहेक कविसँग अरू के छ र? कविका लागि कविता सबै हो; शक्ति, अस्त्र, भाषा, विचार, विम्ब, साहस, सौर्य सबै हो। त्यसैले कवि जहीँ पनि कविता गर्छ, जेमा पनि कविता गर्छ।