कसैले भन्यो
तिम्रो आँखा कति चमकदार,
मैले मनमनै भनेँ
वर्षा धेरै परेर खुलेपछि
आकाश उज्यालो हुँदैन त।
कसैले भन्यो,
तिम्रो मन कति सफा,
मैले मनमनै भनेँ
हजारौँ पटक माझिएको
गाग्रो चम्किलो हुँदैन त।
कसैले भन्यो,
तिम्रो शब्द कति गहिरो
मैले भनेँ
आफ्नैले आफ्नो बनेर पराई
भन्दा कपट देखाएपछि
भाव सागर भन्दैन त।
कसैले भन्यो,
तिमी सम्बन्धको कदर
खासै गर्दैनौ
मैले भने जति पटक पनि
आफ्ना जस्तो बनेर
आएका कलाकारहरूले
चक्रव्यूह रचेर
अपमान अनि विभेद
गरेपछि विश्वास
भाग्दैन त।
कसैले भन्यो,
तिमी किताब प्रेमी पो बनेछौ,
नियतिले
जन्मिएको ठाउँबाट हटाइनु
पराईको दुष्चक्रमा फसी
आफैँ दोषी भइरहनु
पापी मानिसको चेहरा
र घेराभित्र निसास्सिएपछि
फेरि आफैँसँग बाँच्न मन
लाग्दैन त।
कसैले भन्यो,
उसो भए पुरुष को हो?
बिचरा पुरुष,
ऊ त स्त्रीबाट जन्मेर
स्त्रीकै चार दिवारमा
रचिएका सयौँ खेल
थाहा नपाएर आफ्नै आधी हिस्सा
बनेर आएकी नारीलाई
घात गर्न तम्सिने अनि
उमेर ढल्किएपछि मात्र
आँखा खुल्ने बिचरा
अर्धचेत मानव हो।
कसैले भन्यो,
आफन्त को हुन्?
मैले भनेँ
जो कमजोर र अपरिचित अवस्थामा
पनि दयालु रहन्छ
ती जुनी-जुनीको आफन्त हुन्,
र अर्को जो आफन्त बनेर जिउँदै
नर्क देखाउन आतुर हुन्छन्
आफू बिलाएर पनि
मेरै आँसुको कारण बनी
झुट, स्वार्थ अपमानको
खेती गर्दछन्,
मेरो खुसीमा गल्छन्,
मेरो दुखमा फुल्छन्,
ती सात जुनी सम्मका
आफन्त हुन्
जसको सायद पूर्वजन्मकै
ऋण बाँकी छ।