बिहानदेखि नै आकाश धुम्म थियो। सहरमाथि बादलहरू यति तल झरेका थिए कि लाग्थ्यो, कुनै अदृश्य दुःखले आकाशलाई पनि आफ्नो काँधमा बोकेको छ। सडकहरू भने आफ्नो पुरानै गतिमा थिए— हर्नको आवाज, मोटरसाइकलको भीड, पसलका सटर खुल्दै गरेका आवाज, चिया पसलबाट निस्किएको बाफ र मानिसहरूको हतार। म पनि त्यही हतारको एउटा हिस्सा थिएँ।
काँधमा झोला थियो। हातमा मोबाइल थियो। मोबाइलको स्क्रिनमा लगातार नोटिफिकेसनहरू आइरहेका थिए। कार्यालयबाट फोन, म्यासेज, कामको दबाब, घरबाट आएको एउटा चिन्तित सन्देश र बैंक खातामा बाँकी रहेको रकमको हिसाब। म हिँडिरहेको थिएँ, तर वास्तवमा म आफ्नो शरीरभन्दा धेरै अगाडि दौडिरहेको थिएँ। मेरो मन भविष्यमा थियो।
भोलि के होला? काम सुरक्षित रहला कि नरहला?
मैले सोचेजस्तो जीवन कहिले सुरु होला? किन अरू मानिसहरू मभन्दा अगाडि बढिरहेका छन्? किन मैले यति मेहनत गर्दा पनि मेरो जीवन उस्तै ठाउँमा उभिएको छ? यी प्रश्नहरू मेरो टाउकोभित्र यति ठुलो आवाजमा कराइरहेका थिए कि वरिपरिका सयौँ मानिसहरूको आवाज पनि मैले सुन्न सकिरहेको थिइनँ। मलाई लागिरहेको थियो— मसँग समस्या धेरै छन्। सायद संसारमै सबैभन्दा बढी दुःख मैले नै बोकेको छु।
त्यही सोच्दै म एउटा पुरानो गल्लीबाट मुख्य सडकतिर निस्किएँ।
त्यहाँ एउटा सानो पुल थियो। पुलमुनि वर्षा याममा पानी बग्थ्यो, तर अहिले केही फोहोर र प्लास्टिकका टुक्राहरू मात्र थिए। पुलको छेउमा एउटा पुरानो पीपलको रूख थियो। रूखमुनि केही ढुंगाहरू राखिएका थिए, जहाँ मानिसहरू कहिलेकाहीँ बसेर थकाइ मार्थे।
त्यो दिन त्यही रूखमुनि एउटा वृद्ध बसेका थिए। मैले उनलाई खासै ध्यान दिइनँ। सहरमा यस्ता मानिसहरू धेरै भेटिन्छन्। कसैको हातमा कटोरा हुन्छ। कसैले पुरानो कपडा लगाएको हुन्छ। कसैको अनुहारमा भोक हुन्छ। कसैको आँखामा निराशा। हामी यस्ता दृश्यहरू देख्न यति अभ्यस्त भइसकेका छौँ कि अब मानिसलाई मानिसका रूपमा हेर्नुभन्दा दृश्यका रूपमा हेर्न थालेका छौँ। म पनि त्यही गर्दै थिएँ।
तर केही पाइला अगाडि बढेपछि पछाडिबाट एउटा आवाज आयो— ‘बाबु…’ आवाज निकै कमजोर थियो म रोकिइनँ।
फेरि आवाज आयो— ‘बाबु, एकछिन…’ यस पटक मेरो पाइला आफैँ रोकियो।
मनले भन्यो— ‘ढिला भइसक्यो। फेरि के समस्या होला? पैसा माग्लान्। केही किन्न भन्लान्। किन अनावश्यक झमेलामा पर्नु?’ तर कुनै कारणले म पछाडि फर्किएँ।
वृद्धले मलाई हेर्दै थिए। उनको उमेर सायद सत्तरीको हाराहारीमा थियो। सेतो कपाल अस्तव्यस्त थियो। शरीरमा पुरानो स्वेटर थियो, जसका केही धागाहरू बाहिर निस्किएका थिए। खुट्टामा चप्पलको एउटा जोडी थियो, तर एउटा चप्पल चुँडिएको थियो।
उनको हातमा एउटा सानो कपडाको झोला थियो। मैले सोधेँ— ‘के भयो बुबा?’
उनले केही भन्न खोजे तर आवाज निस्किएन।
उनले आफ्नो हातले छाती होइन, पेटतिर इशारा गरे।
‘भोक लागेको हो?’
उनले टाउको हल्लाए। मैले झोलाबाट पैसा निकाल्न खोजेँ। तर उनले मेरो हात रोके।
‘पैसा होइन बाबु…’
म अचम्म परेँ। ‘अनि?’
उनले बिस्तारै भने— ‘आज बिहानदेखि केही खाएको छैन।’
म केही क्षण चुप भएँ।
सामान्यतया हामी भोक लागेको मानिसलाई पैसा दिन्छौँ र आफ्नो कर्तव्य पूरा भएको ठान्छौँ।
तर त्यो दिन मलाई पहिलो पटक लाग्यो— कहिलेकाहीँ मानिसलाई पैसा होइन, साथ चाहिँदो रहेछ।
मैले नजिकैको पसलतिर हेरेँ।
‘बुबा, के खानुहुन्छ?’
उनी मुस्कुराए।
‘जे सस्तो हुन्छ, त्यही।’
त्यो वाक्यले मलाई भित्रैदेखि हल्लायो।
जे सस्तो हुन्छ, त्यही! हामीमध्ये धेरैले खाना रोज्छौँ। कसैले मःम रोज्छ। कसैले पिज्जा। कसैले कफी। कसैले आफ्नो स्वादअनुसार रेस्टुरेन्ट खोज्छ। तर त्यहाँ एउटा मानिस थियो, जसका लागि खानाको स्वादभन्दा पनि मूल्य ठुलो थियो।
मैले उनलाई नजिकैको चिया पसलमा लगेँ। ‘दुई वटा चिया र केही खाना दिनुस्,’ मैले पसलेलाई भनेँ। वृद्धले खाना आउँदा बच्चाले नयाँ खेलौना पाएझैँ हेरे। उनले पहिलो गाँस मुखमा हाले।
धेरै बिस्तारै चपाए। म उनलाई हेरिरहेँ। त्यो एउटा सामान्य खाना थियो। तर उनको आँखामा त्यो खाना संसारकै ठुलो भोजजस्तो देखिन्थ्यो।
मैले सोधेँ— ‘बुबा, घर कहाँ हो?’
उनले केही बेर मौन बसेर भने— ‘घर?’
त्यो शब्द उच्चारण गर्दा उनको अनुहार अचानक बदलियो।
‘थियो बाबु।’
‘अहिले छैन?’
उनले मुस्कुराउने प्रयास गरे।
‘मान्छेहरूलाई घर चाहिन्छ, मलाई सम्झना मात्र बाँकी छ।’
म चुप भएँ। उनले बिस्तारै आफ्नो कथा सुनाउन थाले।
उनको नाम हरिप्रसाद रहेछ। कुनै समय उनी गाउँमा शिक्षक थिए। सानो घर थियो। श्रीमती थिइन्। एक छोरा थियो।
छोरालाई पढाएर ठुलो मान्छे बनाउने सपना थियो। उनले आफ्नो जीवनका धेरै इच्छा छोराको भविष्यका लागि त्यागेका रहेछन्। छोरो पढ्यो। सहर आयो। विदेश गयो।
त्यसपछि उसले जीवन बनायो। तर बाबु भने बिस्तारै उसको जीवनबाट हराउँदै गए। श्रीमती बितिन्। घरमा उनी एक्लै भए।
केही वर्षपछि गाउँको घर बेचियो। छोरोले भने— ‘बुबा, तपाईं सहर आउनुस्।’
उनी आए। तर सहरमा छोरा व्यस्त थियो।
बुहारी आफ्नै संसारमा थिइन्। नातिनातिनाहरू स्कुल र मोबाइलमा व्यस्त थिए। बिस्तारै एउटै घरमा बसेर पनि उनी एक्लो हुँदै गए। एक दिन छोराले उनलाई वृद्धाश्रममा राखिदियो।
‘त्यहाँ तपाईंको राम्रो हेरचाह हुन्छ,’ छोराले भनेको थियो।
हरिप्रसादले त्यो दिन केही बोलेनन्। तर त्यस दिनदेखि उनले आफ्नो छोरासँग ‘बाबु’ भनेर बोल्न छाडे। केही महिनापछि वृद्धाश्रमबाट पनि निस्किए। किन? उनले भने—
‘त्यहाँ खाना पाइन्थ्यो बाबु, तर आफ्नो मान्छेको आवाज पाइँदैनथ्यो। जेल जीवन जस्तै थियो आफूले भोक लाग्दा होइन उनीहरूले दिँदा खान पाइन्थ्यो।’
मैले उनको अनुहार हेरिरहेँ। उनका आँखामा आँसु थिएन। सायद धेरै रोइसकेका मानिसका आँखामा आँसु पनि बाँकी रहँदैन। मैले सोधेँ— ‘अनि अहिले कहाँ बस्नुहुन्छ?’
उनले पीपलको रूखतिर हेरे। ‘जहाँ रात पर्छ, त्यहीँ घर।’ त्यो वाक्यले मेरो मुटु चिसो बनायो।
त्यही बेला मेरो मोबाइल बज्यो। अफिसबाट फोन थियो। म केही क्षण मोबाइल हेरेर बसेँ। त्यसको स्क्रिनमा ‘अर्जेन्ट’ लेखिएको थियो। मेरो पुरानो चिन्ता फेरि जाग्यो। काम। डेडलाइन। भविष्य।
तर मेरो अगाडि एउटा मानिस बसिरहेको थियो, जसको भविष्य नामको कुनै शब्द नै बाँकी थिएन। मैले फोन उठाइनँ।
पहिलो पटक मैले आफ्नो व्यस्ततालाई केही मिनेटका लागि मर्न दिएँ। हरिप्रसादले मलाई हेरेर भने— ‘बाबु, तिमीलाई ढिला होला।’
मैले भनेँ— ‘आज अलि ढिला भए पनि हुन्छ।’
उनी मुस्कुराए।
‘मान्छेहरू ढिला हुन डराउँछन् बाबु। तर जीवन आफैँ कति ढिलो भइरहेको छ, त्यो कसैले सोच्दैन।’ त्यो वाक्य मैले जीवनभर बिर्सन सकिनँ।
हामी केही समय त्यहीँ बस्यौँ।
मैले उनको चुँडिएको चप्पल हेरेँ।
‘यो कहिलेदेखि यस्तो?’
‘हिजोदेखि।’
‘नयाँ किन नकिन्नुभएको?’
उनी हाँसे- ‘खुट्टा पुरानै छ बाबु, चप्पल नयाँ भएर के हुन्छ?’
मैले पसलबाट एउटा साधारण चप्पल किनेर ल्याएँ। उनले चप्पल हातमा लिए। केही क्षणसम्म त्यसलाई हेरिरहे। त्यसपछि अचानक उनले मेरो हात समाते।
‘तिमीलाई थाहा छ बाबु?’
‘के?’
‘आज तिमीले मलाई चप्पल होइन, फेरि मान्छे भएको महसुस गरायौ।’
मसँग कुनै उत्तर थिएन। उनको त्यो वाक्य मेरो सबैभन्दा ठुलो पुरस्कार थियो। म उठ्न लागेँ।
तर उनी अचानक बोले— ‘बाबु, तिम्रो पनि दुःख होला।’
म चकित भएँ।
‘मेरो?’
‘हो।’
‘तपाईंलाई कसरी थाहा?’
उनले मेरो अनुहार हेरेर भने— ‘मान्छेले दुःख लुकाउँदा आँखाले बताउँछ। ‘
म मुस्कुराएँ। तर त्यो मुस्कानभित्र वर्षौँदेखिको थकान थियो।
मैले पहिलो पटक आफूलाई कसैको अगाडि स्वीकार गरेँ।
‘हो बुबा, म पनि थाकेको छु,’ उनले मेरो काँधमा हात राखे।
‘त्यसो भए बाबु, अरूलाई उठाउँदै गर। आफ्नै थकान बिर्सिन्छ।’
त्यो दिन म त्यहाँबाट निस्किएँ। तर म पहिलेजस्तो मान्छे भएर निस्किइनँ। सडक उस्तै थियो। गाडीहरू उस्तै थिए मानिसहरू उस्तै हतारमा थिए। मोबाइलमा अझै धेरै म्यासेजहरू थिए। अफिसमा काम अझै बाँकी थियो। खल्तीमा पैसा अझै कम थियो। भविष्य अझै अनिश्चित थियो। तर मेरो मनभित्र केही बदलिएको थियो।
मलाई अचानक महसुस भयो— हामी प्रायः जीवनमा समस्या हटेपछि खुसी हुन्छौँ भनेर सोच्दछौँ। तर कहिलेकाहीँ समस्या उस्तै रहन्छ, केवल त्यसलाई हेर्ने हाम्रो आँखा बदलिन्छ।
त्यस दिन मैले बुझेँ— मेरो समस्या ठुलो थियो, तर मेरो संसार त्यसभन्दा ठुलो थियो।
मसँग चिन्ता थियो, तर मसँग सास पनि थियो। मसँग अभाव थियो, तर कसैलाई केही दिन सक्ने हात पनि थियो।
मसँग अपूरा सपड्ढना थिए, तर ती सपना पूरा गर्न बाँकी जीवन पनि थियो। र सबैभन्दा ठुलो कुरा— मसँग कसैको दुःख सुन्न सक्ने कान र कसैको हात समात्न सक्ने हात अझै बाँकी थियो।
केही दिनपछि म फेरि त्यही पीपलको रूखमुनि गएँ। तर हरिप्रसाद त्यहाँ थिएनन्। मैले चिया पसलेलाई सोधेँ— ‘बुबा कहाँ जानुभयो?’
उसले भन्यो— ‘हिजो एउटा मानिस आएर उहाँलाई लिएर गयो।’
‘को?’
‘थाहा भएन। सायद उहाँको छोरो होला।’
म केही बेर चुप रहेँ। मनमा एउटा अनौठो प्रार्थना उठ्यो— ‘यदि त्यो छोरो नै थियो भने उसले यस पटक आफ्नो बाबुलाई वृद्ध होइन, बाबुको रूपमा देखोस्।’
म त्यहाँबाट फर्किएँ।
पीपलको रूखको छाया सडकमा परेको थियो। हावाले रूखका पातहरू हल्लाइरहेको थियो। म केही बेर त्यहीँ उभिएँ।
त्यस दिन मैले महसुस गरेँ— मान्छेको जीवनमा सबैभन्दा ठुलो उपलब्धि बैंक ब्यालेन्स होइन रहेछ। सबैभन्दा ठुलो सफलता ठुलो घर होइन रहेछ। सबैभन्दा ठुलो सम्मान अरूले ताली बजाउनु पनि होइन रहेछ। कहिलेकाहीँ सफलता भनेको केवल यति रहेछ— तपाईंको कारणले कसैको अनुहारमा एकछिन भए पनि मुस्कान आयो। तपाईंको हात समातेपछि कसैले आफू एक्लो छैन भन्ने महसुस गर्यो। तपाईंले दिएको एउटा सानो सहयोगले कसैको कठिन दिन अलि सजिलो बन्यो।
र तपाईंले कसैलाई उठाउँदा, अनजानमै आफूभित्रको एउटा खसेको हिस्सा पनि उठाउनुभयो। आज पनि जब म सडकमा कुनै वृद्धलाई देख्छु, म केही क्षण रोकिएर हेर्छु।
कहिलेकाहीँ केही दिन सक्दिनँ। कहिलेकाहीँ केवल मुस्कुराउँछु। कहिलेकाहीँ दुई शब्द बोल्छु। तर अब म नदेखेझैँ गरेर हिँड्न सक्दिनँ। किनकि मैले एउटा कुरा सिकेको छु— संसारमा सबैभन्दा डरलाग्दो गरिबी खल्ती खाली हुनु होइन, अरूको पीडा देखेर पनि मन खाली हुनु हो।
हामी सबै कुनै न कुनै दिन लड्नेछौँ। कसैको शरीर लड्नेछ। कसैको सपना लड्नेछ। कसैको आत्मविश्वास लड्नेछ। कसैको सम्बन्ध लड्नेछ। कसैको जीवन नै भत्किएजस्तो हुनेछ। त्यो दिन हामीलाई उठाउने हात चाहिन्छ।
त्यसैले आज हामीसँग अरूलाई उठाउने शक्ति छ भने उठाऔँ। आज हामीसँग कसैको आँसु पुछ्ने समय छ भने पुछौँ। आज कसैले केवल दुई शब्द सुन्न चाहेको छ भने दुई शब्द बोलौँ। किनकि जीवनको अन्तिम हिसाबमा हामीले कति कमायौँ भन्नेभन्दा धेरै ठुलो प्रश्न हुनेछ—तिमीले कति हृदय छोयौ?
र सायद कुनै साँझ, जीवनको अन्तिम यात्रातिर फर्केर हेर्दा हामीले बनाएका घरहरू, जम्मा गरेका पैसाहरू, पाएका पदहरू र जितेका प्रतिस्पर्धाहरूभन्दा धेरै उज्याला लाग्नेछन् ती साना क्षणहरू— जहाँ हामी कसैका लागि केही बेर रोकिएका थियौँ। जहाँ कसैले हाम्रो हात समाएको थियो। जहाँ हाम्रो उपस्थितिले कसैलाई एक्लोपनबाट केही क्षण बाहिर निकालेको थियो।
त्यसैले अब मलाई लाग्छ— जीवन भनेको केवल अगाडि बढ्नु होइन। कहिलेकाहीँ पछाडि फर्किनु पनि हो। कसैले बोलाउँदा सुन्नु पनि हो। कसैलाई लडेको देख्दा रोक्नु पनि हो।
र कहिलेकाहीँ अरूको जीवनमा एउटा सानो उज्यालो बाल्न खोज्दा आफ्नै अँध्यारो हराउनु पनि हो। किनकि मानिस हुनु जन्मले तय गर्छ, तर मानव हुनु भने हरेक दिनको एउटा छनोट हो। र त्यो छनोट हामीसँग हरेक बिहान फेरि आउँछ।