चार वर्ष अघिसम्म काठमाडौंकी शुभेच्छा सिंहलाई उद्यमी बन्छु भन्ने लागेकै थिएन।
स्नातक तह पढ्दै गर्दा सुरू गरेको 'माटो क्राफ्ट्स' लाई सँगसँगै लैजान निकै कठिन भयो।
'पढाइसँगै व्यवसाय गर्न धेरै कठिन थियो। कहिलेकाहीँ त कलेज नै छोडूँ जस्तो पनि लाग्यो। तर दुवैलाई जसोतसो मिलाएर सँगै लगेँ,' शुभेच्छाले भनिन्, 'अहिले धेरैले रूचाइदिएका छन्, खुसी लाग्छ।'
उनी पोलिमर क्ले (एक प्रकारको कृत्रिम माटो) बाट झुम्का र टप (इयर–रिङ) बनाउँछिन्। पोलिमर क्ले हातैले बेलेर खासगरी फूलहरू र नेपाली परम्परा झल्किने डिजाइनका सामान बनाइरहेकी छन्।
माटोबाट बनेकाले उनले आफ्ना उत्पादनको ब्रान्ड नाम राखेकी छन्—माटो क्राफ्ट्स।
यसको पसल ललितपुरको पाटनढोकामा छ। उत्पादन पनि यहीँ हुन्छ।
डिजाइनकै कारण आफ्नो उत्पादन बजारले निकै रूचाएको शुभेच्छा बताउँछिन्।
'चार वर्षअघि सनफ्लावर (सूर्यमुखी) र डेजी फूल डिजाइनमा झुम्का र टप बनाएकी थिएँ। धेरैले रूचाएपछि यसको बजार रहेछ भन्ने महसुस गरेँ,' उनले भनिन्, 'अहिलेसम्म तीन सयभन्दा बढी डिजाइनका इयर–रिङ बनाइसकेँ। हामीकहाँ नेकलेस र ब्रच पनि पाइन्छ।'
दुई वर्षअघि उनले लालीगुराँस डिजाइनको झुम्का र टप बजारमा ल्याएकी थिइन्। बजारले यो डिजाइन धेरै मन परायो। अहिलेसम्म पनि सबभन्दा धेरै उत्पादन भइरहेको डिजाइन यही हो।
'जति बनाउँदा पनि पुगेको छैन। हरेक दिन माग बढेको छ,' २२ वर्षीया शुभेच्छाले भनिन्, 'नेपालको राष्ट्रिय फूल भएर पनि होला, धेरैले मन पराएका छन्।'


यसबाहेक सूर्यमुखी, आँखीझ्याल, कुमारी, मिथिला लगायत डिजाइनको माग धेरै छ।
शुभेच्छाले आफ्नो कम्पनीका उत्पादन दुई समूहमा वर्गीकरण गरेकी छन्।
एउटा हो 'फ्लावर' अर्थात् फूल। यसमा विभिन्न मौसमी फूलका डिजाइन छन्।
अर्को परम्परागत रूपमा चलेको डिजाइन हो। यसमा नेपाली चाडपर्वमा ग्राहकले खोज्ने डिजाइन छन्।
इयर–रिङको मूल्य एक हजार रूपैयाँदेखि दुई हजार पाँच सय रूपैयाँसम्म पर्छ।
शुभेच्छालाई सानैदेखि सिर्जनात्मक काममा रूचि थियो। स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा केही न केही नयाँ काम गर्थिन्। माटोको कलाबारे भने कक्षा पाँच पढ्ने बेलामा, स्कुलमा 'क्ले वर्क' हुँदा थाहा पाएकी थिइन्।
झुम्का बनाउने सोच उनलाई कोरोना महामारीका बेला आएको हो। त्यो बेला उनले भर्खर प्लस–टू पढाइ सुरू गरेकी थिइन्। लकडाउनको फुर्सदमा उनले कपीमा झुम्का र टपका डिजाइन बनाइन्। बजारबाट पाँच हजार रूपैयाँको क्ले र आवश्यक सामग्री किनिन्। केही जोर झुम्का तयार गरिन् र साथीहरूलाई बाँडिन्।
स्वदेशी माटोबाट बनाएकाले झुम्का र टपमा समस्या देखियो। इयर–रिङ फुट्ने र जोडाइ झर्ने समस्या आयो। यसपछि उनले यसबारे अध्ययन गरिन्। इयर–रिङका लागि विशेष पोलिमर क्ले चाहिनेबारे बुझिन्।
तर यो क्ले बाहिरबाट मगाउनुपर्ने भएकाले उनीसँग लगानी थिएन।
यत्तिकैमा उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा आइटी विषयमा स्नातक तहमा भर्ना भइन्। पढाइ अघि बढ्यो।

क्याम्पसमा 'पास्ट स्टुडेन्ट भेन्चर' ले स्टार्टअपका लागि लगानीमा सहयोग गर्ने कार्यक्रम आयो। क्याम्पसमा पढिरहेका एक जना विद्यार्थीले स्टार्टअपका लागि एक लाख रूपैयाँ पाउने थाहा पाइन्।
शुभेच्छालाई ढुंगा खोज्दा देउता मिले जस्तै भयो।
उत्साही शुभेच्छाले कार्यक्रमबारे आमाबुबालाई सुनाइन्। तर उनीहरू उत्साहित भएनन्।
आइटी पढ्दै गरेकी छोरी अरू काममा लाग्नु हुँदैन भन्ने आमाबुबाको धारणा थियो। उनीहरूका विचारमा छोरीले सोचेको काम 'सानोतिनो' थियो, जसमा अलमलिनु हुँदैन।
तर शुभेच्छा आफ्नो सीप निखार्दै आत्मनिर्भर हुन चाहन्थिन्। उनले कार्यक्रममा भाग लिइन्। छनोट भएर 'पास्ट स्टुडेन्ट भेन्चर' बाट एक लाख रूपैयाँ अनुदान पाइन्। त्यही पैसाबाट उनले बाहिरी मुलुकबाट गुणस्तरीय पोलिमर क्ले र आवश्यक औजार किनिन्।
यसपछि सुरू भयो उनको व्यावसायिक यात्रा।
यसरी शुभेच्छाले कामसँगै पढाइलाई पनि उच्च प्राथमिकतामा राखिन्। दिउँसो क्याम्पस जानु, पढाइको दैनिक अभ्यास पूरा गर्नु अनि बिहान र राति समय मिलाएर इयर–रिङ बनाउनु उनको दिनचर्या भयो। काममा कति लगनशील भइन् भने, कहिलेकाहीँ रात बितेको पत्तै हुँदैन थियो।
'सुरूसुरूमा त कहिलेकाहीँ इयर–रिङ बनाउँदा बनाउँदै रात बितेको पत्तै नहुने, तीन–चार पनि बज्थ्यो। कहिल्यै अल्छी लागेन। बरू नयाँ डिजाइन बनाउन हतारिन्थेँ,' उनले भनिन्।
केही दिनमा उनले चार वटा फूलका डिजाइनमा केही जोर टप र झुम्का तयार गरिन्। फोटो खिचेर सामाजिक सञ्जालमा राखिन्। राम्रो प्रतिक्रियाका साथ अर्डर आउन थाल्यो। बिस्तारै ग्राहकले डिजाइन पनि दिन थाले।

शुभेच्छाको आत्मविश्वास बढ्यो।
उनले सुनाइन्, 'धेरैले आफ्नै रोजाइको इयर–रिङ अर्डर गर्न थाले।'
काम थालेको छोटो समयमै ग्राहकले भनेको डिजाइनका काम गर्नु सजिलो थिएन, तर आँट गरिन्। प्रयास गरेपछि सफल पनि भइन्।
अहिले उनी नयाँ–नयाँ डिजाइन थप्न प्रयासरत छिन्। उनी काठमाडौं उपत्यकामा हुने विभिन्न व्यापार मेलामा पनि सहभागी हुन्छिन्। स्टलमा आउने ग्राहकले दिएको सुझाव अनुसार पनि डिजाइन तयार गर्छिन्।
'अहिले माटो क्राफ्ट्सबाट वार्षिक ५० लाख रूपैयाँभन्दा बढीको कारोबार भइरहेको छ,' उनले भनिन्।
उनले ६ जनालाई रोजगारी पनि दिएकी छिन्।
'व्यवसायबाट यति राम्रो आम्दानी हुन्छ भन्ने सोचेकै थिइनँ, धेरै खुसी लाग्छ,' अन्त्यमा शुभेच्छाले भनिन्, 'अब विदेशी बजारमा पनि माटो क्राफ्ट्स पुर्याउन लागिपरेकी छु।'