जाडो याम होस् वा गर्मी, मान्छेहरू आगो वरिपरि बस्छन्।
दाउराको आगोमाथि ठूलो भाँडा हुन्छ जसमा मःम पाकिरहेको हुन्छ।
त्यसको बास्नाले भोकाएका मानिसहरूको जिब्रोमा स्वाद छरिरहेको हुन्छ।
यो दृश्य हो काठमाडौं, स्वयम्भूको सिद्धार्थ टोलस्थित 'दाउरा मःम' को।
करिब दस महिनाअघि सुरू भएको दाउरा मःम कम समयमै मःम पारखीको प्रिय बनेको छ।
यसका सञ्चालक हुन् ३४ वर्षीय निरज थापा र उनकी श्रीमती अन्जना थापा।
काभ्रेका निरजलाई सानैदेखि दाउराको आगोमा पकाएको खानेकुरा खाने बानी परेको थियो। त्यसैले यसमा पकाएको जे पनि मिठो लाग्थ्यो।
'गाउँमा दाउरामा पकाएको खानेकुरा सम्झिँदै त्यसमै मःम बनाउने सोचेँ,' उनले भने, 'ग्यासमा पकाएको र दाउरामा पकाएको एकै खानेकुराको स्वाद फरक फरक हुन्छ।'
निरजलाई जस्तै धेरै नेपालीहरूलाई दाउरामा पकाएको खानेकुराको स्वाद थाहा हुन्छ।
'त्यसैले होला, यहाँ मःम खान आउनेहरू धेरै हुनुहुन्छ,' उनले थपे।
रेस्टुरेन्ट बनाउन निरजले करिब ८ लाख रूपैयाँ लगानी गरेका छन्। यहाँ १६० रूपैयाँमा चिकेन र १४० रूपैयाँमा बफ मःम पाइन्छ।
यसबाहेक चिकेन र बफ छोइला–चिउरा पनि उपलब्ध छ। हरेक दिन ५ देखि ७ किलो मासुको छोइला बन्छ। एक प्लेटको १०० रूपैयाँ पर्छ।


मःम पकाउने दाउरा उनीहरू सितापाइला र सानो भर्याङबाट ल्याउँछन्। महिना र मौसम अनुसार १५ सयदेखि दुई हजार किलोसम्म दाउरा चाहिन्छ।
दाउरा मःम रेस्टुरेन्टको ठाउँ अलि भित्रपट्टि भएकाले सुरूमा वरिपरिका स्थानीय ग्राहक मात्र आउँथे। बिस्तारै फुड भ्लगरहरूले भिडिओ बनाएर राख्न थाले। अनि धेरै ग्राहकले थाहा पाउँदै गए। दाउरामा बनेको मःम भाइरल भयो।
अहिले ग्राहक लोकेसन हेरेर, खोज्दै आउँछन्। कतिपयले उनलाई ठाउँ सर्न सुझाव पनि दिएका छन्।
'तर दाउरा बाल्नुपर्ने भएकाले जहीँतहीँ सर्न मिल्दैन। धुवाँले अरूलाई समस्या हुन सक्छ,' निरज भन्छन्।
उनी दाउरा मःमको प्रचार सामाजिक सञ्जालबाट पनि गर्छन्। त्यसको फाइदा — अर्डर बढेको छ।
'अर्डर र पसलमा सिधै गरेर दैनिक डेढ सयभन्दा बढी प्लेट मःम बिक्छ। मासिक रूपमा कम्तीमा ७ लाख रूपैयाँको मःम बिक्री हुन्छ,' उनले भने।
दाउरा मःम दिउँसो १ बजेदेखि राति ८ बजेसम्म खुल्छ। बिदाका दिन ग्राहक धेरै हुन्छन्।
हाल यहाँ चार जना कर्मचारी छन्।
मःम बनाउने प्रक्रिया बिहान १० बजेदेखि सुरू हुन्छ। अचार र किमाको मसला तयार पार्ने काम निरजकी श्रीमती अन्जनाले गर्छिन्।
'यो व्यवसाय चल्नुमा अन्जनाको ठूलो हात छ,' निरजले भने।
-1779301811.jpg)
-1779301812.jpg)
अन्जनाले यहाँ खास टिमुरको झोल बनाउँछिन्। यो झोल उनले यसअघिको आफ्नो व्यवसायबाट ल्याएकी हुन्। उनी यसअघि अचारको व्यवसाय गर्थिन् जुन उनले तीन वर्ष चलाइन्।
बजारमा अचारको प्रतिस्पर्धा धेरै भएपछि उनले यो काम रोकिन्।
त्यसपछि उनले अचारको व्यवसाय अरूलाई नै चलाउन दिइन्। र, निरज र उनी मिलेर मःम व्यवसाय गर्ने सोचेका हुन्।
पहिले अचार बनाउने ठाउँलाई नै उनीहरूले रेस्टुरेन्टमा रूपान्तरण गरे। पछिल्लो समय उनीहरूका दाइ विश्व थापाले पनि सहयोग गरिरहेका छन्।
'हाम्रो उद्देश्य सफासुग्घर र गुणस्तरमा ध्यान दिने ह,' निरजले भने, 'यो सानो ठाउँलाई ठूलो बनाउने सपना छ। बिस्तारै प्रयास गरिरहेका छौं।'

-1779301811.jpg)


-1779301813.jpg)