'घर पछाडि आँगनमा बलेको दाउरा चुह्लोमा ठुल्ठूला कराइ तताउँदै दालमोठ बनाइन्थ्यो। एउटा कराइ अगाडि तीन जना मानिस हुन्थे। उनीहरू दालमोठ पकाउँथे, प्याकिङ गर्थे,' समन मदिकर्मी भन्छन्।
यो उनी चार–पाँच वर्ष हुँदाको धमिलो याद हो।
हाल २५ वर्षीय समन भक्तपुरको दत्तात्रयमा 'नटराज दालमोठ' उद्योग चलाइरहेका छन्। यसको सुरूआत उनका हजुरबुबा रामशरणले करिब ४५ वर्षअघि गरेका हुन्।
रामशरण यही ठाउँमा मिठाइ पसल चलाउँथे। पसलमा भुजिया पनि पाइन्थ्यो। पछि उनले दालमोठ उत्पादन गर्ने सोचे र खोले 'दत्तात्रय दालमोठ'।
त्यो बेला वरपरका स्थानीय बासिन्दा र दत्तात्रय मन्दिर घुम्न आउनेहरू मात्र ग्राहक थिए।
२०४६ सालतिर उनले दत्तात्रय खाद्य उद्योग अन्तर्गत नटराज दालमोठ ब्रान्ड नाम दर्ता गरे। ब्रान्ड र प्याकेटमा नटराजकै फोटो राखे। नटराज ब्रान्डमा रातो दालमोठ र क्लासिक दालमोठ पाइन्थ्यो।
उनले दालमोठ उद्योग समयसँगै विभिन्न ठाउँमा सारे।
नटराज दालमोठमा करिब ४० वर्षदेखि काम गरिरहेका माइला ग्यामरू त्यो बेला उद्योग चलाउन सजिलो नभएको बताउँछन्।
'दाउरामा दालमोठ पकाउन धेरै कर्मचारी चाहिन्थ्यो,' उनले भने।
हाल ५५ वर्षका माइलाले यहाँ १५ वर्षको उमेरदेखि काम थालेका हुन्। उनले काम सुरू गर्दा २ रूपैयाँमा सानो प्याकेट र ५०–६० रूपैयाँमा ८ सय ग्राम दालमोठ पाइन्थ्यो।
'दालमोठ बनाउने तरिका हाम्रो पालाको भन्दा निकै फरक भइसकेको छ। मुछ्ने, पकाउने, प्याक गर्ने लगायत सबै काम हातैले हुन्थ्यो। त्यसैले कर्मचारी पनि धेरै हुन्थे,' माइलाले भने, 'अहिले ठूला ठूला मेसिन छन्। निकै सजिलो भएको छ।'


नटराजमा हाल ३६ जना कर्मचारी छन्।
रामशरणको निधनपछि उनका छोरा सञ्जीवले यो व्यवसाय सम्हाले। अहिले ४८ वर्षीय सञ्जीव व्यवसायको जिम्मा लिँदा १७ वर्षका थिए।
'बुबाको व्यवसाय र सपना अघि बढाउने उनको चाहना थियो,' उनले भने।
सञ्जीवको पालामा दालमोठ बनाउने प्रविधि फेरिँदै गयो। २०७२ सालदेखि मेसिनले नै सबै काम गर्छ। सबै मेसिन भारतबाट ल्याइएका हुन्।
व्यवसायलाई नयाँ प्रविधिमा ढाल्दा एक करोड १० लाख रूपैयाँभन्दा बढी लगानी भएको सञ्जीवले बताए। त्यो बेला उद्योग ब्यासीमा थियो।
कोरोना महामारीका बेला नटराज दालमोठ ताथलीमा सर्यो। त्यतिखेर पनि उत्पादन बन्द भएन। उल्टो सबैभन्दा धेरै बिक्री भयो।
समय अनुसार दालमोठको स्वाद पनि फेरिँदै गएको छ। पहिले दालमोठमा चिप्स, कर्नफ्लेक्स हुँदैन थियो। अहिले हालिन्छ।
नटराज दालमोठमा अहिले तेस्रो पुस्ता, अर्थात् उनका छोरा समन सक्रिय छन्।
उनी स्कुल पढ्ने बेला होस्टलमा दालमोठ लैजान्थे। त्यो बेला उनलाई सबैले पासा (साथी) भनेर बोलाउँथे।
'त्यसैले मैले लगेको दालमोठलाई सबैले 'पासाको दालमोठ' भन्थे,' उनले भने।


बिबिए पढाइ सकेर समन पूरा समय उद्योगमा लागेका हुन्। पावर लिफ्टिङका खेलाडी समेत रहेका उनले नेपाल र श्रीलंकामा स्वर्ण पदक पनि जितेका छन्।
'प्रायःले दालमोठ अस्वस्थ खानेकुरा भन्छन्। तर होइन। म खेलाडी हुँ। आफ्नो स्वास्थ्यको धेरै ध्यान राख्छु। तर म हाम्रो दालमोठ प्रायः खाइरहेको हुन्छु,' समनले भने, 'किनभने हाम्रो दालमोठले स्वादसँगै स्वास्थ्यमा पनि धेरै ध्यान दिन्छ।'
नटराज दालमोठमा अखाद्य रङ प्रयोग नगरिने उनको दाबी छ। नटराजको रातो दालमोठमा चुकन्दर प्रयोग गरिएको हुन्छ। त्यसैगरी पहेँलो बनाउन बेसार हालिने उनले बताए।
यो व्यवसायको सबभन्दा ठूलो चुनौती विदेशी उत्पादन भएको उनले बताए।
'प्रायः धेरै उपभोक्तालाई नेपाली ब्रान्डले कस्तो बनाउँछ भन्ने शंका हुन्छ। त्यही कारण विदेशी कम्पनीकै किन्न खोज्छन्,' उनले भने, 'तर नटराजले सफाइ र गुणस्तरमा धेरै ध्यान दिएको छ।'


उनका अनुसार नटराजमा मेसिनकै प्रयोगले तेल सोस्ने प्रविधि छ। साथै एकचोटि प्रयोग गरेको तेल फेरि प्रयोग गरिँदैन। यो तेल साबुन उद्योगमा बेचिन्छ।
नटराजका उत्पादनको मुख्य बजार काठमाडौं उपत्यकासँगै, त्रिशुली, बनेपा र धुलिखेल हो। देशबाहिर जापान पुगिरहेको छ।
अहिले समनले नटराजका उत्पादनको प्रचार सामाजिक सञ्जालमार्फत गर्न थालेका छन्। यसले बजार विस्तारमा सघाएको छ। सुदूरपश्चिमदेखि युएई र अस्ट्रेलियाबाट माग थपिएको छ।
नटराजले दालमोठबाहेक सोया चंक्स (सोयाबिन मस्यौरा), फुरनदाना, भुटेको बदाम, चना, भटमास, चिउरा जस्ता खाजा पनि उत्पादन गर्छ।
समन यही व्यवसाय देख्दै, यसैको उत्पादन खाँदै हुर्किए। अब यो कम्पनीलाई अझ बढाउन उनी लागिपरेका छन्। किनभने नटराज उनका लागि व्यवसाय मात्र होइन, पारिवारिक सम्पदा हो।












'हजुरबुबाले सानोबाट सुरू गर्नुभएको व्यवसाय अब बाबासँग मिलेर अझै ठूलो बनाउने सपना छ,' उनी भन्छन्।