अर्घाखाँचीको सुपा देउराली नजिकै नरपानीको अग्लो डाँडा कुनै बेला भिरालो खरबारी थियो। आज यहाँ १२ करोड रूपैयाँ लगानीमा जिल्लाकै गौरव र पर्यटनको मुख्य केन्द्र ठडिएको छ।
यो केन्द्र हो नरपानी रिसोर्ट।
सन्धिखर्क नगरपालिका वडा नम्बर ६ सुपा देउराली मन्दिर नजिकै रहेको यो रिसोर्ट एक व्यापारिक संरचना मात्र होइन, केही गरौं भन्ने दृढ इच्छाशक्ति भएका ४८ जना स्थानीय उद्यमीको सामूहिक सपनाको प्रतिफल हो।
२०६४ सालमा अर्घाखाँचीका शेरबहादुर बिसीले पहाडको टाकुरामा रिसोर्ट सञ्चालन गर्ने योजना अगाडि सारेका थिए। त्यो बेला अहिले रिसोर्टका साझेदारहरूलाई विश्वासै लागेको थिएन।
तर त्यही योजनाले २०७५ सालदेखि यहाँ सुविधा सम्पन्न रिसोर्ट चलेको छ। र, यसले स्वदेशी र खासगरी भारतीय पर्यटक आकर्षित गरिरहेको छ।
'पहाडको अग्लो डाँडोमा, खरबारीको बीचमा यसरी रिसोर्ट चलाउन सकिन्छ भन्ने हामीले त कल्पना पनि गरेका थिएनौं। यहाँ आउने गोरेटो बाटो मात्र थियो। शेरबहादुरजीले प्रस्ताव गर्दा पनि अचम्म मानेका थियौं। अहिले उहाँको सोचले सार्थकता पाइरहेको छ,' साझेदारमध्येका एक गोपाल पौडेलले भने।
रिसोर्ट नजिकै पश्चिम नेपालमै प्रसिद्ध सुपा देउराली मन्दिर छ। मन्दिर दर्शनका लागि हरेक वर्ष नेपालभर र भारतबाट हजारौं पर्यटक पुग्छन्।
बुटवल–भैरहवाको उखरमाउलो गर्मी छिचोल्दै सुपा देउराली पुग्नेलाई त्यहाँको चिसो हावापानी र प्राकृतिक सुन्दरताले घेरिहाल्छ। बुटवल–भैरहवादेखि साढे दुई घन्टा दुरीमा पुग्न सकिने नर्तनाञ्चल र नरपानीका अग्ला डाँडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि र सिस्ने जस्ता हिमशृंखला देख्न सकिन्छ। यहाँबाट सूर्योदय र सूर्यास्त पनि अदभूत देखिन्छ।


यस्तो ठाउँ भए पनि पहिले पर्यटकहरू केही समय आराम गर्ने ठाउँ नपाएर अलपत्र पर्थे। स्तरीय होटल नहुँदा विशेषगरी भारतीयहरू मन्दिर दर्शनलगत्तै बुटवल फर्किन्थे। आएका पर्यटकलाई कम्तीमा एक दिन विश्राम गराउन सके पर्यटन विकासमा थोरै भए पनि योगदान गर्न सकिन्थ्यो भन्ने शेरबहादुरलाई लागेको थियो। त्यसैले रिसोर्टको योजना अगाडि सारेका थिए।
उनकै योजना अनुसार सुरूमा ५९ जनाको समूह बन्यो। अहिले समूहमा ४८ जना मात्र आबद्ध छन्। शेरबहादुर रिसोर्टका अध्यक्ष हुन्।
शेरबहादुरले व्यक्तिगत रूपमा २० रोपनी खरबारी किनेर डोजरले सम्याए। रिसोर्टमा चाहिने संरचना तयार गरे। त्यहाँसम्म पुग्ने सडक थिएन, त्यो पनि आफ्नै खर्चमा बनाए। विद्युत लाइन विस्तार गरे।
रिसोर्टमा हालसम्म १२ करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको छ। अझै तीन करोड रूपैयाँ जति लगानी गरेर संरचना बनाउने योजना छ।
यो रिसोर्ट २०६४ सालदेखि नै चलाउने प्रक्रिया अगाडि बढाए पनि २०७५ सालदेखि मात्र सुरू भएको हो। बीचमा ३ वर्ष कोरोना महामारीका कारण बन्द गर्नुपर्यो। त्यसयता निरन्तर चलिरहेको छ।
'नेपालमा जे गरे पनि केही हुँदैन भन्ने गलत भाष्य निर्माण गरिएको छ। त्यो चिर्न पनि गाउँमै रिसोर्ट चलाएका हौं,' गोपालले भने, 'देशमै केही गरौं भन्ने भावना भएका थोरै मात्र युवा मिलेर केही योजना बनाउन सके रोजगारीका लागि विदेशिनेका लागि सिकाइ हुन्छ।'
अहिले यहाँ बास बस्न दैनिक ४० देखि ७० जनासम्म पर्यटक पुग्छन्।
'गत वर्ष झन्डै दुई लाख पर्यटकले रिसोर्टबाट सेवा लिएका थिए। ८० हजारभन्दा बढी बास बसेका थिए। त्यसमध्ये झन्डै ८० प्रतिशत भारतीय पर्यटक नै छन्,' गोपालले भने।
भारतीय पर्यटकहरू गर्मी छल्न आउन थालेपछि रिसोर्टमा भिड लाग्न थाल्छ। कात्तिकदेखि माघसम्म त्यति भिडभाड नहुने रिसोर्टमा चैत–वैशाखदेखि चहलपहल बढ्न थाल्छ।

कपिलवस्तु र रूपन्देहीका सीमानाका हुँदै आउने पर्यटकको रोजाइमा सुपा देउराली र नरपानी पर्छ। विशेष गरी शुक्रबार, शनिबार र आइतबार भारतीयको चाप हुन्छ। त्यसैले एक साता पहिल्यै कोठा बुक भइसक्छन्। कतिपय पर्यटक फर्काउनुपरेको गोपाल बताउँछन्।
'अनुकूल मौसमकै कारण यहाँ आउने भारतीय पाहुना तीन–चार दिनसम्म बस्छन्। तराईको गर्मीले अत्तालिएर दिनभरि चिसो हावामा आनन्द लिन आउनेको संख्या पनि धेरै छ,' उनले भने।
यहाँ एक हजार ५ सयदेखि ५ हजार रूपैयाँसम्मका २२ वटा कोठा छन्। सबैमा कम्तीमा तीन जनासम्म बस्न मिल्छ। केही कोठा समूहमा बस्न मिल्ने गरी बनाइएका छन्।
रिसोर्टले एक पटकमा ७० जनासम्मलाई राख्न सक्छ। बैठकका लागि सय जना अट्ने हल छ। क्याफे र रूफटप रेस्टुरेन्ट बनिरहेको छ।
पाहुनालाई रिसोर्टले आफ्नै फार्ममा पालेको लोकल कुखुरा र स्थानीय उत्पादन खुवाउँछ। यसले गर्दा स्थानीय उत्पादनले गाउँमै मूल्य पाइरहेको छ। रिसोर्टमा सरकारले तोकेको पारिश्रमिक मापदण्ड अनुसार स्थानीय २० युवाले रोजगारी पाएको गोपालले बताए।
रिसोर्ट नजिकैका सुपा देउराली मन्दिर, अर्घा र खाँचीका ऐतिहासिक दरबार, प्युठानको स्वर्गद्वारी जाने रूट र लुम्बिनी प्रदेश सरकारले अघि सारेको हिल स्टेसनको योजनाले यो क्षेत्रलाई थप चलायमान बनाएको छ।

१८ किलोमिटर दुरीको सदरमुकाम सन्धिखर्कभन्दा स्तरीय सुविधा नरपानीमा उपलब्ध हुन थालेपछि अहिले यहाँ अन्य व्यवसायीले पनि स्तरीय होटल खोल्न थालेका गोपालले बताए।
नरपानी रिसोर्ट सञ्चालन भएदेखि नै रेखदेख गोपालले गर्दै आएका छन्। नौ जनाको सञ्चालक समिति छ र तीन जनाको सचिवालय छ। सबैको नेतृत्व अध्यक्ष शेरबहादुरले गर्छन्।
रिसोर्टमा पाँचदेखि ९० लाख रूपैयाँसम्म लगानी गरेका सबै लगानीकर्ता अहिलेसम्म जसरी सञ्चालन भइरहेको छ, त्यसबाट सन्तुष्ट रहेको गोपालले बताए।
'स्थानीय स्रोत, साधन र सामूहिक लगानीको सही सदुपयोग गर्ने हो भने दुर्गम डाँडाहरू पनि समृद्धिको केन्द्र बन्न सक्छन्,' गोपालले भने, 'यसको उदाहरण हो नरपानी रिसोर्ट।'
