जसले व्यवसाय हुर्काए
एउटा व्यवसाय असफल भएपछि धेरैले नयाँ सुरूआत गर्ने आँट गर्दैनन्।
अर्जुन साह र उनका तीन साथीले भने असफलतालाई अन्त्य होइन, नयाँ सुरूआतको अवसर बनाए।
सातु र अचार व्यापारबाट सुरू भएको यात्रा सफल भएन। त्यसपछि उनीहरूले आफ्नै संस्कृति र परम्परासँग जोडिएको परिकार ठेकुआलाई व्यावसायिक रूपमा बजारमा ल्याउने निर्णय गरे।
आज त्यही ठेकुआ नेपालबाट ३६ देशमा पुगिरहेको छ।
अर्जुन साह, विवेक न्यौपाने, दिनेशज्यू ठकुरी र राजकुमार घिमिरेले एग्रिरूट्स कम्पनीमार्फत् ठेकुआ बजारमा पुर्याउन थालेको एक वर्षमा मात्र भयो।
चार जना सञ्चालकमध्ये आज हामीले अर्जुनसँग एग्रिरूट्स र ठेकुआबारे कुराकानी गरका छौं। फुड टेक्नोलोजी पढेका उनको निजी जीवनबारे पनि थोरै कुराकानी गरेका छौं।
अर्जुनका अनुसार सुरूमा उनीहरूले सातु र अचार उत्पादन गरेर बजारमा लगे। तर यस परिकारका बजारमा पहिले नै धेरै ब्रान्ड भएकाले अपेक्षित स्थान पाउन सकेन। उनीहरूले उत्पादन नै बन्द गरे।
'बजारमा हाम्रो सामान कसैले राख्नै मानेनन्। कम मूल्यमा पनि बेच्दा पनि भएन। एक/डेढ लाख रूपैयाँ घाटा भयो,' अर्जुनले सुनाए।
त्यही असफलतापछि उनले लामो समयदेखि मनमा रहेको ठेकुआलाई व्यावसायिक रूपमा बजारमा ल्याउने प्रस्ताव राखे। तराईमा, खासगरी छठ पर्वको प्रसाद ठेकुआ विशेष परिकार हो।
सप्तरीका अर्जुन ठेकुआ खाँदै हुर्किएका थिए। उनले यसैलाई व्यवसायमा बदलौं भनेर साथीहरूसँग प्रस्ताव राखे। अलमलकै बीचमा थोरै मात्रामा उत्पादन गरेर अनलाइन मार्फत बिक्री परीक्षण गर्ने रणनीति अपनाए।
'मैले साथीहरूलाई एक महिनाको समय मागेँ। अर्डर आए जति मात्रै उत्पादन गरौं, स्टक नराखौं भनेँ,' अर्जुनले सुनाए।
बायाँबाट क्रमशः अर्जुन साह, विवेक न्यौपाने र दिनेशज्यू ठकुरी
एउटा सानो कोठाबाट ठेकुआ उत्पादन सुरू भयो। उनीहरू आफैले ठेकुआ बनाए, प्याकेजिङ गरे। अनलाइनमा राखे र अर्डर लिन र डेलिभरी गर्न तयार भए।
तर दुई–तीन दिनसम्म कुनै अर्डर आएन।
चारै जनालाई अब यो व्यवसाय पनि सफल हुँदैन कि भन्ने मनमा डर पस्यो।
तर एकअर्कालाई व्यक्त गरेनन्, बरू ऊर्जा बाँडे।
'यो सफल भएन भने के गर्ने भनेर योजना बनाइरहन्थ्यौं,' अर्जुनले भने।
चौथो दिन भने अर्डर आयो, चार–पाँच वटा। अर्को दिन बिस्तारै अर्डर बढ्न थाल्यो, त्यसले उनीहरूलाई हौसला मिल्यो।
'अर्डर बढ्न थालेपछि अब चाहिँ व्यवसाय टिक्छ जस्तो लाग्न थालेको थियो,' उनले हाँस्दै सुनाए।
उनीहरूले परम्परागत ठेकुआलाई मिथिला कलाले भरिएको आधुनिक प्याकेजिङमार्फत बजारमा ल्याए। बिस्तारै ग्राहकको मागअनुसार चिनी भएको र सुगर–फ्री गरी दुई प्रकारका ठेकुआ उत्पादन गरे।
यसरी बजारमा ठेकुआ फैलाइसकेपछि उनीहरूले अहिले उत्पादनको प्रकार पनि थपेका छन्। हाल एग्रिरूट्सले नेपाली विभिन्न समुदायका परम्परागत परिकार लाखमरी (आइठा), खुर्मा, खाप्से पनि बजारमा पुर्याएको छ।
'हामी सातै प्रदेशको संस्कृति तथा परिकार समेट्ने गरेर उत्पादन अघि बढेका छौं,' उनले भने।
एग्रिरूट्सले दैनिक करिब ५० किलो ठेकुआ उत्पादन गरिरहेको छ। उत्पादन पूर्ण रूपमा हातबाट हुन्छ। उत्पादन क्षमता बढाउन उनीहरू अध्ययन गरिरहेका छन्।
अहिले एग्रिरूट्सका उत्पादन हाल अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, जापान, मलेसिया, हङकङ, न्यूजिल्यान्ड, फिनल्यान्डसहित ३६ भन्दा बढी देशमा पुगिरहेका छन्।
विदेशी बजारमा पुग्ने यात्रा सामाजिक सञ्जालबाट सुरू भएको उनले बताए।
हाल कम्पनीमा १० जना स्थायी रूपमा कार्यरत कर्मचारी छन्। अर्डर बढेका बेला थपिन्छन्।
'हाम्रा लागि यो व्यवसायभन्दा माथिको कुरा हो। हामी खानेकुराको माध्यमबाट नेपाल, हाम्रो समुदाय र हाम्रो परम्परा विश्वमा चिनाउन चाहन्छौं,' अर्जुनले भने।
हेर्नुस् एग्रिरूट्सका सहसंस्थापक अर्जुन साहसँग सेतोपाटीका सुनिता सिटौलाले गरेको कुराकानी-