दुई वर्षअघि 'थारू किचेन' खोल्दा ऋषिराम चौधरी दुविधामा थिए।
एकातिर उनी कहिल्यै नगरेको व्यवसाय थाल्दै थिए। अर्कातिर बजारमा थुप्रै नाम चलेका तथा स्थापित होटल थिए।
अब भने उनी ढुक्कसँग बाँकी जीवन यही पेसामै बिताउन चाहन्छन्।
'मासिक २० देखि ३० लाख रूपैयाँसम्मको व्यापार हुन्छ। ८ जना कर्मचारी छन्, सबै थारू समुदायका हुन्,' ५२ वर्षीय ऋषिरामले भने।
थारू किचेन दाङ, तुलसीपुर–६ को डुम्री गाउँमा छ। यहाँ विशेषगरी रैथाने थारू परिकार पाइन्छ— ढिक्री, घोँगी, गँगटा, थोप्पा रोटी (हातले थिचेर बनाइने सानो रोटी) र बबई नदीको माछा।
आफूले ताल वा पोखरीमा पालेको माछा नबेच्ने उनको दाबी छ।
त्यस्तै गाउँघरमा स्थानीयले पालेका लोकल भाले उनीहरू किन्छन्। फर्ममा पालेका ल्याउँदैनन्। एउटा भालेको मासुबाट थारू किचेनमा तीन प्रकारका परिकार खान पाइन्छ— लोकल भालेको साँधेको मासु, ग्रेभी र कटनेसी।
खसीका पनि तीन परिकार बन्छन्— बोसे आन्द्रा (ठूलो आन्द्रा), कटनेसी, भुँडी अर्थात् भुटन।
यहाँको हाँसको छोयला र गाउँघरकै सुँगुर वा बंगुरको मासुका विभिन्न परिकार पनि पाइन्छ। नुन, खुर्सानी र लसुनको हातले पिसेको अचार, दाङको तोरीको तेलमा साँधिएको आलुको अचार पनि यहाँको खास परिकार हो।


'हामी अर्ग्यानिक खाजा र नास्ता मात्रै बेच्छौं,' ऋषिरामले भने, 'अजिनोमोटो राखेको तथा प्रशोधित कुनै पनि तयारी खाना पाइँदैन।'
गाउँघरका रैथाने परिकार बजारमा पाउन थालेपछि छोटो अवधिमै थारू किचेन तुलसीपुर बजारमा 'हिट' भएको थियो। थारू समुदायको घरको भान्सामा पाक्ने रैथाने खानाप्रति उपभोक्ताको माया र आकर्षण देखेर आज ऋषिराम मख्ख छन्।
'तुलसीपुरमा आज हाम्रो प्रतिस्पर्धा कसैसँग छैन। बरू आफैसँग छ,' उनले भने, 'हामीले पाएको माया बचाइराख्न थप परिष्कृत र व्यवस्थित कसरी बनाउने भन्ने चुनौती छ।'
ऋषिरामलाई थारू किचेन खोल्ने आइडिया श्रीमती र भाइले दिएका थिए।
उनी जमिनदारका छोरा थिए। तर कलिलै उमेरदेखि आफ्ना लागि आफै आर्जन गर्न सक्नुपर्छ भन्ने सोच्थे। त्यसैले काठमाडौंको शंकरदेव क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गर्नेबित्तिकै उनले ठूलोबुबाका छोरा दाजुहरूसँग मिलेर काम थाले।
उनी कैलालीमा खाद्यान्न (गल्ला) व्यापारमा लागेका थिए। व्यापार राम्रो चलिरहेको थियो।
तुलसीपुर घरमा उनकी आमा, श्रीमती गोमा वली चौधरी र छोराछोरी बस्थे। गोमाले ग्रामीण विकासमा स्नातकोत्तर र स्वास्थ्यमा एमएड गरेकी छन्। उनीसँग विभिन्न संघसंस्थामा काम गरेको २१ वर्ष लामो अनुभव छ।
पछिल्लो समय तुलसीपुरमै एक गैरसरकारी संस्थामा ७ वर्ष काम गरेकी थिइन्। डेढ वर्षअघि मात्र सो जागिर छाडेकी हुन्।
जागिर क्रममा उनले देश–विदेशबाट आएका पाहुनाले मौलिक र रैथाने खाना खोजेको देखेकी थिइन्।


त्यसैले उनी ऋषिरामलाई भन्थिन्, 'कति समय घरदेखि टाढा बसिरहने? परिवारसँगै बस्ने दिन कहिले आउँछ? आफ्नो थलोमै केही गरौं।'
ऋषिरामका काकाका छोरा भाइ राजेश चौधरीले पनि उनलाई हौस्याए। लामो समय गैरसरकारी संस्थामा काम गरेका राजेश हाल बैबाङमा होमस्टे चलाउँछन्।
घर नजिकै भएकाले देवर–भाउजूबीच ऋषिरामलाई जन्मथलो फर्काउनेबारे सल्लाह भइरहन्थ्यो।
त्यही बेला उनीहरूले राप्ती राजमार्गमै पर्ने डुम्री गाउँमा रहेको प्राविधिक क्याम्पस देखे। क्याम्पसले छाडेपछि संरचनाहरू प्रयोगविहीन थिए। करिब ४ कट्ठा क्षेत्रफल, पार्किङ सुविधासहितको जग्गा देखेर गोमा र राजेशको मनमा होटलको कल्पना आयो।
सल्लाह गरेर उनीहरूले ऋषिरामलाई आफ्नै ठाउँमा आएर गर्न काम गर्न भने। ऋषिरामलाई कुरा ठिक लाग्यो।
उनी सबै काम साझेदारको जिम्मामा छाडेर कैलालीबाट फर्किए। राजेश र गोमाले भनेको जग्गा मासिक ४५ हजार रूपैयाँ भाडामा लिए।
'श्रीमान–श्रीमती सँगै मिलेर काम गर्दा सफलता र खुसी दुवै मिल्दो रहेछ,' ऋषिरामलेभन्छन्, 'व्यस्त समयमा हामी आफै वेटरका रूपमा ग्राहकको सेवा गर्छौं। श्रीमती भान्सामा कुकहरूलाई पनि सघाउँछिन्।'
गोमा भान्सामा आलुको अचार, ढिक्री र रोटीजस्ता परिकार बनाउँछिन्।
'म थारूको बुहारी भएपछि धेरै रैथाने परिकार सासूआमाबाट पकाउन सिकेकी थिएँ,' गोमाले भनिन्, 'त्यसैले चापका समयमा भान्सामा अरूलाई सघाउन सक्ने भएकी छु।'
यही मेहनतले आज उनीहरू मासिक कम्तीमा दुई लाख रूपैयाँभन्दा बढी बचत गर्छन्। हालसम्म सबै गरी ५० लाख रूपैयाँ हाराहारी लगानी पुगेको ऋषिरामले बताए।
