झन्डै दस वर्षअघि सुनिल घिमिरे परिवारसहित भक्तपुरबाट बर्दिया घुम्न गएका थिए। बर्दिया राष्ट्रिय निकुञ्ज पनि वन्यजन्तुका लागि प्रख्यात छ भन्ने उनले सुनेका थिए।
घुम्दै जाँदा उनी जंगली जनावर ओहोरदोहोर गरिरहने खाता कोरिडर क्षेत्र मधुवन नगरपालिका–१ पत्थरबोझी पुगे। यो नेपाल र भारतका राष्ट्रिय निकुञ्ज जोड्ने ठाउँ पनि हो। त्यहाँको परम्परागत खेतीपातीमा रमाइरहेका थारूहरूको व्यवहार उनलाई औधि मन पर्यो।
काठमाडौं फर्किएपछि पनि बर्दिया र रैथाने थारूको जीवनशैली उनको स्मरणमा घुमिरह्यो। त्यसपछि उनी पटक पटक बर्दिया जान थाले।
'म त्यसपछि पाँच–छ पटक बर्दिया पुगेर प्राकृतिक सुन्दरता र थारू समुदायको जीवनशैली नजिकबाट नियालेँ,' उनले भने, 'हुँदाहुँदा मलाई त्यो ठाउँले मोहनी नै लगायो। अब म यही ठाउँमा केही गरेर बस्छु भन्ने हुन थाल्यो।'
उनी काठमाडौंमा लेखा परीक्षक तथा परामर्शदाताका रूपमा काम गर्थे। त्यसैले ठाउँ मन परेर मात्र भएन, बाँच्न आयआर्जन हुने काम गर्नुपर्थ्यो।
सुनिलले धेरै सोचे।
अनि एक दिन पत्थरबोझीको माटो हातमा उठाएर संकल्प गरे— अब म यही माटोमा एउटा सुन्दर रिसोर्ट खोल्छु।

सोही सोच बोकेर उनी भक्तपुर, थिमी नगरपालिका–३ सागबारीस्थित घर फर्के। उनका भाइ सुवास त्यहीँ फलफूल तथा तरकारी व्यापार गर्थे।
सुनिलले बर्दियामा रिसोर्ट खोल्ने योजना उनलाई सुनाए। सुवासले सुरूमै लगानी कहाँबाट ल्याउने भनेर सोधे।
सुनिलले भने— बैंकबाट कर्जा लिने। केही जग्गाजमिन बेच्ने। हालसम्मको कमाइ लगाउने।
केही बेर सोचेर सुवास पनि योजनामा सहमत भए।
त्यसपछि सुनिल पत्थरबोझी पुगेर जग्गा व्यवस्थापनमा लागे। चक्ला मिलेको दुई बिघा जमिन प्रतिकट्ठा १५ हजार रूपैयाँको दरमा पाए।
त्यसपछि २०७७ सालमा मधुवन नगरपालिकाबाट 'टाइगर भिल्ला' रिसोर्टका लागि अनुमति लिए र घरेलुमा दर्ता गरे। त्यो क्षेत्रमा दुर्लभ पाटे बाघ देखिइरहने हुँदा मिल्दो नाम राखिएको उनले बताए।
दुई बैंकबाट १० करोड रूपैयाँ कर्जा लिए। ऋण पाएपछि जग्गा किनेको ६ महिनाभित्रै टाइगर भिल्ला बन्न सुरू भयो। दुई वटा भवनमा गरी सुविधायुक्त २४ वटा कोठा बनाउन झन्डै ४ वर्ष लाग्यो।
२०८१ साउनदेखि रिसोर्ट पूर्ण सञ्चालनमा आयो।
यहाँको डाइनिङ हल र ट्रेनिङ हल 'ए' आकारमा बनाइएको छ। हरेक कोठामा फराकिला बरन्डा छन्।
'कोठाका झ्यालबाट बिहान सूर्यको न्यानो प्रकाश भित्रिन्छ। पूर्णिमाको रात बँदेल, मृगहरू खेतबारीमा डुलिरहेको देख्न सकिन्छ। कहिलेकाहीँ चितुवा र बाघसमेत देखिन्छ,' सुनिलले भने।
एकान्त र शान्त ठाउँमा रहेको यो रिसोर्ट आसपास घर तथा अन्य संरचना छैनन्, खेतबारी मात्रै छ।


'व्यस्त दैनिकी र बजारको कोलाहलभन्दा भिन्न शान्त वातावरणमा रम्न चाहनेका लागि टाइगर भिल्ला उपयुक्त गन्तव्य हो,' सुनिल भन्छन्।
यो क्षेत्र दुई देशका राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जको खाता कोरिडर क्षेत्र हो। जंगल सफारी गर्न, वन्यजन्तु अवलोकन गर्न र थारू संस्कृतिसँग रम्न चाहनेका लागि बर्दिया मुलुककै उत्कृष्ट गन्तव्य भएको उनी बताउँछन्।
रिसोर्टका म्यानेजर राजेन्द्र चौधरीका अनुसार यहाँ एक रात बास बसेको प्रतिव्यक्ति ३ हजार ४०० देखि ४ हजार ५०० रूपैयाँसम्म पर्छ। प्याकेजमा लिँदा दुई जनालाई कोठा, डिनर, ब्रेकफास्ट र स्वीमिङ पुलको ५ हजार ५०० देखि ६ हजार ५०० रूपैयाँसम्म लाग्छ।
शाकाहारी खाना ४५०, चिकेन खाना ५५०, लोकल माछा खाना ६०० र मटन खाना ६५० रूपैयाँमा पाइन्छ।
यहाँ लोकल भाले सिंगै पनि पाइन्छ। त्यसबाट पाहुनाको रूचि अनुसार ग्रेभी, झिरमा पोलेर, बारबिक्यू लगायत परिकार तयार गरिन्छ। यहाँ स्थानीय थारू परिकार ढिक्री पनि पाइन्छ।
रिसोर्टमा हरेक शनिबार स्थानीय थारू युवाले सांस्कृतिक नाचगान प्रस्तुत गर्छन्। पाहुनाको भिडभाड भए अन्य दिन पनि त्यस्तो प्रस्तुति गरिन्छ।
बुटवल पश्चिमदेखि धनगढी पूर्वका मानिस रिसोर्टमा बढी आउँछन्। त्यसपछि युरोपियन मुलुकका पाहुना बढी हुन्छन्।
टाइगर भिल्ला अझै पनि बनिरहेको छ। थप एउटा ट्रेनिङ हल र सुनिल आफै बस्न एउटा घर बनाइरहेका छन्।
'मलाई काठमाडौं बस्न मन छैन,' उनले भने, 'अब मेरो बाँकी जीवन बर्दियामै बिताउन चाहन्छु। त्यसैका लागि यो घर बनाइरहेको छु।'


गत वर्ष रिसोर्टमा एक करोड ७० लाख रूपैयाँ बराबरको कारोबार भएको सुनिलले बताए। धेरै लगानी भएकाले अहिले नै राम्रो नाफाको अपेक्षा छैन। तर खर्च कटाएर केही बचत हुँदा सन्तुष्ट लाग्ने उनी बताउँछन्।
रिसोर्टमा हाल २४ जना कर्मचारी छन्। उनीहरूमध्ये ३ जना एकल महिला र ५ जना बोल्न नसक्ने छन्।
रिसोर्टका म्यानेजर राजेन्द्र विगत दुई वर्षदेखि यहाँ काम गरिरहेका छन्। उनले कक्षा १२ पास गरेपछि विदेश जाने सोच बनाएका थिए। तर घरनजिकै राम्रो जागिर पाएपछि त्यहीँ रमाए।
'हाम्रो जस्तो दुरदराजको गाउँमा यत्तिको ठूलो रिसोर्ट खुलेको छ। यो समाजकै लागि खुसीको कुरा हो,' उनले भने, 'यसले गर्दा गाउँकै केहीले रोजगारीका अवसर पाएका छौं। देश–विदेशका मानिससँग घुलमिल हुन र धेरथोर भए पनि उनीहरूबाट सिक्न पाएका छौं।'
रिसोर्ट खुलेपछि जिल्लाकै विकट मानिने पत्थरबोझीमा चहलपहल बढेको स्थानीय वीरबहादुर चौधरी बताउँछन्।
गाउँमा पसल थपिँदै गएका छन् भने स्थानीय सागसब्जी, कुखुरा र हाँसले बजार पाएका छन्। त्यस्तै गाउँमा थप दुई वटा होटल खुलिरहेका छन्।
'यी दुई होटल पनि सञ्चालनमा आए पत्थरबोझीको महत्त्व थप बढ्छ। स्थानीय रोजगारी बढ्छ,' वीरबहादुरले भने।
उनी 'हामार थारू सांस्कृतिक नाच समूह' का नेतृत्वकर्ता पनि हुन्। हरेक शनिबार उनीहरू टाइगर भिल्लामा लठ्ठी नाच, सखिया नाचको पैंया र छोक्रा नाच देखाउँछन्।
स्थानीय गणेशपुर सिशहनिया सामुदायिक वनको कोषाध्यक्ष रहेकी सरिता बोहरा रिसोर्ट खुलेपछि रातदिन पाहुनाको ओहोरदोहोर बढेको र जंगली जनावरको त्रास पनि केही कम भएको बताउँछिन्।
'अहिले गाउँमा पहिलेजस्तो जंगली जनावर हात्ती र बाघको त्यति डर छैन,' उनले भनिन्, 'रातदिन गाउँमा मानिसको ओहोरदोहोर चल्नु र रिसोर्ट क्षेत्र उज्यालो भइरहँदा जंगली जनावर बस्ती पस्न डराउँदा रहेछन्।'
त्यस्तै रिसोर्ट खुलेपछि गाउँका मानिस सानोतिनो भए पनि व्यवसाय उन्मुख हुँदै गएको उनले बताइन्।
रिसोर्ट सञ्चालक सुनिल पर्यटन प्रवर्द्धनका लागि राज्यले सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने बताउँछन्। त्यस्तै सडक र बिजुली भरपर्दो बनाउनुपर्ने उनको भनाइ छ।

सबै तस्बिरः नारायण खड्का/सेतोपाटी।