दिकेश महर्जन स्नातक तेस्रो वर्ष पढ्दै गर्दा इन्टर्नसिप गर्न मलेसिया गएका थिए। ट्राभल एन्ड टुरिजम विषयका विद्यार्थी उनले त्यहाँ होटलमा काम गरे।
त्यही बेला उनलाई महसुस भयो — नेपाल स–साना सामानका लागि पनि विदेशमा निर्भर छ!
६ महिनापछि उनी नेपाल फर्के।
'मैले नेपालमै केही गर्छु, विदेश जान्नँ भन्ने निधो गरेँ,' २९ वर्षीय दिकेशले भने।
त्यसकै नतिजा, अहिले उनी श्रीमती एनीसँग मिलेर 'क्यारी' र 'कटन हेम्प क्रिएसन' नामका दुइटा ब्रान्ड चलाइरहेका छन्।
यी ब्रान्ड झोला (ब्याग) का हुन् र सबै आफ्नै कारखानामा बनाउँछन्। यहाँ महिला र पुरूष दुवैलाई हुने ब्याग पाइन्छ।
'दुवै ब्रान्ड ग्राहकले निकै रूचाएका छन्,' उनले भने।
दिकेशले मलेसियाबाट फर्किने बित्तिकै झोलाको काम सुरू गरेका भने होइन।
२०७४ सालमा स्नातक पूरा गरेपछि बुबा दसलालले उनका लागि घरमै ट्राभल एजेन्सी खोलिदिएका थिए। त्यसकै तल उनको परिवारले तीन दशकदेखि चियापत्ती तथा हस्तकला सामानको पसल चलाइरहेको थियो।
-1782837233.jpg)
-1782837232.jpg)
ट्राभल एजेन्सी खोलेको दुई वर्षमै कोरोना महामारी फैलियो र काम बन्द गर्नुपर्यो। त्यसपछि दिकेश पसलमै व्यस्त भए। ठमेलबाट टोट ब्याग, पर्सहरू ल्याएर बेच्न थाले।
कोभिडपछि नेपालमा अनलाइन व्यापार पेबढ्दै थियो।
'अनलाइन बजार दराजले हाम्रो सामान पनि राख्ने हो भनेर सम्पर्क गरेको थियो। हामीले सुरूमा पाँच प्रकारका चियापत्ती दराजमा राख्यौं,' उनले भने।
पसलमा नबिकेका चार वटा टोट ब्याग पनि दिकेशले दराजमा राखे जुन कम समयमै बिक्न थाल्यो। उनले बिस्तारै झोलाको संख्या बढाए।
कारोबारको केही पैसा बुबाले दिकेशलाई दिन्थे। त्यही पैसाले उनले थप ब्याग किन्दै दराजमा राखे।
'मैले जम्मा ५ हजार रूपैयाँबाट कारोबार सुरू गरेर कमाउन थालेँ,' दिकेशले भने।
दराजमा सबभन्दा धेरै टोट ब्याग बिक्थ्यो। दराजको सेल अफर 'इलेभेन इलेभेन' का बेला एक दिनमै ३०० वटाको अर्डर आयो। त्यसपछि दिकेशको कामले मात्र पुगेन। उनकी बहिनी, आमा, बुबाले सघाए।
बिस्तारै विभिन्न प्रिन्ट र डिजाइनमा माग आउन थाल्यो।
त्यो बेला उनी एक दिन पनि बिदा नलिई काम गर्थे।
'तर जीवनमा केही गर्न आनन्द र बिदा चाहिने रहेछ भनेर श्रीमतीले सिकाइन्,' दिकेशले भने।
-1782837232.jpg)
-1782837233.jpg)
त्यति बेला उनकी श्रीमती एनी भर्खरै जापानबाट फर्किएकी थिइन्। उनलाई पनि दिकेशसँगै व्यवसाय गर्ने इच्छा लाग्यो।
त्यसैले सन् २०२१ मा दुई जनाले पहिलो ब्रान्ड 'क्यारी' सुरू गरे। राम्रो गुणस्तरको र अलि महँगो कपडाको झोला बनाए।
त्यति खेर 'मून' डिजाइनको ब्याग निकै चलेको थियो। दिकेशले युट्युबबाट यस्तो ब्याग सिलाउन सिके र डिजाइन कारखानामा दिए। त्यो दिनकै ३० वटासम्म बिक्थ्यो।
तर होलसेल पसलहरू झोलाको भाउ महँगो भयो भन्थे। त्यसैले सस्तो झोला निकाल्न उनले सन् २०२४ मा पाटनमा अर्को ब्रान्ड 'कटन हेम्प क्रिएसन' सुरू गरे।
यसरी सुरू भएको कम्पनीको अहिले सबैभन्दा बढी बिक्ने 'बो' ब्याग हो। यो रिबनको फूलजस्तो आकारमा हुन्छ। दुई वर्ष अवधिमा यो १० हजार वटाभन्दा बढी बिक्री भइसकेको छ।
'कतिपय डिजाइन इन्टरनेटबाट लिन्छौं। कतिपय ग्राहकको माग अनुसार बनाउँछौं।
'गर्मीमा ब्याग धेरै बिक्छ। अनलाइन र स्टोरबाट मासिक कम्तीमा ३ लाखको सामान बिक्री हुन्छ,' दिकेशले भने।
-1782837233.jpg)
-1782837233.jpg)
-1782837233.jpg)
सबै तस्बिर- नवीनबाबु गुरूङ/सेतोपाटी