गत डेढ महिनादेखि नेपालमा छु।
यता आएको बेला भएभरका नाटक र फिल्म हेर्ने, छुटेका किताब खोज्ने र पढ्ने त पुरानै बानी हो।
यसपटक पनि त्यस्तै भयो।
आएको हप्ता नै काठमाडौंमा दुई नाटक र एक फिल्म हेर्न पाइयो— आकांक्षा कार्कीको 'सिक रूम', सोमनाथ खनालको 'मञ्जिरा' र चर्चामा रहेको चलचित्र 'ऊनको स्विटर'।
यसैबीच मैले पढ्न सुरू गरेँ बसन्त बस्नेतको उपन्यास 'सिमसारा'।
नाटक र फिल्मले आ–आफ्नै किसिमको प्रभाव छाडे।
सिमसाराले भने मलाई अर्कै किसिमको सम्झनाको संसारमा डुबायो।
मेरो बाल्यकालको स्कुले जीवनका धेरै सम्झनाहरू एकैचोटि फर्किए।
सिमसाराको पात्र संबते जस्तै, म पनि धेरैजसो एक्लो महसुस गर्थेँ।
हामी धरानको सुविधा सम्पन्न जीवनबाट गाउँ बेलबारी सरेका थियौं। धरानको ब्रिटिस क्याम्प पोखरा सरेपछि मेरो बुबा बेरोजगार हुनुभयो। हाम्रो क्वार्टर गुम्यो— कमोड ट्वाइलेट, बिजुली बत्ती, हप्तामा दुईचोटिको सिनेमा शो छुट्यो।
हामीलाई गाउँ सारियो र बाबु चाहिँ धरानै फर्किनुभयो।
घरमा आमा र म मात्र छोडियौं।
मेरी आमा प्रायः बिरामी परिरहनुहुन्थ्यो। घरको काम गर्न सक्नुहुन्नथ्यो। त्यसैले झन्डै संबतेलाई जस्तै गरी सबै जिम्मेवारी मेरो काँधमा आएको थियो।
म १३ वर्ष जतिको थिएँ होला।
हरेक बिहान चाँडै उठेर कुखुरा खोल्ने, सुँगुरलाई चारो पकाउने र हाल्ने, घर सफा गर्ने, खाना पकाउने काम गरेर विद्यालय जानुपर्थ्यो।
हाम्रो विद्यालय घरबाट ४५ मिनेटको पैदल दुरीमा थियो।
म प्रायः ढिलो पुग्थेँ। बिहानको 'एसेम्ब्ली' छुट्थ्यो र सजाय पाइन्थ्यो।
हरेक दिन कम्तीमा पाँच विषयको गृहकार्य हुन्थ्यो।
विद्यालयपछि घर फर्किन्थेँ। धेरैजसो भोकले छिटो हिँड्न सक्दिनथेँ।
घरमा पुगेपछि बिहानको बासी भात खाइन्थ्यो— चिसो भात, पिसेको खुर्सानी, नुन र अलिकति तोरीको तेल मिसाएर।
सायद धेरैले देशभरि त्यही गर्दा हुन्!

खाना साधारण थियो, तर त्यति बेला मलाई संसारकै स्वादिलो खाजा लाग्थ्यो।
त्यसपछि साँझको काम सुरू हुन्थ्यो। फेरि सुँगुरका लागि चारो पकाउने र खुवाउने, कुखुरा थुन्ने, आमा र मेरो लागि खाना पकाउने, भाँडा माझ्ने काम।
आमा चामलको भात खान सक्नुहुन्न थियो। त्यसैले उहाँका लागि म अलग्गै मकैको भात वा कोदोको ढिँडो मस्काउँथे।
दुई–चार छिमेकी त आइहाल्थे। कम्तीमा साँझमा चार–पाँच पटक।
आमा भन्नुहुन्थ्यो, 'मान्छेको घर त मान्छे आउँछ नि।'
अहिले सम्झिँदा, हो पनि जस्तो लाग्छ।
सबै जना उहाँलाई भनेर आउँथे सायद या उहाँको छ्याङको मायाले— मलाई थाहा भएन।
तर मलाई छ्याङ छान्दा र जुठो भाँडा धुँदाको दास्ती हुन्थ्यो। पाहुना आएको रिस उठ्थ्यो। आएपछि एक बटुको जाँड छानेर दिनैपर्थ्यो।
जब म आफ्नो कोठामा पुग्थेँ, अबेर रात भइसकेको हुन्थ्यो तर होमवर्क जस्ताको त्यस्तै।
पढ्न बस्थेँ, निद्रा लाग्थ्यो। झुल्न थाल्थेँ। बत्तीमा कपाल डढ्थ्यो। कहिलेकाहीँ किताबमै निदाउँथेँ।
बुवा आउनुभएको छ भने त 'बत्ती मार, बत्ती मार' भनेर कराउनु हुन्थ्यो।
मेरो अवस्था संबते भन्दा अलि फरक थियो।
म पहिलो वा दोस्रो छात्रा थिइनँ।
तर उसको आमा पनि ऊ पढ्न नजाओस् भन्ने चाहन्थिन्। मेरो पनि त्यस्तै।
कुनै दिन अलिअघि नै होमवर्क गर्न बसेँ भने आमाले 'तँलाई पढेरै पुगोस्' भनेर गाली गर्नु हुन्थ्यो।
धेरैजसो दिन गृहकार्य सक्दिनथेँ—विशेष गरी अंग्रेजी विषयको।
हरेक दिन कम्तीमा ३० वटा अंग्रेजी शब्दको अर्थ याद गर्नुपर्ने हुन्थ्यो, जुन म गर्न सक्दिनथेँ।
पूरै कक्षाको अगाडि सजाय पाइने पक्का हुन्थ्यो। विशेष गरी केटाहरूको अगाडि। त्यो तरूणी उमेरमा केटाहरूको अगाडि कुटाइ खाँदा मर्नु हुन्थ्यो। अपमानजनक हुन्थ्यो।
जान्नेले नजान्नेलाई गालामा चड्कन हान्नुपर्ने नियम थियो। कहिलेकाहीँ औंलाबीचमा कलम राखेर कसेर समात्नु हुन्थ्यो सरले। कहिलेकाहीँ कुखुराजस्तो घाममा बस्नुपर्ने स्कुल अगाडिको चौरीमा। वा लठ्ठी खाइन्थ्यो। या दुवै।
त्यसमाथि गालीको त कुरै नगरौं।
शिक्षक भन्नु हुन्थ्यो, 'लद्दु, जा आलु बेच्न! पढ्ने बेलामा केटा सोच्दै बस्यो होला।'
अनि पूरै कक्षा हाँस्थ्यो।
बिस्तारै म अंग्रेजी कक्षाबाट भाग्न थालेँ। अंग्रेजी कक्षाको समय खोलाको किनारमा जान थालेँ।
अरू थुप्रैको लुक्ने ठाउँ पनि रहेछ त्यो। पछि त हेडमास्टरले थाहा पाउनुभयो। समातिन थालियो। हेडमास्टरले अफिस लगेर सजाय दिनु हुन्थ्यो। तर कक्षाको अगाडि अपमानित हुनुभन्दा त्यो सजाय सजिलो लाग्यो। त्यसैले खोला जान छोडिनँ।
त्यसो त शिक्षकहरू पनि गाउँकै थिए।
उनीहरूलाई थाहा नभएको होइन— अधिकांश केटाकेटी खेतमा काम गर्नुपर्छ, घरको काम गर्नुपर्छ र आमाबाबुलाई सघाउनुपर्छ।
उनीहरूलाई आफ्नै लागि समय नै हुँदैन।
तर खोई कुन्नी, उहाँहरू कक्षामा आएपछि त्यो बिर्सिनु हुन्थ्यो किन?
अहिले यसो फर्केर हेर्दा, मेरो बाल्यकालमा एउटा रमाइलो सम्झना आउँदैन। सिवाय विद्यालय छोडेर खोला जानु वा सिनेमा हेर्न जानु।
केही विद्यार्थीहरू तेज थिए, तर उनीहरूले पढ्न समय कसरी मिलाउँथे, मलाई थाहा थिएन। सायद उनीहरूका घरमा सहयोगी थिए वा आमाबाबु शिक्षाको महत्व बुझ्थे।
उनीहरूले सधैं गृहकार्य गर्थे र शिक्षकका प्रिय हुन्थे। शिक्षकहरूले उनीहरूको खुब ध्यान दिन्थे। उनीहरूले अगाडि बस्न पाउँथे, प्रश्न सोध्न पाउँथे। शिक्षकहरू मुस्कुराउँदै उत्तर दिन्थे।
तर मैले केही प्रश्न गरिहालेँ भने, कड्केर प्रश्न आउँथ्यो, 'तिम्रो ध्यान कहाँ थियो?'
अनि सुरू हुन्थ्यो उपहास, 'हेर, यसलाई त यो पनि थाहा छैन! कसलाई थाहा छ, बुझाइदेऊ!'
अनि पूरै कक्षा हाँस्थ्यो।
पाठ स्पष्ट थियो— चुप लाग, पछाडि बस। बोल्नु हुँदैन।
यसरी म पछाडि बस्न र चुप लाग्न सिकेँ।
प्रश्न गर्न डर लाग्थ्यो, देखिन डर लाग्थ्यो।
अहिले पनि त्यो बानी गएको छैन। कुनै कार्यक्रममा पुगिहालेँ भने पनि अगाडि बस्न अझै आँट आउँदैन।

घरमा, छरछिमेकमा पनि खासै फरक थिएन। केही प्रश्नको उत्तर सिधा आउँदैन थियो।
पहिलो उत्तर हुन्थ्यो, 'हट्, खेल्, धेरै नबोल्, तिमीहरू बच्चै छौ, बुझ्दैनौ।'
स्पष्टता नहुँदा जिज्ञासा अझ बढ्थ्यो— त्यो गर्न मन लाग्थ्यो, छुन मन लाग्थ्यो, जान मन लाग्थ्यो।
दोस्रो, उत्तर घुमाउरो हुन्थ्यो— नबुझिने या अर्थै नलाग्ने।
एक पटक मैले आमालाई सोधेकी थिएँ— आमा, महिनावारी कसरी हुन्छ?
उहाँ मुस्कुराउँदै भन्नुभयो— प्याट आवाज आउँछ र निधारमा रातो टीका लाग्छ।
म अझै जिज्ञासु रहिरहेँ — बच्चा कहाँबाट आउँछन्?
उहाँ भन्नुहुन्थ्यो— बच्चा आकाशबाट आउँछ, भगवानले झार्नुहुन्छ।
म आकाशतिर हेर्थेँ।
वर्षौंपछि अमेरिका पुगेँ जहाँ केटाकेटीहरूसँग काम गर्ने मौका मिल्यो।
उनीहरूको आत्मविश्वास र खुलापन देख्दा, मेरो बाल्यकाल सम्झेर रून मन लाग्यो। इर्ष्या लाग्यो।
एउटा यस्तै भेटमा, एउटा बच्चाले आमालाई सोधेको थियो — आमा, बच्चा कहाँबाट आउँछ?
उनकी आमाले सरल भाषामा उत्तर दिनुभयो— बच्चा आमाको पेटमा हुर्किन्छ।
त्यो बेला गाउँका अधिकांश अभिभावक अशिक्षित थिए। मेरा पनि। उनीहरूले शिक्षकहरूलाई सबैभन्दा जान्ने र सक्षम व्यक्ति ठान्थे। त्यसैले हाम्रा आमाबाबुले हामीलाई खराब विद्यार्थी ठान्थे।
उनीहरू सोच्थे— हामीले पढाइमा ध्यान दिइरहेका छैनौं।
केही समयअघि म गाउँमा एक जना दाइ पर्नेको घर गएकी थिएँ। उहाँकी नातिनी करिब ६ वर्षकी रहिछिन्। भुइँमा किताबको थुप्रोबीच बसिरहेकी थिइन्।
मैले सोधें— तिमी कुन कक्षामा पढ्छौ?
उनले जबाफ दिइनन्।
लजाइन् सायद, मलाई फर्केर हेरिनन् पनि।
दाजुले पछि भन्नुभयो— एक कक्षामा पढिरहेकी छ।
म उनको नजिकै बसेँ। उनले गरिरहेकी गृहकार्यमा आत्मविश्वास गुमाइन्। भुइँमा कोर्न थालिन्।
मैले उनको अनुहारमा मेरो बाल्यकाल देखेँ।
उनको झोलामा हात उचाल्दा, मलाई नै गाह्रो भयो।
उनी कुनै अंग्रेजी स्कुलमा पढिरहेकी रहिछिन्। जब उनका किताबहरू पल्टाएँ, म छक्क परेँ। ती पाठ कक्षा चार–पाँचका जस्ता गाह्रो थिए। उनी भने एउटा वाक्य बनाउन पनि संघर्ष गरिरहेकी थिइन्।
मलाई डर लाग्यो— उनले भोलि पक्कै कुटाइ खानेछिन्।
अस्तिको दिन मात्र, एउटा बहिनी साथीले सुनाएकी थिइन्— उनकी छोरीलाई नौ कक्षामा समेत शिक्षकहरूले कुट्ने गर्छन्।
सिमसारालाई नै जस दिनुपर्छ, केही दिनयता, बेलबारीमा मैले केही शिक्षक साथीहरूसँग गफ गरेकी छु। १२ कक्षा भर्खरै पास गर्ने भदैनीसँग पनि कुरा गरेँ। थाहा भयो—अझै पनि ४५ मिनेटकै घण्टी, दिनमा ७/८ पिरियड नै पढाइन्छ।
बेलबारीकी बहिनी साथी करूणा पनि स्कुल पढाउँछिन्। ६ दिन लगातार एकपछि अर्को कक्षा। एउटा कक्षाबाट अर्कोमा जाँदा तयारी गर्ने समय नै हुँदैन। जति गर्यो, त्यो साँझ-बिहान हो।
तर उनी पनि विवाहित छिन्। घरमा नगर्दा पनि काम हुन्छ। कसरी गर्नु सात विषय पढाउने तयारी, बिहान–बेलुकाको एक घण्टामा?
मैले आफैलाई भनेँ— समस्या त म जस्ता विद्यार्थीहरूको मात्र होइन रहेछ, शिक्षकहरूको पनि उस्तै रहेछ।
त्यस्तोमा त्यो शिक्षकले एउटै नोट बनाएर वर्षौं नबाँडे के गर्छ?
'गाईको चार खुट्टा, दुई आँखा, दुई कान हुन्छ' भनेर नघोकाए के गर्छ?
ऊसँग विद्यार्थीलाई लिएर गाई हेर्न जाने, आ–आफ्नै किसिमले बुझ्न सिकाउने समय कहाँबाट आउँछ?
विद्यार्थीलाई मन लागेको प्रश्न सोध्न कहाँ दिन सक्छ?
उत्तर अध्ययन गर्न त उसलाई पनि समय चाहियो।
संबतले एसएलसी ड्रप गरेछ। म फेल भएकी थिएँ।
धन्न, लुकीलुकी भए पनि नाच्न छोडिनँ।
सिनियर क्लासले नाटक खेलौं भन्दा 'नाइँ' भनिनँ।
नत्र आज म के गर्थेँ?
हैट! सोच्दा सोच्दै कहाँ पुगेछु।
यो सिमसाराले पनि गर्नु गर्यो!
(आशा मगराती चलचित्र लेखक, निर्माता तथा अभिनेत्री हुन्।)