‘बाबा मलाई एउटा खुत्रुके किनिदिनु न। म त्यसबाट धेरै पैसा कमाउँछु,’ सानी छोरीले बाबुसँग कुरा राखी।
‘हुन्छ छोरी, म बेलुका घर आउँदा ल्याइदिन्छु है,’ बाबुले छोरीको टाउको सुमसुम्याउँदै भन्यो। छोरी फुरुक्क हुँदै खेल्न गई।
बाबु खाना खाएर कामतिर लाग्यो। घरमा खानेकुरा जम्मा गर्न बाबुलाई निकै गाह्रो थियो। हिजो काम गरेका ठाउँमा मालिकले एक सय रुपैयाँ इनाम दिएका थिए। त्यही पैसाले उसले आधा किलो उसिना चामल र एक पाउ दही किनेर ल्याएका थिए। आज त्यही खाना खाएकाले छोरी पनि धेरै खुसी थिई। सामान्यतया उसका घरमा चामलको भात कमै पाक्थ्यो।
बाबु माटाका भाँडाकुँडा बनाउँथ्यो। तिहार आउनै लागेकाले भाँडाको माग धेरै थियो। मालिकले अलिक बढी समय दिएर भाँडा बनाउन भनेकाले उसले हिजो पनि धेरै भाँडा बनाएको थियो। वर्षौँदेखि इमानदारीसाथ काम गर्ने कामदार भएकाले उसलाई मालिकले अलिक बढी माया गर्थ्यो।
हिजो आफ्नी छोरीको जन्मदिन भएकाले मालिकले उसलाई त्यही खुसीमा एक सय रुपैयाँ इनाम दिएको थियो। आज उसले मालिकले दिएको इनाम र छोरीको इच्छा सम्झँदै काम गर्न थाल्यो। उसलाई छोरीले म खुत्रुकेमा हालेर धेरै पैसा कमाउँछु भनेको वाक्यले छोयो। आफूले राम्रो खान र लाउन समेत दिन नसकेकामा चिन्ता पनि लाग्यो। माटो मुछिसकेर उसले एक पटक ढोगेर चक्र घुमायो र मनमनै प्रार्थना गऱ्यो, ‘आज म राम्रो गर्न सकूँ। छोरीलाई खुत्रुके किनिदिने पैसा आजै कमाउन सकूँ।’
उसले पहिले खुत्रुके बनाउने विचार गऱ्यो। उसले खुरुखुरु दश वटा खुत्रुके बनायो र त्यसमा विशेष खालका बुट्टा राखिदियो। अब उसले पाला बनाउने विचार गऱ्यो। ऊ पालाको ढाँचा तयार पार्दै थियो, एक जना ग्राहक आए र खुत्रुकेतिर हेरे।
खुत्रुके पोलेको त थिएन तर ती ग्राहक आकर्षित भएर भने, ‘आहा! कति राम्रो खुत्रुके! नयाँ खालको रहेछ नि! कति पर्छ? मेरा लागि पाँच सय वटा बनाइदिन सक्नुहुन्छ?’
‘म साहुजी होइन हजुर। साहुजीलाई सोध्नुहोस् न। अर्डर आए बनाउन त म बनाइहाल्छु।’
आफ्नो कुमालमा यस्तो खुत्रुके बनेका आजसम्म मालिकले नै देखेका थिएनन्। अझ एकै पटक यति धेरै खुत्रुके किन्छु भन्ने ग्राहक उनकहाँ आजसम्म आएका पनि थिएनन्। मालिकले असाध्यै खुसी हुँदै भने, ‘यो सामान्य खालको छैन। यसको दाम त अलिक महँगो पर्छ। हजुरलाई कहिले चाहिने हो?’
‘मलाई काग तिहारको दिन दिए हुन्छ। दाम तपाईंले भनेकै भयो। अलिकति बैना दिएर जान्छु। लिन म आफैँ आउँला।’
ग्राहकले बैना दिएर अर्डर पक्का गरे। मालिकले पैसा समाउँदै एक पटक खुत्रुकेतिर र अर्को पटक कामदारतिर हेरे। सायद उनले यस्तो व्यापारको कल्पना पनि गरेका थिएनन्। कामदार पाला बनाउन व्यस्त थियो। पचास वटा जति बनाइसकेको थियो। मालिकले यसो हेरे आज पाला पनि अलिक भिन्न र आकर्षक थिए।
उनले कामदारलाई भने, ‘ए बाबु! आज पाला नबनाऊ। यति धेरै खुत्रुकेको अर्डर आयो, त्यो बनाउनुपर्छ। पाँच सय वटा बनाएर पकाउन समय लाग्छ। भो त्यो छाड।’
उसले हात धोएर पुछ्दै हस् भन्यो र खुत्रुके बनाउन माटो मिलाउन थाल्यो। त्यही बेलामा अर्का ग्राहक आइपुगे र भने, ‘साहुजी! तिहारलाई अलिक राम्रो पाला पाइन्छ? कतै राम्रा छैनन्। मलाई एकनासका र आकर्षक चाहिने, पाइँदै पाइएन। अचेल राम्रा पाला पाइनै छाडे। हँ यहाँ त राम्रा छन् त! पालामा पनि बुट्टा? आहा! यस्तै पाला छन् त तपाईंसँग?’
‘छैनन्। अचेल पाला त्यति बिक्दैन। पालाका ठाउँमा बिजुली आयो। त्यति बनाएको थियो, खुत्रुकेको अर्डर आएकाले बनाउनै नै छाड्यो बाबुले,’ साहुजी बोले।
‘किन बिक्दैन? मलाई स्कुलमा केटाकेटीलाई संस्कार सिकाउनु छ। यस्तै बनाइदिन सक्नुहुन्छ भने म पाँच हजार लिन्छु। पैसा अहिले लिए हुन्छ, लक्ष्मीपूजाको अघिल्लो दिन पाला दिनू,’ ती ग्राहक एउटा ठुलै निजी विद्यालयका संस्थापक रहेछन्।
मालिकले यो अवसर छाड्न चाहेनन् र कामदारतिर हेरे। उसले सक्छु भन्ने भावले मुन्टो हल्लायो। खुसी हुँदै मालिकले अर्डर लिए।
‘हैन ए बाबु! आज त के हो, तिम्रो कलाले मेरो व्यापार खुब होला जस्तो छ। ल रातसाँझ कसरी बनाउँछौ, तिमीजस्तो अर्को मान्छे पनि छैन। म दुःख हेरौँला। काम गर है।’
कामदारको दिमागमा खुत्रुकेले पैसा कमाउँछु भन्ने छोरीको मिठो बोली मात्र घुमिरहेको थियो। उसले त्यही सोचेर हस् भन्यो र पाला र खुत्रुके बनाउन भिन्नाभिन्नै माटो तयार पाऱ्यो। आज उसले खाजा चिया केही खाएन। बेलुका आठ बजेसम्म काम गर्दा सय वटा खुत्रुके र पाँच सय पाला बनाइसक्यो। सधैँ छिटै निस्कने कामदार आज बत्ती बालेर काम गरिरहेको देख्दा मालिक पनि खुसी थियो।
हिँड्ने बेलामा कामदारले मालिकसँग भन्यो, ‘साहुजी! मेरी छोरीलाई एउटा खुत्रुके चाहिएको छ। यसको पिँध अलिकति फुटेको छ। मलाई यो दिनु नै है। पैसा रोजबाट कटाउनु।’
‘हैट के भन्छ। आफू यति राम्रा खुत्रुके बनाउँछ। झन् आज यत्रो व्यापार गरिदिएको छ, एउटा फुटेको खुत्रुके पनि पैसा तिरेर लान्छु भन्छ। खोजेर राम्रै लैजा। आफैँ बनाउनेले केको पैसा तिर्छ! छोरीलाई लगिदिने होला। बरु यो पैसा पनि खुत्रुकेमा हालेर लैजा। खुत्रुकेले पैसा कमाउँछ।’
अरू खुत्रुके थिएनन्। बाबुले त्यही लिएर घर गयो र छोरीलाई दियो। आफूसँग एक रुपियाँ रहेछ। त्यो पनि छोरीको खुत्रुकेमा हालिदियो र भन्यो, ‘अब तिमीलाई कसैले दिएको पैसा यसैमा हाल्नू है। यसमा हालेर धेरै कमाउनुपर्छ।’
छोरी फुरुङ्ग भई।
कामदारले रातदिन नभनी काम गरिदियो। काग तिहारका दिन मालिकले बोलाएर भने, ‘बाबु! यसपालि तिमीले साह्रै राम्रो व्यापार गरिदियौ। तिहार आउँदै छ, तिम्रो पैसा पनि यसपालि धेरै छ। यो चामल, तेल, दाल पनि लैजाऊ। पैसा दिनुपर्दैन। राम्ररी तिहार मनाऊ। अर्को तिहारमा अझै राम्रो व्यापार गर्नुपर्छ है। ल यो पैसा चाहिँ छोरीको खुत्रुकेमा हालिदिनु अनि देउसी खेल्न पठाउनू, म दक्षिणा दिउँला।’
कामदारको खुसीको सीमा रहेन। उसले यसको श्रेय छोरीलाई दियो र दाल, चामल, तेल बोकेर हतार हतार हिँड्यो।
यसपालिका दुवै अर्डर विद्यालयले लिएका रहेछन्। एउटा विद्यालयले खुत्रुके दिएर विद्यार्थीलाई बचत गर्न सिकाएछ। अर्को विद्यालयले पालामा दियो बालेर लक्ष्मी पूजा गर्न सिकाएछ। अरूले पनि राम्रा खुत्रुके र पाला किनेर लगेछन्।
तिहार सकिएपछि छोरीले भनी, ‘यसपालि तिहार कति राम्रो भयो है बाबा? सेलरोटी, भात, आहा! देउसी खेल्दा साहुजीले कति धेरै पैसा दिएको? त्यो पैसाले खुत्रुकेमा कति कमाइसक्यो होला! अब धेरै कमाएपछि मेरो बर्थ डे मनाउने है, शङ्कर अङ्कलकहाँबाट केक ल्याएर।’
बाबुले केही भन्न सकेन, केवल आँखा रसाए।
‘बाबा, हाम्रो घरमा अब सबैभन्दा पहिले कसको बर्थ डे आउँछ? मेरो त मङ्सिर १० गते हो।’
‘अब आउने आइतबार मेरो, त्यसपछि तिम्रो अनि फागुनमा आमाको।’
छोरी मुस्काई।
आज पनि बाबु काममा व्यस्त रह्यो। बेलुका साँझ परेपछि मात्र घर फर्क्यो। सधैँझैँ हातमुख धोएर ऊ खाना बनाउने ठाउँमा गयो। साहुले दिएका चामल बाँकी नै भएकाले उसको भान्सामा अहिलेसम्म भात नै पाक्थ्यो।
भित्र पस्नासाथ छोरीले बाबुको आँखा छोपी र भनी, ‘एकछिन हेर्न पाइँदैन है।’
उसले अलिक पर लगी र आँखा खोल्न लगाउँदै भनी, ‘ह्याप्पी बर्थ डे बाबा!’
साथमा उसकी आमाले पनि ताली बजाई।
बाबुले यताउति हेर्यो। स्टिलको सानो प्लेटमा तेल हालेर बात्ती बालिएको थियो। अगाडि सानो केकजस्तै पारेर पाउरोटी राखिएको थियो। भान्सामा खाना तयार थियो। छोरीको खुत्रुकेका फुटेका टुक्रा चाहिँ अलिक परबाट आफूलाई नै हेरिरहेका थिए।