कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यू,
चुरो कुराबाट सुरू गरौं — मंसिर वा पुसमा कांग्रेसको नियमित महाधिवेशन गर्न सम्भव छ भन्ने तपाईंलाई थाहा छ।
यो कुरा तपाईंलाई मात्र थाहा छैन, देशभरिका कांग्रेस नेता तथा कार्यकर्तालाई थाहा छ। अनि थोरै मात्र पनि राजनीतिक 'सेन्स' भएका र राजनीति गर्ने वा नगर्ने हामी सबै नेपालीलाई थाहा छ।
कांग्रेसको केन्द्रीय समितिमा यति धेरै दिनदेखि चुनावअघि महाधिवेशन गर्न सकिँदैन भन्ने माथापच्ची र प्रहसन किन चलिरहेको छ? त्यसको अध्यक्षता तपाईंले किन गरिरहनुभएको छ?
कांग्रेसमा इमान र दृढतासाथ लामो समयदेखि उभिएका थोरै नेतामा तपाईं पनि पर्नुहुन्छ। त्यो राजनीतिक पुँजी किन अहिले ध्वस्त पार्न चाहनुहुन्छ? दलभित्र र बाहिरका मानिसहरूलाई 'उल्लू' ठानेर बेकारमा आफ्नो कद किन घटाइरहनुभएको छ?
अब एकछिन 'रियल पोलिटिक्स' को कुरा गरौं।
राजनीति निर्मम हुन्छ र त्यसमा हरेक राजनीतिज्ञका स्वार्थ हुन्छन्। तपाईंको स्वार्थको पनि कुरा गरौं।
शेरबहादुर देउवाले तपाईंलाई कार्यवाहक सभापति बनाएका हुन् — जुनसुकै बेला त्यो फिर्ता लिन सक्छन्। समय घर्किसकेका '६ भाइ' नेताहरू आफूहरूमध्येबाटै कोही सभापतिको उम्मेदवार बनोस् भन्ने चाहनामा छन्।
तपाईंलाई जिम्मेवारी दिएपछि उनीहरू 'डन्डा' लिएर ढोकामा उभिएका छन् — खबरदार, चुनावअघि महाधिवेशन गर्ने होइन! देउवाको चाहना विपरीत केही गरे तपाईंलाई कृतघ्न ठहर्याएर कार्यवाहकको खिताब खोस्न सक्छन्। त्यसैले तपाईं डराउनुभएको छ र उनीहरूले भनेबाहेक एक इन्च पनि तलमाथि गर्ने पक्षमा हुनुहुन्न।
'रियल पोलिटिक्स' को एउटा कोण यही हो।
तर अर्को झनै महत्त्वपूर्ण कोण पनि छ।
लोकतन्त्र र राजनीति जुन संगीन मोडमा छ, तपाईंहरूले भनेको मान्ने र तपाईंहरूले चाहेको प्रस्ताव पास गर्ने केन्द्रीय समितिको चाहनाले मात्र नेपालको राजनीति धान्न सक्दैन।
केन्द्रीय समितिभन्दा माथि महासमिति सदस्यहरू छन्। कांग्रेस पार्टीका देशभरि लाखौं कार्यकर्ता छन्। कांग्रेसलाई गएको निर्वाचनमा भोट दिने २५ लाखभन्दा बढी मतदाता र शुभेच्छुकहरू छन्। कांग्रेस पार्टीभन्दा माथि लोकतन्त्र छ। र, त्यसभन्दा माथि देश छ — जसको सर्वोत्तम हित होस् भनेर हामीले लोकतान्त्रिक पद्धति छानेका हौं।
कार्यवाहक सभापतिज्यू, एउटा राजनीतिज्ञका रूपमा तपाईंको स्वार्थ आज कांग्रेस पार्टी, लोकतन्त्र र मुलुकका स्वार्थसँग मेल खाइरहेको छ कि छैन? तपाईंले आज कांग्रेसमा जे तमासा चलाइरहनुभएको छ वा चल्न दिनुभएको छ, त्यो तपाईंको आफ्नै 'enlightened interest' मा छ कि छैन?
तपाईंले मसिनोसँग विश्लेषण गर्नुपर्ने र बुझ्नुपर्ने त्यही हो भन्ने मलाई लाग्छ।
एउटा पत्रकार र राजनीतिक 'अब्जर्भर' का रूपमा कांग्रेसलाई बाहिरबाट हेर्दा म के देख्छु भने — यो तमासा बन्द गर्न सक्ने ठाउँमा तपाईं हुनुहुन्छ। र, यो बन्द गर्नु नै तपाईं, कांग्रेस र मुलुकको स्वार्थ अनुकूल छ।
त्यसैले मेरो आग्रह छ, तपाईं आफ्नो र मुलुकको स्वार्थका लागि बलियोसँग उभिनुहोस् र देउवा र '६ भाइ' लाई भन्नुहोस् — पुससम्म नियमित महाधिवेशन गरौं, त्यो गर्न सम्भव छ। मलाई सभापतिमा समर्थन गर्नुहोस्, तपाईंहरूको साझा उम्मेदवारका रूपमा म उठ्छु र जित्छु भन्ने मेरो आशा छ।
कार्यवाहक सभापतिज्यू, तपाईं र सबै कांग्रेसीहरूले बुझ्न जरूरी छ — देउवालाई सभापतिमा राखेर र उनले संसदको टिकट बाँडेर कांग्रेसले आगामी निर्वाचन लड्न सक्दैन। कांग्रेस र कांग्रेसका उम्मेदवारको सारा समय र ऊर्जा देउवाको घरमा जलेको पैसाको प्रतिरक्षा गर्दागर्दै सकिनेछ। 'एआई हो, एआई' भन्दाभन्दै सकिनेछ। मानिसहरू हाँस्नेछन्, तर विश्वास गर्ने छैनन्। जेनजी आन्दोलनको सबैभन्दा शक्तिशाली र मानिसले सम्झिरहने भिडिओ नै त्यही हो।
त्यसैले कार्यवाहक सभापतिज्यू, सक्नुहुन्छ भने तपाईंले देउवालाई यो पनि भन्नुहोस् — अहिले तपाईंकै धेरै समर्थक नेताहरू चुनाव लड्न खुट्टा कमाइरहेका छन्। तपाईंलाई सभापति राखेर हामी चुनावमा जाने हो भने कांग्रेस पत्तासाफ हुनेछ। त्यसले आगामी संसदको र समाजको शक्ति सन्तुलनमा ठूलो असर पार्नेछ। त्यो हारपछि हुने महाधिवेशनमा मैले वा '६ भाइ' मध्ये कसैले पनि जित्न सक्ने छैनौं। त्यसैले अहिले महाधिवेशन नगर्नु भनेको हामी र पार्टी दुवैलाई बर्बाद गर्नु हो। हामी पनि सकिने, पार्टी पनि सकिने बाटोमा किन जानू?
तपाईंले आँट गरेर यसो भन्नुभयो भने पनि देउवाले तपाईंको कार्यवाहक खोस्न सक्दैनन्। त्यतिखेर '६ भाइ' पनि तपाईंविरूद्ध उभिन सक्ने छैनन्। तपाईंसँग कार्यवाहक सभापति खोसेर महाधिवेशन टार्ने तागत उनीहरूसँग हुने छैन। तपाईंको अडानले कांग्रेसभित्रको शक्ति सन्तुलनलाई जबरजस्त रूपमा महाधिवेशनको पक्षमा उभ्याउनेछ।
मेरो आग्रह यति मात्रै हो — कांग्रेस, लोकतन्त्र, मुलुक र आफ्नो हित एउटै रेखामा आएर टक्क अडिएको छ भन्ने यथार्थ तपाईं आत्मसात गर्नुहोस् र निर्णय लिनुहोस्।
आवश्यक पर्यो भने, भदौ २४ गते ध्वंश गरिएको कृष्णप्रसाद भट्टराई (किसुनजी) को ललितपुर, बाँडे गाउँस्थित आश्रम जानुहोस् र नेपाली राजनीतिका सन्तलाई साक्षी राखेर निर्णय गर्नुहोस्। किसुनजीले त पाउने र गुमाउने केही थिएन भने तपाईंले पनि गुमाउने केही छैन भन्ने अनुभूति गर्नुहुनेछ।
अब एकछिन तपाईंसामु खडा भएको राजनीतिक, नैतिक र कांग्रेस विधानको प्रश्नको कुरा गरौं।
कांग्रेसको महाधिवेशन सामान्यतया चार वर्षमा हुने हो। विशेष परिस्थितिमा मात्र सभापतिले एक वर्ष थप्न सक्छन्। आजको विशेष परिस्थिति के हो, थाहा छ कार्यवाहक सभापतिज्यू?
भदौ २३ र २४ गते नेपालमा जे भयो र त्यसले जुन राजनीतिक परिस्थिति उत्पन्न गर्यो, त्यही हो आजको विशेष परिस्थिति। भदौ २३ गते महाधिवेशन गरेको तीन वर्ष मात्र पुगेको भए पनि पार्टी सभापतिले राजीनामा दिएर नयाँ महाधिवेशन गर्नुपर्ने विशेष परिस्थिति त्यसले निर्माण गरेको हो। किनभने, त्यो दिन जुन सत्ता गठबन्धनको धुरीमा दुई शीर्ष नेता थिए, उनीहरूको औचित्य सकिएको थियो।
भदौ २३ गतेको आन्दोलन एक दिनको उपज होइन। वर्षौंदेखि आम मानिसमा थुप्रिएको असन्तोष र आक्रोशको परिणाम थियो त्यो। लगातारको कुशासनको परिणाम थियो। दुई प्रमुख दलका धुरीमा बसेर केपी शर्मा ओली र शेरबहादुर देउवाले त्यो असन्तोषको आयाम बुझेनन्। कुशासन हटाउने प्रयत्न गरेनन्। जनतासँग वाचा गरेर पनि कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि सुधार सुरू गरेनन्। आजका दिनमा पनि सुधारसँग उनीहरूलाई कुनै सरोकार छैन। त्यसैले उनीहरूको औचित्य सकिएको छ।
कुनै भावावेशमा आएर होइन, सोचविचार गरेर नै सेतोपाटीले भदौ २३ गतेको साँझ सम्पादकीय लेखेको थियो — ओली र देउवाको औचित्य सकियो।
त्यो सम्पादकीयमा हामीले अरू धेरै कुरा र व्याख्या गरेका थियौं। साथै लेखेका थियौं —
सबै मानिसहरू समयका उत्पादन हुन्। समयले नै उनीहरूको उत्पत्ति गर्छ र समयले नै उनीहरूको विनाश गर्छ।
महाभारतको शान्ति पर्वमा भनिएको छ —
कालः सृजति भूतानि कालः संहरते प्रभुः।
कालः सुप्तेषु जागर्ति कालो हि दुरतिक्रमः॥
यसलाई अहिलेको प्रसंगमा यसरी भन्न सकिन्छ —
व्यक्तित्वको उत्पत्ति समयले गर्छ र उनीहरूको संहार पनि समयले नै गर्छ। समय कसैले रोक्न सक्दैन, किनभने सबै सुतेका बेला पनि समय जागा नै हुन्छ!
यो पनि सत्य हो — हरेक मानिसले समय छँदै आफ्नो भूमिका निर्वाह गर्ने हो। आफ्नो कर्तव्य पूरा गर्ने हो। समयले कसैलाई पर्खिँदैन। समय सकिएपछि व्यक्ति जतिसुकै बलवान होस्, उसले केही गर्न सक्दैन।
यस कारण पनि हामीलाई लाग्छ — नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुरको देउवाको समय सकिएको छ। उनीहरूको औचित्य समाप्त भएको छ। भदौ २३ गतेको घटनामा प्रत्यक्ष संलग्न नरहे पनि नेपाली राजनीतिको बेथितिको केन्द्रमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को पनि समय सकिएको छ।
किनभने, अब यी तीन शीर्ष नेतालाई अघि लगाएर हाम्रो लोकतन्त्र अगाडि बढ्न सक्दैन। उनीहरूलाई धुरीमा राखेर तीन प्रमुख दल पनि कहीँ पुग्न सक्दैनन्। जनताले अब यसलाई स्वीकार गर्दैनन्। यो कुरा तीन दलका शीर्ष र अरू नेताहरूले जति चाँडो बुझ्छन्, उनीहरू, उनीहरूको दल र देशका लागि उति नै श्रेयस्कर हुन्छ।
तर अहिले पनि यो कुरा मान्न देउवा तयार छैनन्, न ओली छन् न प्रचण्ड।
यही कुरा कांग्रेसका '६ भाइ' का हकमा पनि लागू हुन्छ। दुर्भाग्य, उनीहरू पनि यो मान्न तयार छैनन् र कांग्रेसलाई डुब्न लागेको आफ्नै राजनीतिसँगै डुबाउन चाहन्छन्।
इतिहासका विभिन्न कालखण्डमा नेपाली राजनीतिमा उनीहरूले गरेको योगदानको म कदाचित अवमूल्यन गर्न चाहन्नँ। म यो पनि मान्छु कि, उनीहरूमा अझै पनि केही प्रकाश बाँकी छ। तर कांग्रेसका लागि त्यो सहायक उज्यालो मात्र हो, सहायक ऊर्जा मात्र हो। त्यो केही समय र केही पलका लागि मात्र हो।
चन्द्रागिरिको डाँडामा पुगेको घामको प्रकाशले सन्निकट अँध्यारो रोक्न सक्दैन। त्यो अँध्यारोले त्यो धिपधिपे उज्यालोलाई कुप्लुक्क निल्छ। बिहानको भरभराउँदो घामले मात्र कांग्रेस र देशमा जारी बेथिति र कुशासन चिर्न सक्छ, उज्यालो फैलाउन सक्छ। त्यसैले कांग्रेसले अब नयाँ नेताहरूमा आफ्नो भविष्य खोज्नुपर्छ।
देउवाले नमाने पनि, '६ भाइ' ले नमाने पनि, घामझैं छर्लंग यो तथ्य कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले ग्रहण गरेका छन्। आज कांग्रेस, लोकतन्त्र र मुलुकका संकटको आयाम बुझेका छन्। त्यसैले उनीहरूले विशेष महाधिवेशनको माग गरेका हुन्।
र, यो उनीहरूको अविभाज्य अधिकार हो।
सभापति, पदाधिकारी र केन्द्रीय समितिका सदस्य त्यही महाधिवेशनको वैधतामा टेकेर उभिएका छन्। महाधिवेशन प्रतिनीधिको म्याद सकिइसक्यो भनेर कतिपय नेताले तर्क गरेका छन्। शरीरको म्याद सकियो, टाउकोको मात्र बाँकी छ भन्ने तर्क टाउकोमा समस्या भएकाहरूले मात्र गर्न सक्छन्। मुलुकको अहिलेको संकटका आयाम आफ्नो टाउकोमा छिर्दै नछिर्नेहरूले मात्र गर्न सक्छन्।
कांग्रेसका कार्यवाहक सभापतिका रूपमा तपाईंलाई भने यो छुट छैन।
यो संकटबाट कांग्रेस र मुलुकलाई पार लगाउने बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको जागरूकता र वैधानिक हकको तपाईंले सम्मान गर्नैपर्छ।
त्यसैले कांग्रेसलाई पुसभित्रै नियमित महाधिवेशनमा लैजानुहोस्। सभापतिको उम्मेदवार बन्नुहोस्। गगन थापा पनि बन्लान्, शेखर कोइराला पनि बन्लान्। '६ भाइ' मध्ये कसैलाई मेरो समय अझै सकिएको छैन भन्ने लाग्छ भने उनीहरू पनि बन्लान्!
नियमित महाधिवेशनमा चुनिएर आउने नयाँ प्रतिनिधिले जसलाई भोलिको कांग्रेसको नेतृत्व गर्न लायक ठान्छन्, उसैलाई सभापति छान्छन्। र, उसैले कांग्रेस बदल्ने र मुलुक बदल्ने वाचा सहित कांग्रेसलाई आउने निर्वाचनमा लैजान्छ।
कांग्रेसले महाधिवेशनबाट नयाँ नेतृत्व छान्यो र चुनावमा जाने निर्णय गर्यो भने, त्यसले अहिले अलमलिएको राजनीतिलाई 'ट्र्याक' मा ल्याउन ठूलो भूमिका खेल्नेछ। अरू दल पनि निर्वाचनमा जानेछन् र ट्र्याकबाहिर गएको लोकतन्त्र लिकमा फर्किनेछ।
कदाचित, बहुमत महाधिवेशन प्रतिनिधिहरूको यो वैधानिक हक र जागरूकता लत्याउने र चुनावपछि मात्र महाधिवेशन गर्ने षड्यन्त्र जारी रह्यो भने विशेष महाधिवेशनको हक उनीहरूलाई हुनेछ। जस्तोसुकै विद्रोहको हक पनि उनीहरूलाई हुनेछ।
कार्यवाहक सभापतिका रूपमा त्यो विद्रोहको जबाफदेहिता इतिहासले सबभन्दा धेरै तपाईंसँग माग्नेछ। देउवालाई वा '६ भाइ' लाई देखाएर तपाईंले त्यसबाट उन्मुक्ति पाउनु हुने छैन।
यति कुरा तपाईंले मनन गर्नुभयो भने, देउवा र '६ भाइ' लाई महाधिवेशनमा लैजाने आँट र दृढता तपाईं भेट्टाउनु हुनेछ। अनि त्यो दृढता उनीहरूले लत्याउन सक्ने छैनन्।
कार्यवाहक सभापतिज्यू, देउवा वा '६ भाइ' को होइन, समयको चाल सुन्नुहोस्। त्यो तपाईं, कांग्रेस र मुलुकको हितमा छ।
***
(अमित ढकालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)