म ठ्याक्कै छयालीस वर्षको भएँ। नेपालको जनसंख्याको प्रकृति हेर्ने हो भने मभन्दा कलिलाहरू, मभन्दा बुढाहरूभन्दा दोब्बर संख्यामा छन्। यस अर्थमा म पनि बुढो वा पाको मध्येमा पर्दछु। मेरै परिवारमा हेर्ने हो भने पनि मभन्दा भर्खरकाहरूको संख्या उल्लेख्य रूपमा बढी छ। तर मेरो मन आफूलाई बुढो मान्न तयार नै छैन।
भर्खरको अर्थात् तन्नेरी देखिन म अनेक उपाय गर्छु। फुलेका दारी दैनिक काट्छु, कपाल कालो पार्छु। जीउलाई ठिकठाक देखाउन जिम, योगा गर्छु। फोटो खिच्दा पेट दबाएर छाती फुलाउँछु। भर्खरको देखिने आसमा अनुहारमा अनेक थोक दल्छु, अनेक थोक खान्छु।
यति गर्दा पनि आफूलाई भर्खरको देखाउन नसके मेरो हजुरबा अझै हुनुहुन्छ। बुवाआमा तन्दुरुस्त हुनुहुन्छ। देशको राष्ट्रपति मेरो बुबाभन्दा जेठो अनि प्रधानमन्त्री आमाभन्दा जेठी हुनुहुन्छ भन्छु। त्यतिले पनि नपुगे अमेरिकी राष्ट्रपति, चिनियाँ राष्ट्रपति, रसियन राष्ट्रपति, भारतीय प्रधानमन्त्री आदिको उमेरसँग आफूलाई दाँजेर भर्खरकै छु भन्ने ढोङ गर्छु।
वास्तवमै बुढो बन्न कसैलाई मन हुँदैन। मन नभए पनि प्रकृतिको नियम हो, सबैले बुढो हुनैपर्छ। म पनि हुँदैछु। मन्त्री, नेता आदि ठुला मान्छेहरू आफूभन्दा बुढाहरू देख्दा मलाई तन्नेरी नै छु भन्ने भ्रम थियो। हालैको जेन-जी आन्दोलनले मेरो त्यो भ्रम खरानी बनाइदियो। त्यसपछि मैले तथ्याङ्कहरू केलाउन थालेँ। जनसंख्याअनुसार नेपालको मध्यम उमेर सत्ताइस वर्ष रहेछ। त्यसअनुसार म नेपालको मध्यम उमेरभन्दा उन्नाइस वर्ष बुढो भइसकेको रहेछु। अनि विश्वकै मध्यम उमेर एकतीस वर्ष रहेछ।
यी तथ्यले मलाई उधुमै पीडा दियो। अनि आफू भर्खरकै छु भन्ने भ्रम पाल्न म छयालीस वर्षभन्दा बढी मध्यम उमेर भएका देशहरूको खोजी गर्न थालेँ। यसरी खोजी गर्दा दश–बाह्र राष्ट्रको मध्यम उमेर मेरो उमेरभन्दा बढी रहेछ। त्यही देखेर दङ्ग पर्दै आफू भर्खरकै छु भन्ने भ्रम पाल्दैछु। खोज्दै गर्दा मोनाकोको मध्यम उमेर ५६ र जापानको ५० वर्ष पाएँ। त्यसले मेरो मनलाई थोरै भए पनि सान्त्वना दियो र लाग्यो– जवान नै छु। त्यसले मेरो मुहारमा मन्द मुस्कान छायो।
मेरो मनले बुढो हुन मानेकै छैन। मानोस् पनि कसरी? छोरी एक कक्षामा पनि पुगेकी छैन, छोरीलाई आफैले खाना खुवाउनुपर्छ। भर्खरै आमाका दाजुले बिहे गर्नु भएको थियो, खैर बिहे परिस्थितिको आवश्यकता थियो। जे भए पनि ती कारणहरूले मलाई जवान छु भन्ने भ्रम पाल्न सहयोग गरेका थिए। खासमा मलाई जेन-जी आन्दोलनभन्दा पहिले जेन-जी पुस्ता भनेको सुने पनि वास्ता थिएन। आफू कलिलै छु भन्ने स्वाङ पारेर बाटोमा आफ्नै उमेरका जस्ता देखिने, अझ आफूभन्दा कलिला देखिनेहरूलाई पनि नलजाईकन दाइ, दिदी भन्थेँ।
हुन त यो मेरो मात्र बानी हैन रहेछ, समग्र नेपालीको नै त्यस्तै चलन रहेछ। अझ काठमाडौँ बस्ने कतिले त बेलुका खाना खाइसकेपछि बाउ/आमाको उमेरका मान्छेले भेटे पनि– ‘चिया खानुभो दाइ/दिदी?’ भन्ने गर्छन्। त्यो बानी मलाई उधुम मन पनि पर्छ। पहिलो बोल्ने/चासो राख्ने बानी भयो अनि आफू भर्खरकै छु भन्ने भ्रम पाल्ने बहाना पनि मिल्यो।
जेन-जी पुस्ताको विद्रोह अकस्मात थियो, नतिजा अप्रत्यासित आयो। अझ यसबाट सिर्जित विभिन्न आयामहरूको अवतरण हुन लामो समय लाग्ने देखिन्छ। कति विषयको सफल अवतरण होला, अरू कतिको नहोला। यसको सामाजिक, राजनीतिक, मनोवैज्ञानिक, आर्थिक आदि प्रभावहरू निकै गहिरा हुने देखिन्छन्। जेन-जी विद्रोहले भ्रष्टाचार, परिवारवाद, नातावाद, नेताराज, झोलेवाद, राजनीतिक विकृति, राजनीतिक नियुक्ति, कमिशनतन्त्रको जरैमा प्रहार गरेको छ। आशा गरौँ यसले विधिको शासन, पारदर्शिता, सुशासन, उत्तरदायी राजनीतिक संस्कृति र सक्षम नैतिकवान् नेतृत्व विकास गर्न मार्गदर्शन गर्नेछ।
जेन-जी विद्रोह होसमा भन्दा पनि जोसमा गरिएको विद्रोह थियो। यसले राजनीतिक नेतृत्वको संरक्षणमा फस्टाएका विकृतिहरूमा मात्र प्रहार गरेन। विद्रोह नेतृत्व विहीन र अनियन्त्रित हुँदा सार्वजनिक असुरक्षा, लुटपाट, हत्या, आगजनी, सार्वजनिक सम्पत्तिमा आक्रमण, दण्डहीनता, अराजकता आदि पनि बढायो। क्रान्तिका नाममा गरिने यस्ता अपराध विगतमा पनि भएकै हुन्, तर यस पटकका यस्ता अपराधहरूको सार्वजनिक जीवनमा दीर्घकालीन रूपमा गम्भीर असर पर्न सक्ने देखिन्छ।
जेन-जी विद्रोहका त्यस्ता नकारात्मक पक्ष र प्रवृत्ति प्रति सचेत हुनु आवश्यक छ। त्यस्ता कार्य र प्रवृत्तिको विरोध गर्नैपर्छ ताकि भविष्यमा यसबाट राम्रो पाठ सिक्न सकियोस्। गलत काम जसले गरे पनि गलत नै हुनुपर्छ– युवाले गरे पनि बुढाले गरे पनि, नेताले गरे पनि जनताले गरे पनि।
जेन-जी विद्रोह र त्यसपछिका घटनाक्रमहरू हेरेर मलाई अब आफू साँच्चै बुढो भएछु भन्ने लाग्न थालेको छ। ४६ वर्षे मेरो शरीर र मन जोसमा भन्दा होसमा काम गर्छ। कुनै काम गर्नुभन्दा पहिले परिवारको बारेमा सोच्छ, आफ्नो र परिवारको भविष्यका बारेमा सोच्छ। समाज र देशका बारेमा सोच्छ र परिपक्व निर्णयमा पुग्छ। विद्रोह गर्नेहरूको अनुहार हेरेँ, बोली सुनेँ। अनि आफूलाई बुढो ठानेँ। तर मेरो मनमा आफूलाई बुढो मान्दा पीडा भयो, जलन भयो।
मेरो मन आफूलाई बुढो मान्न मान्दै मान्दैन। अनि मेरो मनले आफूलाई तन्नेरी देखाउन भन्छ– ‘ती उरन्ठ्याउला आलाकाँचा ठिट्नाहरूले देश, दुनियाँ र समाज के बुझेका छन् र? यिनीहरूले देश भड्खालोमा हाल्छन्। यिनीहरूले आन्दोलन गरेर सत्ता पल्टाए पनि देश हाक्न र युवालाई मार्गदर्शन गर्न त मेरै पुस्ता चाहिन्छ।’
फेरि सोचेँ– ‘उमेरले मात्र मान्छे बुढो हुन्छ र?’
पक्कै हुन्न। उमेर र दायित्व सँगसँगै मानिसमा परिपक्वता आउँछ। आफ्ना अधिकारको मात्र कुरा गरिँदैन, उत्तरदायित्वका बारेमा पनि सोचिन्छ। युवाहरूको जस्तो अधिकार जति मेरो, दायित्व जति अरूको भन्न मिल्दैन।
अनि फेरि सोच्न थालेँ– ‘मान्छे के गरी बुढो हुन्छ?
विवाह गरेपछि बुढो हुन्छ कि, बच्चाबच्ची जन्मेपछि वा कपाल फुलेपछि?
छोराछोरी घर छोडेर हिँडेपछि कि नातिनातिना जन्मेपछि?’
जतिसुकै प्रश्न गरे पनि बुढो वा तन्नेरी छुट्याउने एउटै मानक मैले भेट्टाइनँ। छोराछोरी नजन्मेसम्म तन्नेरी हुने हो भने केपी ओली जवानै छन्। नातिनातिना जन्मेपछि बुढो हुने भए देउवा पनि तन्नेरी नै छन्। फेरि कर्णाली र गाँउघरका ती अनुहारहरू सम्झेँ जो चालिसकै हाराहारीमा चाउरी परेको अनुहार लिएर नातीनातिना खेलाउनुपर्ने बाध्यतामा छन्। के उनीहरू बुढा भए त? परिस्थितिले उनीहरूलाई बुढो बनायो, चाउरी परेको अनुहारले उनीहरूलाई बुढो बनायो, उमेरले नभए पनि।
बुढ्यौली मान्छेको स्वास्थ्य, रहनसहन, खानपान आदिले पनि निर्धारण गर्ला। रोगी मान्छे, राम्ररी खान नपाउने मान्छे शारीरिक र मानसिक रूपमा चाँडै बुढो देखिएलान्। शारीरिक र मानसिक रूपमा तन्दुरुस्त मान्छे उमेर ढल्किए पनि जवानै देखिएलान्। अझ, कृतिम संसारमा अनुहारमा अनेकथरी दलेर, अनुहारका चाउरी पुरेर पनि आँखालाई छल्ने गरी तन्नेरी देखिन सकिएला।
फेरि सोचेँ– ‘आँखाले अनुहारमा वा शरीरमा देखिने तन्नेरी वा बुढ्यौली त सबै भ्रम हुन्। मान्छे त आफ्नो सोच, विचार वा कर्मले बुढो वा भर्खरको हुने हो।’
वर्तमान आवश्यकता वा भविष्यको आकलन गरेर आफूलाई त्यसअनुसार परिवर्तन गर्ने वा गर्ने तत्परता राख्न सक्ने मानिस जवान हुन्छ। वर्तमानको आवश्यकतालाई नजरअन्दाज गर्ने वा भविष्यको आकलन वा आवश्यकता बुझ्न नसक्ने अनि परिवर्तनको आवश्यकतालाई दबाउन खोज्ने र परम्परागत तवरबाटै चल्न खोजे, आफ्नो परिधिभन्दा बाहिर गएर नसोचे मान्छे उमेरले बुढो नभए पनि सोचले बुढो हुन्छ।
दुनियाँ परिवर्तनशील छ। परिवर्तन सत्य हो। वैज्ञानिक चार्ल्स डार्विनले प्रतिपादन गरेको सिद्धान्तअनुसार परिवर्तनशील दुनियाँमा परिवर्तनअनुसार आफूलाई परिमार्जित गर्नेहरू टिक्छन्, मौलाउँछन्।
सबै परिवर्तन मलाई मन पर्दैनन्, मेरो स्वार्थ वा आवश्यकताअनुसार हुँदैनन्। सबै परिवर्तन असल नहुन पनि सक्छन्। मैले गलत कुरा वा गलत परिवर्तनको पहरेदारी, खबरदारी पनि गर्नुपर्छ। परिवर्तनअनुसार आफूलाई परिमार्जित नगर्नेहरू वा गर्न नसक्नेहरू हराउँछन्, बिलाउँछन्। म युवा हुन म मौलाउनुपर्छ, परिवर्तनअनुसार मैले आफूलाई परिमार्जित गर्नुपर्छ। नत्र बिलाउने भन्दा अर्को उपाय मसँग छैन। मेरो शरीरभन्दा पनि मेरो मन र सोच युवा हुनुपर्छ।