बेइजिङ डायरी
सन् २०२५ डिसेम्बर १२, शुक्रबार मध्यान्हदेखि बेइजिङमा लगातार १२ घण्टा हिउँ पर्यो। यो यामको पहिलो हिमपात भएकाले बेइजिङबासीले हिउँ सम्बन्धी विभिन्न खालका फोटो र भिडिओ सामाजिक सञ्जालमा सजाए।
हिजोआज सामाजिक सञ्जालमा फोटो र भिडिओ हाल्ने होडबाजी संसारभर नै चलेको छ। चीनमा फेसबुक प्रतिबन्धित भए पनि विच्याट, विइपो, क्युक्यू लगायत चिनियाँ सामाजिक सञ्जालमा सकेसम्म अनौठा फोटो र भिडिओ हाल्ने चलन छ।
अरूले हालेका अनौठा फोटा तथा भिडिओ आफ्नो खाताको भित्तामा टाँस्ने चलन पनि सामान्य नै मान्नुपर्छ।
शुक्रबार साँझ विच्याटमा एउटा फोटो निकै चर्चित भयो। (हेर्नुस् आवरण तस्बिर)
हिउँ परिरहेको पार्कमा एक जना व्यक्ति पलेँटी मारेर बसेका छन्। सेतो रङको पातलो पहिरन लगाएका ती पुरूषको कपाल लामो छ जसलाई गुजुल्ट्याएर जुरो बनाइएको छ। उनले दाह्री पनि पालेका छन्, ६ इन्च जति लामो होला। उनको कपाल र दाह्रीतिर आकाशबाट खस्दै गरेको हिउँ टाँसिएको देखिन्छ।
यति बेला बेइजिङमा निकै चिसो मौसम छ। चिसो मौसममा सबैले बाक्ला लुगा लगाउँछन्। महिलाले कुर्कुच्चासम्म पुग्ने ज्याकेट लगाउँछन्। त्यसमाथि हिउँ पर्दा चिनियाँहरूलाई पोसाकले पूरै छोपेको हुन्छ।
तर हिउँमा बसिरहेको ती व्यक्तिको लुगा पातलो छ। हिउँमाथि नै पलेँटी मारेर बसेको उनी ध्यान मुद्रामा छन्। कुनै फिल्मको दृश्य जस्तै अथवा आदिम युगका कुनै सन्त जस्तै लाग्ने ती व्यक्तिलाई चिनियाँहरूले अनौठो र हठी भनेर गिज्याएका पनि छन्।
बेइजिङमा हिउँमा मस्त ध्यान गर्ने ती व्यक्ति नेपाली युवा हुन्।

'गुरू अमर' नामले चिनिने योग प्रशिक्षक रमेश सिटौला यति बेला बेइजिङमा चर्चित बनेका छन्।
त्यसो त उनले एक साता अगाडि बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको 'ध्यानको अभ्यासमार्फत शरीर र आत्माको मिलन' शीर्षकमा लगभग दुई घण्टा प्रस्तुति दिएका थिए। दूतावासको सभाकक्षमा भेला भएका ७० जना चिनियाँलाई उनले चिनियाँ भाषामै योगबारे धाराप्रवाह प्रवचन दिए र योग सिकाए।
तिनै अमर गुरू हिउँ माथि बसेर ध्यान गरिरहेको फोटो बेइजिङमा चर्चित बनेको हो।
२०३६ असोज २२ गते नुवाकोटमा जन्मिएका रमेश सिटौलाको न्वारानको नाम अमर सिटौला हो। उनको प्रमाणपत्रको नाम रमेश भए पनि योग प्रशिक्षक भएपछि उनले आफ्नो न्वारानको नाम प्रयोग गरेर अमर गुरू राखेका छन्।
लामो दाह्री, पातलो शरीर, सुमधुर स्वर, मिठो मुस्कान, हँसिलो अनुहारका अमर झट्ट हेर्दा तीस वर्षका लक्का जवान जस्ता देखिन्छन्। तर उनले योग अभ्यास सुरू गरेकै तीन दशक बितिसकेको छ।
उनी बाल्यकालदेखि नै अनौठो चरित्रका थिए रे। भित्तातिर सुतुत्तु माउसुली जस्तो चढ्न सक्थे। दलिनमा चमेरोजस्तो खुट्टाले झुन्डिएर रहन सक्थे।
पाँच–छ वर्षको उमेरदेखि नै उनमा त्यस्तो असाधारण बानी देखेर आमाले विभिन्न मन्दिरमा लगेर पूजा गरेको उनी सुनाउँछन्।
बुबा गीता साधक भएकाले रमेश स्कुल पढ्दा नै भगवत गीता पाठ गर्थे। बुबा अहिले ९४ वर्षका भए। अझै पनि गीता साधना गरिरहेका रमेशले सुनाए।
बाल्यकालको अनौठो र असाधारण क्षमता नै उनको योगको प्रारम्भिक अवस्था थियो। उनका बुबाले यो क्षमता थाहा पाएरै सानैदेखि गीता साधना गर्न प्रोत्साहित गरे र उनको यात्रा योगासनतिर मोडियो।

रमेश पढ्न पनि तेजिला थिए। एसएलसीपछि त्रिचन्द्र कलेजबाट विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे। अनि कम्प्युटर इन्जिनियरिङमा स्नातक गरे।
पूर्वाञ्चल विश्वविद्यालयबाट सन् २००६ मा स्नातक गरेका रमेश सफ्टवेयर इन्जिनियर भए। केही समय वेबसाइट डिजाइन लगायत सफ्टवेयर बनाउने काम पनि गरे।
पछि उनले विश्वभाषा क्याम्पसमा दुईवर्षे चिनियाँ भाषा विषय पढे। अनि चिनियाँ पर्यटकको दोभासेका रूपमा काम गर्दै पर्यटक गाइड गर्न थाले।
उनी दोभासे मात्र भएनन्, चिनियाँहरूलाई योग पनि सिकाउन थाले। नेपाल अध्यात्मको केन्द्र हो र हिन्दु तथा बुद्ध धर्ममा ध्यान र अध्यात्मको ठूलो महत्त्व छ भन्ने बुझाउन उनले चिनियाँलाई ध्यान साधनाको रस चखाउन थाले।
पर्यटक गाइड भएका रमेश चिनियाँ पर्यटकलाई अन्तरमनको यात्रातिर 'गाइड' गर्न थाले।
उनीसँग भएका दुइटा गुणले चिनियाँहरू लोभिए।
पहिलो, उनीसँग चिनियाँ भाषाको राम्रो ज्ञान थियो।
दोस्रो, योग अभ्यासमा गहन रूचि र जानकारी थियो।
योग र ध्यानबारे त्यति बेला चीनमा थोरैथोरै चर्चा हुन थालेको थियो। नेपाल घुम्न गएका चिनियाँ पर्यटकलाई उनले निःशुल्क योग सिकाउँथे। अथवा पर्यटक गाइडको शुल्क तिरेपछि चिनियाँले बोनसमा योग र ध्यानबारे धेरथोर ज्ञान पाउँथे।
यहीबीच भारतको हरिद्वार गएर उनले दुई पटक योग–साधना अभ्यास गरे। पतञ्जली योगपीठ शिविरमा योग अभ्यास गरेर नेपाल फर्किए। बाल्मीकि क्याम्पसमा ६ महिनाको योग कक्षा पनि लिए।
पुर्खाबाट स्वअभ्यास गर्दै योगमा लागेका उनी सैद्धान्तिक रूपमा पनि खारिएपछि उनको प्रवचन क्षमता पनि वृद्धि भयो।

कहिले पतञ्जली त कहिले विपश्यना ध्यान शिविर गएर योग र ध्यान अभ्यास गर्दै अगाडि बढ्दा उनले सात वर्ष अगाडि योग प्रशिक्षण गर्न आफ्नै संस्था 'गुरूकुल योगाश्रम' स्थापना गरे।
उनले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट योग अभ्यासमा स्नातकोत्तर पनि गरेका छन्। उनी त्रिविमा यो विषयका पहिलो ब्याचका विद्यार्थी हुन्।
नेपाल घुम्न गएका चिनियाँ पर्यटकको समूहले रमेशलाई चीनमा निमन्त्रणा गरे।
सन् २०१२ मा उनी पहिलो पटक चीन आए र विभिन्न सहर भ्रमण गर्दै एक महिनासम्म योग र ध्यान सिकाएर नेपाल फर्किए।
दोस्रो पटक सन् २०१५ मा १५ दिनका लागि फेरि चीन आए र योग तथा ध्यान सिकाए।
त्यसपछि कहिले दस दिन, कहिले एक साता र कहिले दुई साता गरेर उनले ९ पटक चीनमा योग तथा ध्यान प्रशिक्षण गराएका छन्। उनी सिकाउन चीनका लगभग सबै ठूला पुगिसकेका छन्।
हरेक पटक पर्यटक भिसामा चीन आउने र योग तथा ध्यान सिकाएर फर्किने रमेश गत सेप्टेम्बरदेखि बेइजिङमै बसिरहेका छन्। यहीँ बसेर योग र ध्यानको प्रशिक्षण दिन थालेका छन्।
उनका १२ वर्षीय छोरी र श्रीमती पनि बेइजिङमै बसिरहेका छन्। उनकी छोरी पनि योगमा सिपालु छिन्। रमेशले छोरीलाई दुई वर्ष उमेर हुँदैदेखि नै योग सिकाउन थालेका हुन्।
अब बेइजिङ बसेर उनले चीनका विभिन्न सहर पुग्दै योग–ध्यान सिकाउनेछन्। त्यसका लागि उनले विशेष प्याकेज बनाएका छन्।
सुरूमा दुई घण्टा उनी चिनियाँलाई योग, ध्यान, अध्यात्म आदिबारे प्रारम्भिक जानकारी दिन्छन्। त्यसपछि इच्छुकलाई आठ–आठ घण्टाका दुइटा कक्षा लिन्छन्।

त्यसपछि तीन दिन, पाँच दिन, सात दिन गरेर कक्षा लिने उनको तयारी छ।
रमेशको अनुभवमा चिनियाँहरू योगमा असाध्यै रूचि राख्छन्। योग भनेको शारीरिक अभ्यास मात्र नभएर, मानसिक अभ्यास पनि हो भन्दै एकीकृत अभ्यासका रूपमा यसलाई अगाडि बढाएको उनले बताए।
चिनियाँहरूले योग गर्दा शरीरको लचकतालाई बढी ध्यान दिन्छन्।
'कठिन शारीरिक अभ्यास गर्ने तर मानसिक रूपमा आत्मामा छिर्न नसकेकाले मैले चिनियाँलाई योग सिकाउनुपरेको हो,' रमेशले भने।
मानसिक योगमा प्राणायाम साधना, नाद साधना, मन्त्र आदि पर्छन् जसले मान्छेको मनलाई आनन्द दिएर शरीर स्वस्थ र स्वच्छ राख्छ।
योग–साधनाभित्र रहेको ध्वनि चिकित्सामा रमेशसँग राम्रो सीप छ। नेपाली दूतावासले गरेको कार्यक्रममा पनि उनले ४० मिनेटसम्म ध्वनि चिकित्सामार्फत सबैलाई मन्त्रमुग्ध बनाएका थिए।
यसलाई नाद साधना भनिने जानकारी दिँदै उनले भने, 'मुख्य रूपमा सात वटा बोलबाट सुरू गरेर १२ वटा बोलसम्म प्रयोग गरिन्छ। बोलहरूका फरक फ्रिक्वेन्सी हुन्छन्। ३९६ हर्जदेखि एक हजार हर्जसम्मका बोल हुन्छन्।'
फरक बोलले मानिसभित्र फरक प्रभाव पार्ने र स्वास्थ्य समस्या अनुसार पनि कस्तो मान्छेलाई कुन बोल प्रयोग गर्ने भन्नेबारे ज्ञान हुनुपर्ने र यसले मानसिक स्वास्थ्यमा तुरून्तै सकारात्मक प्रभाव पार्ने उनले बताए।
उनले भने, 'योगमा पञ्चकोश हुन्छन्। अन्तमा पुग्ने चाहिँ आनन्दमय कोशमा हो। आनन्ददेखि परामानन्दमा पुग्नु नै योगको सबभन्दा उच्च प्राप्ति हो।'
योग गर्दा आहारविहार, विश्राम र अभ्यासको सन्तुलन गर्यो भने सफल हुन्छ। साधना अनुसार आहार पनि फरक हुन्छ। जस्तो रमेशले तन्त्र साधनाको दक्षिण मार्ग रोजेका छन्। त्यसैले उनी शाकाहारी हुन्।

उनले अहिलेसम्म हजारौं चिनियाँलाई योग–साधना सिकाइसके। चिनियाँले जत्तिकै फरर चिनियाँ भाषा बोल्छन्। योगमा आउने प्राविधिक शब्द तथा शारीरिक अवस्थालाई निकै सरल र सहज चिनियाँ भाषा प्रयोग गरेर बुझाउँछन्।
उनी गीताका श्लोकदेखि संस्कृतका शब्दलाई पनि चिनियाँ भाषामा अनुवाद गरेर बोल्छन्।
उनीसँग ज्योतिष विद्याको पनि राम्रो ज्ञान छ। यी सबै ज्ञानले गर्दा उनलाई चिनियाँले औधी मन पराएका छन्।
चिनियाँमाझ लोकप्रिय बनेका उनी भन्छन्, 'यही मौकामा म अध्यात्मको पवित्र भूमि रहेको आफ्नै मातृभूमि नेपालबारे प्रचार गरिरहेको छु।'
हिउँसँग पौठेजोरी खेलेर चिसो जित्न खोजेको हो भन्ने मेरो प्रश्नमा उनले निकै दार्शनिक र आध्यात्मिक जबाफ दिए।
'हठ गरेर कहीँ पनि जबरजस्ती जानु हुँदैन। हिउँमा योग गर्दा आफ्नो शरीरको तापक्रम बढाइदियो भने चिसो लाग्दैन। प्राण ऊर्जालाई उत्थान गरेर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सकिन्छ,' रमेशले भने।
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)