कर्मकल्चर
चुनावको मुखमा नेताहरूको मुख झन् धेरै चिलाउँछ। गाला राता पारी, औंला ठड्याउँदै उनीहरू एकले अर्कालाई थर्काउन थालेका छन्।
मैले मोबाइलमा देखेसम्म जो नेता छन्, ती सबै कोभन्दा को गम्भीर मुद्रामा छन्, चर्को बोली उनीहरूको अपरिहार्य शैली बनेको छ।
नेताहरूले जनतालाई आकर्षित गर्ने यही बेला हो।
जितेँ भने यो गर्छु भन्ने वाचाको फेहरिस्तलाई विश्वसनीय बनाउन बहस गर्ने, सवाल–जबाफ गर्ने, भाषणमा पनि प्रस्ट्याउने, बोलेर हुन्छ कि कराएर, घोक्रो सुकाएर हुन्छ कि माला र अबिरले छोपिएर! जनताका काम गरेजस्तो देखाएर हुन्छ कि नाचगान गरेर!
मोबाइलमा मैले फ्याट्ट देखेँ — ज्यादै क्रोधका साथ कोही यस्तो भनिरहेको कि अरू कसैले पनि जित्नु हुँदैन।
अर्को कुनै पार्टीले एक सिट पनि जित्नु हुँदैन रे! त्यस्तो आक्रोशको त कुनै उपचारै हुँदैन।
यसरी संसद एकलौटि पार्ने सोच आफैमा खतराको घन्टी हो।
केही गरी भोलि संसदमा त्यस्तो एकलौटि भएन भने फेरि जनतालाई घुर्क्याउन पाइने भयो — तपाईंहरूले एकलौटि जिताउनु भएन, त्यस कारण हामीले सोचेजस्तो काम गर्न सकेनौं।
जनतालाई नै थर्काउने सीमासम्म आफ्नो बोलीको बल प्रयोग गर्नु लोकतान्त्रिक होइन। हामीले संसदको निर्वाचन गर्न लागेको हो। संसद भनेकै सत्तापक्ष र प्रतिपक्ष सहकार्य गर्ने थलो हो। सरकारलाई जबाफदेही बनाउने मञ्च हो। त्यस्तो ठाउँमा 'अरू' देख्नै नसक्ने मानसिकता आफैमा एउटा समस्या हो। खासमा त्यो खतराको सूचकै हो।
अहिले जनताकहाँ जाँदा त प्रतिस्पर्धीहरू एक ठाउँ बसेर बहस गर्न नखोज्नेहरूले नै भोलि संसदमा अरू कोही नजितोस् भन्न थालेबाट उनीहरूको चरम एकांगीपन उजागर भएन त?
फ्यान फलोइङ धेरै भएका दुई जना मिलेर निर्वाचनमा जुन लहर ल्याउन खोजेका छन्, त्यसबाट हौसिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भन्दैछन्— कि पुराना पार्टीबाट देश बन्छ भन्ने अझै पनि मान्नुहुन्छ भने जिताउनोस् उनीहरूलाई। होइन भने उनीहरूलाई एक सिट पनि नदिनुहोस्।
उनीहरूले एक सिट पनि जित्नु हुँदैन भनेको के हो? कति साह्रो घुर्की हो?
पुराना पार्टीभन्दा नयाँ पार्टी के मानेमा फरक छ भन्ने उनीहरूले खुलस्त पार्न बाँकी छ। जबाफ दिन नखोज्ने तर ओठे जबाफ दिइरहने शैली एकतर्फी हो, यो संवादमुखी त होइन नै, अधिनायकी छनक हो।
यसै त सभापति र प्रधानमन्त्रीका उम्मेदवारबीच न कुनै हार्दिक सम्बन्ध छ, न बलियो विश्वासको आधार। न आपसी सम्मान र मैत्रीभाव, न विश्वासिलो सहकार्यको अनुभव।
यस्तो अपत्यारिलो सम्बन्ध कसरी चल्ला, त्यसका सर्त/आधार के होलान् भन्ने प्रश्न छलेर हिँडेकाहरूबाटै अरूप्रति कटाक्ष अस्वाभाविक हो।
उनीहरूको पार्टी पुरानाभन्दा के कसरी नयाँ हुन्छ भन्ने प्रस्ट्याउन सकेका छैनन्। जन्म मितिका हिसाबले भन्ने हो भने त कुलमान घिसिङ, हर्क साम्पाङ लगायतका पार्टीलाई नयाँ भन्न सकिन्छ।
आक्रोश फैलाउन सबभन्दा सिपालु पार्टीलाई नयाँ भन्न खोजिएको हो भने त्यो एउटा तर्क हुन सक्छ।
पुराना जति सबै खराब भएर हामी आयौं भन्नेहरूले कम्तीमा हामी कसरी फरक हुन्छौं भनेर जनतालाई भन्न सक्नुपर्दैन र?
नभनेरै काम चलेको छ भन्ने मान्ने हो भने त्यो पनि ठिकै छ।
भोलि संसदमा एकले अर्कालाई नियन्त्रण गर्लान् भन्ने हाम्रो लोकतान्त्रिक आश हो, तर अरूसँग संवादै गर्दिनँ भन्नेहरूले नै भोलि संसदमा हामी मात्रै हुनुपर्छ भन्नु शोभनीय भएन।
हो, सभापति र प्रधानमन्त्रीका उम्मेदवारको सामाजिक सञ्जालमा धेरै फलोअर छन्। उनीहरूका आक्रोश तुरून्तै भाइरल हुन्छन्। छोटा वाक्यमा सोझै र प्रत्यक्ष घोचपेच गर्ने चातुर्य भएका दुवै जनालाई अलगोरिदमले साथ दिएको छ। जमाना अनुसार जनभावना कज्याउन सकेका छन्।
जनताले तिनलाई कसरी मत देलान्, अब दिन आउनै लागेको छ। तर संकेत पनि राम्रो आओस् र विभिन्न सोच र प्रवृत्तिहरूबीच सहकार्य होस् भन्ने लोकतन्त्र पक्षधरहरूको चासो हुनु स्वाभाविक हुन्छ।
जनताको के मर्जी हुन्छ, त्यो त सबैले पालना गर्नुपर्ने नै छ!
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle