कफीगफ
उज्यालो हुन पाएकै थिएन, हामी हस्याङफस्याङ गरिसकेका थियौं।
त्यो सिरेटो लाग्ने उचाइमा त्यति सबेरै कान ढाक्ने टोपी नभए गलबन्दी तन्काउँदै हामी साइत छोप्न पहाडको कान्ला उक्लिरहेका थियौं।
जुन मोबाइल बाल्दै हामीले एकाबिहानैको अँध्यारो यात्रा तय गर्यौं, त्यही मोबाइल साइलेन्ट मोडमा राखेर पुग्नेवाला थिएन। त्यसलाई पूरै पर कुनामा थन्क्याउनुपर्ने भयो।
खोलो तरेपछि लौरो बिर्सेझैं, त्यसको कान निमोठेर झोलाको थाङ्नामा कोप्टो सुताइवरी हामी यथास्थानमा उभियौं।
अब मोबाइलको पर्दाको उज्यालो होइन, मानिसको हातको नशाको न्यानो चाहिएको थियो। अनि, हामी आपसमा बोल्ने होइन, खासखुस गर्ने पनि होइन, आफ्नो सास कसरी भित्रबाहिर गरिरहेको छ, उभिईउभिई नियाल्ने मनोदशामा मौन थियौं।
हामी जे काम गर्दै थियौं, त्यसमा प्रकृतिसँग एकाकार हुने अभ्यास थियो। त्यसमा कुनै विद्युतीय तरंग वा विकिरण प्रविधिको उपस्थिति नहोस् भन्नेमा चनाखो बन्नु थियो।
मिर्मिरे हुनुभन्दा अगावै, सखारैको कुरा हो।
खुल्दै गरेको क्षितिजको बदलिँदो रङ हेर्दै कल्पनाको सफा कागजमा जे चित्र कोर्यो, त्यही चराको प्वाँख सिउरेर उड्लाझैं गर्थ्यो!
जुन उचाइमा हामी उभिएका थियौं, त्यहाँबाट निलगिरि पर्वतमालाका सिसाकलमका डोबजस्ता डाँडाहरू ओरालो झर्दै, इरेजरले नमेट्दासम्म परपर तन्किरहेका थिए।
खेतीपाती गर्न खारिएका भिराला र तरेली परेका जमिनले उपत्यकाको आकार लिएका थिए। अँध्यारोमा छामछाम छुमछुम गर्दै अनुमान गर्न सकिने बिन्दूसम्म चिसो सानो सडक तन्किएको थियो। त्यसका बत्तीले बाटो देखाउँथे।
आफ्ना हात मिच्दै हामीले शरीरलाई न्यानो पार्न खोज्यौं। हामीभन्दा अगाडि आएर पानी तताउने साथीहरूको सहयोगमा बाल्टिनको पानी पनि न्यानो बनायौं।
मनतातो पानीमा थोरै बायोडाइनामिक ज्वरन राखियो।
त्यो ज्वरन पानीको अणु अणुसम्म पुगोस् भनेर घोल्नु थियो। र, सूर्योदय हुनुअगावै एक घण्टासम्म अनवरत घोलिसक्नुपर्ने थियो।
घडीको सुईको दिशामा एकपल्ट र उल्टो दिशामा अर्कोपल्ट गरी यसरी गति बाँध्नु थियो, जसबाट भुमरीको रचना होस्।
लगत्तै त्यसलाई लथालिंग पार्दा पानीभित्र यस्तो हुन्डरी मच्चियोस् कि त्यो थामिँदा मौन पहाडमा पानीको एकोहोरो प्रेमको पुकारा प्रसारित होस्।
एकोहोरो प्रेमको पुकारा प्रकृतिको आराधना हो भने मनमा व्याप्त बेचैनी विस्तारै विस्मयमा बदलिँदै जान्छ र दृश्यहरू मौन आवाजमा हृदयमा प्रकट हुन थाल्छन्।
बाहिरी संसारको सुन्दरता हामी आफैभित्र उत्पन्न हुने अनुभूतिहरूमार्फत खुल्छ भन्छन्।
पल साइमनको 'द साउन्ड अफ साइलेन्स' सम्झिन्छु;
हेलो अँध्यारो, मेरो पुरानो साथी,
फेरि तिमीसँग कुरा गर्न आएको छु म।
एउटा दृश्य बिस्तारै, चुपचाप सर्दै आयो,
म निदाइरहेका बेला आफ्ना बीउ छरेर गयो।
मेरो मस्तिष्कमा रोपिएको त्यो दृश्य
अझै पनि बाँकी छ,
मौनताको ध्वनिभित्र।
मेरा शब्दहरू मौन वर्षाका थोपाझैं खसे
र मौनताका कुवाहरूमा प्रतिध्वनित भइरहे!
त्यो गीत चुपचाप बस्नेबारे थिएन। मानिसहरू एकअर्काको नजिक भएर पनि टाढिँदै गएको अवस्थाबारे थियो।
मानिसहरू बोल्छन्, संवाद गर्दैनन्; सुन्छन्, बुझ्दैनन्; आफ्नै हातले बनाएका प्रविधि र प्रतीकहरूको पूजा गर्छन्, तिनैले दिइरहेको चेतावनी सुन्दैनन्।
सत्य बोल्ने आवाजहरू समाजमै उपस्थित छन्, तिनलाई सुन्ने संवेदना हराउँदै गएको छ। त्यसैले मौनता कुनै आवाजको अभाव होइन; संवाद, संवेदना र सम्बन्ध हराउँदै जाँदाको चरम अवस्था हो।
त्यही भाका बुझेजस्तै हामी आन्तरिक रूपमा नितान्त एक्लाएक्लै, तर सामूहिक सहकार्यमा, एकसाथ सांगीतिक सहचार्य गर्दै हातहरूको साङ्लो बेर्दै गतिमग्न थियौं।
एक पटकमा चार जना चार बाल्टिनमा हात घुमाउन निहुरिने र अरूले एकअर्काका हात समात्दै तिनै चार जनालाई घेरेर घुम्ने। घरि घडीको सुईको दिशामा, घरि उल्टो दिशामा।
भूमरी परेको पानी एउटा बाल्टिनमा घुम्दा अर्को बाल्टिनमा पानीको हुन्डरी मच्चिएको हुन्थ्यो, अर्कोमा पानी थामिएको हुन्थ्यो र अर्कोमा घडीको सुईको उल्टो दिशा समात्दै पानी तीव्र वेगमा घुमिरहेको हुन्थ्यो।
एकलासको खोलामा जसरी पानीमात्र बजेको सुनिन्छ, त्यो पहाडमा हामीले चोबलेका, भूमरी पारेका र हुन्डरी मच्चाएका बाल्टिनको पानी मात्र बोल्दै थियो। पानीको घरि मलिन, घरि वेगवान, घरि उग्र, घरि शिथिल, घरि मत्थर आवाज!
हामीले पालो बाँडेका थियौं। चुपचाप भुइँमा कुप्री पर्दै बाल्टिन घोट्नेले केही बेरमा पालो पाउँथ्यो र ऊ उभिएर पछाडि सर्दै साथीहरूको साङ्लोमा बाँधिन्थ्यो।
पालो आफै आउँथ्यो र आफै जान्थ्यो।
कसैले केही नभनी, पालो आएको र गएको बोल्दै नबोली, इशारै इशारामा हामी एउटा त्यस्तो लय पक्रिरहेका थियौं, जहाँ एकछिन पानी चोबल्ने र एकछिन पछाडि हटेर घुम्ने।
पानीलाई हामीले कोरस दिँदै थियौं र हामी आफै अर्केस्ट्रा बन्दै थियौं!
त्यो बिहान हामी एकान्तसँग सामूहिक एकालाप गर्दै थियौं।
हाम्रो त्यो एसियाली सहकार्यको चरमोत्कर्ष आउँदै थियो!
त्यो एक घण्टे मौन साधना चलिरहँदा बाल्टिनमा हामीले हात चोबल्दै पानी घुमाएको आवाज मात्र थियो कि हाम्रो सासको पनि? वा, हाम्रो उच्छ्वासको?
पूर्ण शान्तिको माहोलमा पानीका ती अविश्राम वेगहरूबीच पूर्वी आकाश बिस्तारै बदलिएको छनक आउन नपाउँदै कसैले सुसेलीको स्वर निकाल्यो।
अँध्यारोको बाक्लो कम्बल क्रमशः पातलो हुँदै, रङका धागाहरू फुस्किँदै खस्दै, आकाशलाई छिनछिनमा भयानक घटनामय बनाउँदै थिए।
त्यो चित्रमय आकाशमुन्तिर चराहरूको आवाज आउन नपाउँदै हामीमध्ये कसैले सुसेलीलाई सुस्तरी 'ओम मणि पद्मे हूँ' को भाका दियो। तर त्यो त्यहाँको मौनता चिर्न र पानीको खल्बली तोड्न थिएन।
त्यो सुललित सुस्केरा अरूका ओठमा पनि सर्दै गयो। सुन्दासुन्दै त्यो सुस्केरा अब सामूहिक स्वर बन्न थाल्यो। हाम्रा पुरूष र महिला, सराबरी ओठहरूबाट त्यो यसरी कोकिल बन्न थाल्यो, जसले हामीलाई आफ्ना न्यानिँदै गएका कसिला हात र अघिपछि गरिरहेका खुट्टालाई लय दिँदै गयो।
ओम मणि…!
मलिन आवाजमा त्यो सामूहिक मन्त्रोच्चारणले विराट प्रकृतिप्रति हामीभित्र क्रमिक रूपमा पैदा भइरहेको विस्मयरूपी प्रार्थना प्रकट गरिरहेको थियो।
बाल्टिनभित्रका हातहरूले पानीको गति बढाइरहेका थिए। बाहिर हामीलाई घुम्दै र घेरा हाल्दै प्रकृतिको प्रार्थना गरिरहेका सुसेलीहरूले त्यो पर्दा खुल्न लागेको विशाल रंगमञ्चलाई स्वागत गर्दै थिए।
त्यो पहाड पूरै संगीतमय मिर्मिरेमा मधुरो प्रकाशित हुने तरखर गर्दै थियो।
पानीको त्यो ठूलो खलबली, पानीको त्यो कोलाहलबीच म आफैँलाई सोधिरहेको थिएँ— मैले कहिल्यै किन यसरी शान्त क्षणहरूको यो अपूर्व रोमाञ्चकता अनुभव गरिनँ?
पानीकै बारेमा हामी कति सोच्छौं? पानी कति दृश्यमय, संगीतमय छ भन्ने कति हेर्छौं, कति सुन्छौं?
म सोच्दै गएँ— हामी एकान्तमा यसरी कति बस्न सक्छौं? के हामी आफैलाई सुन्न सकिरहेका छौं? बुझ्न खोजिरहेका छौं?
आफ्नो शरीरमा के भइरहेको छ, आफूलाई नियाल्न भ्याएका छौं? आफू को हौं, के हौं, कहाँबाट आएका हौं, के गर्न खोजेका हौं— आफैलाई पर्गेल्न, आफैलाई परीक्षण गर्न हामी चाहिरहेका छौं? हामी सकिरहेका छौं?
त्यो एकाबिहानको शान्त घटनाले मेरो सोचाइभित्र उथलपुथल ल्याइरहेको थियो।
त्यो आफ्नै मनको एकाग्रता थियो। प्रकृतिमा हरबखत गतिमान ध्वनि र दृश्यहरूको खैलाबैलाबीच आफ्नै मनका तरंगहरूसँग केही बेर एक्लै हुँदा, अरूले थाहा नपाउने गरी अँध्यारोमा भिजेका आँखा सफा भए!
त्यस्ता शान्त क्षणहरूमा हरेक क्रियाले अकल्पनीय रहस्य उद्घाटित गर्न थाल्छ। पानीलाई ध्यानपूर्वक हेर्ने, परिवर्तन टिप्ने र विभिन्न घटनाबीचको सम्बन्ध बुझ्ने प्रयास गर्ने हो भने कति कुरा खुल्दै जालान्!
बिहान पात, घाँस र माटोमा लागेको शीत देखिन्छ।
घाम लागेपछि ओस हराउँछ। पातको आकार, सतह र स्थान अनुसार त्यसको स्वरूप भिन्न देखिन्छ।
वर्षापछि पानी कहाँ जम्छ, कहाँ छिटो सोसिन्छ र कहाँ बगेर जान्छ? छापो हालेको माटो र खाली माटोको बनावट, जैविक पदार्थ र जीवहरूको उपस्थितिले पानीको व्यवहार कसरी बदल्छ?
घाम लागेपछि पोखरी, भिजेको माटो र बोटबिरूवामा पानीकै रूप कति फेरिन्छ! कुहिरो, तुवाँलो र बाफको रचना तथा विघटन, पानी तरलबाट वाष्पमा बदलिने प्रक्रिया— यी सबैलाई मौसम, ताप र हावाको गतिसँग जोडेर बुझ्न खोजे कति सुन्दर रहस्य देखिँदा हुन्!
मुहान, खोला वा खेतको कुलोमा पानी कसरी बग्छ? ढुंगा भेट्दा, मोडमा पुग्दा वा सानो खाडलमा पस्दा पानीको गति र भू–आकृतिको सम्बन्ध कसरी बदलिन्छ?
वैज्ञानिकका आँखाले हेरौं— त्यसका तथ्यहरू के हुन्? तथ्यहरू तुलना गर्दै, प्रश्न गर्दै र प्रमाण बटुल्दै सिद्धान्त बनाउन खोजिन्छ।
बालकका आँखाले हेरौं— कति कथाहरू आफै चञ्चल भई निर्दोष आँखामा प्रकट हुँदै आउँछन्!
बालकका आँखाबाट संसार चियाउन सिक्दै हामी आफ्ना थामिएका भूमरीहरूको कोलाहलबाट विस्मित बाल्टिनलाई विश्राम दिन्छौं।
पलपलको पर्याप्त प्रतीक्षापछि सूर्यको महान आगमन हुँदैछ। हाम्रो चिसो आङ कुत्कुत्याउन थालिसकेको छ।
शीतले भिजेका गरामा हुर्किरहेका सागपातको वायुमण्डललाई हामीले भर्खर फेटेको ज्वरन छर्किने भाँडाहरू तयार भइसकेका छन्।
तल कुहिरोमुन्तिर सहरहरू ब्युँझिँदै छन्। तिनलाई अघाउन्जेल खुवाउन यो पहाडमा परिश्रमीहरू जोतिन आउँदै छन्।
घाम लाग्दै छ। अब घामका फिँजरूपी हातहरूले काम गर्नेछन्। जे भूमरी पार्नुपर्ने हो, उनैले गर्नेछन्। पृथ्वीमा ऊर्जा छ्यालब्याल हुनेछ।
उज्यालोमा बिरूवाहरू कति दंग पर्छन्! पातहरूले भान्छा तयार गर्न पाउनेछन्। कीरा, मौरी, पुतली र चराको नाचगान सुरू हुनेछ।
हामीलाई त्यो सबै नियाल्न कहाँ समय छ र? हामी हतारमा छौं।
सहरतिरको कोलाहलमा फर्किन ढिलो भइसकेको छ!
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle