मानिसको जीवनको सबैभन्दा ठूलो विडम्बना के छ भने ऊ निरन्तर केही खोजिरहेको छ, तर आफूले वास्तवमा के खोजिरहेको छ भन्ने कुरामै ऊ स्वयं स्पष्ट छैन।
उसलाई आफ्ना हजारौं इच्छा र चाहनाको जानकारी छ, तर ती सम्पूर्ण चाहनाको गर्भमा रहेको मूल लक्ष्यको बोध छैन।
मानिसलाई अलि नजिकबाट नियालौं। ऊ जहाँ छ, त्यसभन्दा अगाडि पुग्न खोजिरहेको छ। ऊ जे छ, त्यसभन्दा केही बढी बन्न खोजिरहेको छ। ऊसँग जे छ, त्यसभन्दा केही बढी प्राप्त गर्न खोजिरहेको छ। वर्तमानको कुनै अवस्थाबाट भविष्यको अर्को अवस्थामा पुग्ने उसको प्रयास निरन्तर चलिरहेको छ।
एउटा सानो बालकलाई नै हेरौं। उसले जीवनको कुनै दर्शन अध्ययन गरेको छैन। तर ऊ पनि केही जान्न, केही प्राप्त गर्न र कहीँ पुग्न खोजिरहेको छ।
के हो त समस्त मानव जातिको यो अनवरत खोजी? के हो त्यो अतृप्त प्यास, जसले मानिसलाई जीवनभर गतिशील बनाइरहेको छ?
गहिरिएर हेर्दा मानिसको खोजीका मूलतः दुई आयाम देखिन्छन्।
पहिलो खोजी– दुःखबाट मुक्ति
आफैभित्र नियालेर हेर्नुहोस् त, के तपाईं दुःख चाहनुहुन्छ?
संसारका आठ अर्बभन्दा बढी मानिसका भाषा, धर्म, संस्कृति, विचार, विश्वास र जीवनशैली फरक छन्। तर एउटा विषयमा लगभग सम्पूर्ण मानव जातिको सहमति छ—कोही पनि दुःखलाई दुःखकै रूपमा प्राप्त गर्न चाहँदैन।
एउटी आमाले सन्तानका लागि रातभर जाग्राम बस्ने कष्ट स्वीकार गर्छिन्। विद्यार्थीले उज्ज्वल भविष्यका लागि कठिन परिश्रम गर्छ। खेलाडीले सफलताका लागि कठोर अभ्यास गर्छ। साधकले आत्मोन्नतिका लागि तपस्या गर्छ।
तर यी कसैको पनि अन्तिम लक्ष्य कष्ट होइन। कुनै ठूलो प्रयोजनका लागि उनीहरूले तत्कालको कष्ट स्वीकार गरेका हुन्।
पतञ्जलि योगसूत्रमा भनिएको छ— हेयं दुःखमनागतम्।
अर्थात्, भविष्यमा आउन सक्ने दुःख निवारण गर्न योग्य छ।
भगवान् बुद्धको साधनापद्धतिको आधारमा पनि दुःख, दुःखको कारण, दुःखको निरोध र निरोधको मार्गसम्बन्धी चार आर्यसत्य छन्।
बाइबलमा दुःखरहित अस्तित्वको परिकल्पना गर्दै भनिएको छ — परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब मृत्यु, शोक, विलाप र पीडा रहनेछैनन्।
चिकित्सा, विज्ञान, अर्थव्यवस्था, सामाजिक सुरक्षा र आध्यात्मिक साधनाका अनेकौं प्रयासभित्र दुःख निवारणको यही आधारभूत आकांक्षा कार्यरत छ।
तर मानिसको खोजी दुःखको अन्त्यमा मात्र समाप्त हुँदैन।
दोस्रो खोजी– परमानन्दको प्राप्ति
यदि दुःखबाट मुक्ति मात्र मानिसको लक्ष्य हुन्थ्यो भने जीवनको सम्पूर्ण दर्शन अर्कै प्रकारको हुने थियो।
मानिस दुःख नहोस् भन्ने मात्र चाहँदैन; ऊ आनन्दित हुन पनि चाहन्छ। त्यस्तो आनन्द, जुन कुनै क्षणिक उपलब्धिसँगै जन्मेर अर्को क्षण समाप्त नहोस्।
मानव सभ्यताका स्वर्ग, वैकुण्ठ, परमधाम र जन्नतसम्बन्धी धार्मिक अवधारणाहरूमा पनि दुःखरहित र आनन्दपूर्ण अस्तित्वप्रतिको आकांक्षा देख्न सकिन्छ।
तैत्तिरीय उपनिषद्ले भन्छ—
आनन्दाद्ध्येव खल्विमानि भूतानि जायन्ते।
आनन्देन जातानि जीवन्ति।
आनन्दं प्रयन्त्यभिसंविशन्ति।
अर्थात्, आनन्दबाट नै समस्त प्राणी उत्पन्न हुन्छन्, आनन्दद्वारा जीवित रहन्छन् र अन्ततः आनन्दमै प्रवेश गर्छन्।
उपनिषद्को दृष्टिमा आनन्द जीवनको आकस्मिक उपलब्धि मात्र होइन; ब्रह्मको स्वरूप हो।
बुद्ध भन्नुहुन्छ— निब्बानं परमं सुखं।
निर्वाण नै परम सुख हो।
बाइबलको वचन छ— मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण होस्।”
कुरानमा भनिएको छ— निश्चय नै, अल्लाहको स्मरणबाट हृदयले शान्ति प्राप्त गर्छ।
यी परम्पराका परम सत्यसम्बन्धी दार्शनिक मान्यता फरक छन्। तथापि सबैमा एउटा साझा सन्देश देखिन्छ—मानव जीवनको गहनतम तृप्ति इन्द्रियभोग र भौतिक उपलब्धिमा मात्र सीमित छैन।
दुःखबाट केही समयका लागि भए पनि मुक्ति त कुनै पनि नशा, लोभ या बेहोस बनाउने ओखतिले पनि दिन्छ! तर मानिस तबसम्म सन्तुष्ट हुँदैन, जबसम्म ऊभित्र दबिएको खुसी पूरै प्रकट हुँदैन!
यसरी, मानव जीवनको मूल खोजी दुःखबाट मुक्ति र परम आनन्दको प्राप्ति हो भन्ने स्पष्ट हुन्छ।
सुख, खुसी र आनन्द– अनुभूतिका तीन तह
१. सुख– इन्द्रीयको अनुकूलता
भोक लागेको बेला स्वादिष्ट भोजन पाउँदा सुख अनुभव हुन्छ। जाडोमा न्यानो र गर्मीमा शीतलता प्राप्त गर्दा सुख मिल्छ। सुन्दर दृश्य, मधुर संगीत र सुगन्धले पनि सुख दिन्छन्।
यस प्रकारको सुख इन्द्रीय र बाहिरी विषयको अनुकूल संयोगबाट प्राप्त हुन्छ।
स्वस्थ र सुविधापूर्ण जीवनका लागि यसको आफ्नै महत्त्व छ। तर यसको सीमा छ— यो बाहिरी परिस्थितिमा निर्भर छ।
भगवद्गीता भन्छ—
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ॥
इन्द्रीय र विषयको सम्पर्कबाट उत्पन्न हुने सुखदुःख आउने-जाने तथा अनित्य हुन्छन्।
आधुनिक मनोविज्ञानमा यससँग सम्बन्धित एउटा अवधारणा छ—Hedonic Adaptation, अर्थात् सुखद परिस्थितिप्रति क्रमशः अभ्यस्त हुने मनोवैज्ञानिक प्रक्रिया।
सन् १९७८ मा फिलिप ब्रिकम्यान र उनका सहकर्मीहरूले गरेको अध्ययनमा चिठ्ठामार्फत ठूलो धनराशि प्राप्त गरेका व्यक्तिहरू सामान्य व्यक्तिहरूभन्दा उल्लेखनीय रूपमा बढी खुसी पाइएनन्।
नयाँ घर, नयाँ गाडी अथवा नयाँ पदले प्रारम्भमा उत्साह दिन सक्छ। तर केही समयपछि त्यही उपलब्धि सामान्य लाग्न थाल्छ।
धन र सुविधाको महत्त्वलाई अस्वीकार गर्नु पर्दैन। तर तिनलाई जीवनको अन्तिम तृप्तिको एकमात्र आधार मान्नु विवेकपूर्ण हुँदैन।
इन्द्रीयजन्य सुखको समस्या सुख हुनुमा होइन, त्यसको अनिश्चितता र परनिर्भरतामा छ।
२. खुसी– मनको अनुकूलता
जीवनमा हामी यस्ता व्यक्तिहरू पनि भेट्छौं, जो हामीभन्दा कम स्रोतसाधन भएर पनि हामीभन्दा बढी खुसी देखिन्छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि नेपालमा अनेकौं परिवारले घर, सम्पत्ति र प्रियजन गुमाए। त्यस्तो पीडादायी परिस्थितिमा पनि कतिपय मानिसले परस्पर सहयोग, आत्मीयता, मुस्कान र आशाको भाव जीवित राखे।
यसको अर्थ उनीहरू दुःखी थिएनन् भन्ने होइन। बरू दुःखको उपस्थितिमा पनि मानिसभित्र आशा र खुसी अनुभव गर्ने क्षमता रहन्छ भन्ने हो।
बाहिरी परिस्थिति अनुकूल हुँदा इन्द्रीयलाई सुख मिल्छ। परिस्थितिप्रति आफ्नो दृष्टिकोणलाई विवेकपूर्ण बनाउन सक्दा मनमा खुसी जन्मिन सक्छ।
बुद्ध भन्नुहुन्छ—
सन्तुट्ठिपरमं धनं।
सन्तोष सबैभन्दा ठूलो धन हो।
आधुनिक मनोविज्ञानमा मानसिक स्थिरता र संज्ञानात्मक पुनर्मूल्यांकनका अध्ययनहरूले घटनाप्रति मानिसले अपनाउने दृष्टिकोण उसको भावनात्मक अवस्थाको महत्त्वपूर्ण निर्धारक हुने देखाएका छन्।
घटना बदल्न नसक्दा पनि घटनासँगको आफ्नो सम्बन्ध बदल्न सकिन्छ।
तर मानसिक खुसीको पनि सीमा छ। मन परिवर्तनशील छ। आज अनुकूल भएको मन भोलि प्रतिकूल हुन सक्छ।
त्यसैले मानिसको खोजी अझ गहिरो छ।
३. आनन्द– चेतनाको गहिराइ
मानिसले यस्तो आनन्द खोजिरहेको छ, जुन इन्द्रीय र मनका परिवर्तनशील अवस्थामाथि निर्भर नहोस्। जीवनका उतारचढावले त्यसलाई समाप्त गर्न नसकून्। बाहिरी उपलब्धि र अनुपलब्धताले त्यसको अस्तित्व निर्धारण नगरून्। त्यस्तो आनन्द, जसलाई मृत्युले समेत विचलित गर्न नसकोस्।
भगवद्गीताले ध्यानयोगको गहिरो अवस्थाको वर्णन गर्दै भन्छ—
सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम्।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः॥
जहाँ साधकले इन्द्रियभन्दा परको आत्यन्तिक सुख अनुभव गर्छ र त्यस तत्त्वमा स्थित भएपछि विचलित हुँदैन।
छान्दोग्य उपनिषद्ले अझ गहिरो उद्घोष गर्छ— यो वै भूमा तत्सुखं नाल्पे सुखमस्ति भूमैव सुखम्।
जो अनन्त छ, त्यही सुख हो। सीमिततामा परम सुख छैन।
यसरी अनुभूतिका तीन तहलाई बुझ्न सकिन्छ—
सुख इन्द्रीयको अनुकूलता हो।
खुसी मनको अनुकूलता हो।
आनन्द चेतनाको मौलिक पूर्णताको अनुभूति हो।
सुखका लागि परिस्थितिको व्यवस्थापन, खुसीका लागि मनको व्यवस्थापन र आनन्दका लागि चेतनाको गहिराइमा प्रवेश आवश्यक हुन्छ।
मानिसले तीनै तहका सुख खोजिरहेको हुन्छ। पहिलो प्रकारको सुखसँग त हामी सबै परिचित छौं। राजनीति, भौतिक विज्ञान र अर्थशास्त्रको विकासले दिने सुख पहिलो प्रकारको मात्र हो। व्यक्ति जति धनवान् भए पनि वा देशले जति विकास गरे पनि दोस्रो र तेस्रो प्रकारको खुसी कदापि बाहिरबाट आउन सक्दैन।
बुद्ध र खप्तड बाबा– सुविधाबाट चेतनाको समृद्धितर्फ
राजकुमार सिद्धार्थ गौतमसँग तत्कालीन समाजले सुख प्राप्तिका लागि आवश्यक ठानेका लगभग सबै साधन थिए— धन, राजकीय वैभव, पारिवारिक जीवन र प्रतिष्ठा।
तर यी सबैका बीच पनि उहाँभित्र एउटा गहिरो प्रश्न जीवित थियो— मानिस जन्म, जरा, रोग र मृत्युबाट उत्पन्न दुःखबाट कसरी मुक्त हुन सक्छ?
मज्झिम निकायको अरियपरियेसना सुत्त (२६) मा बुद्धले दुई प्रकारका खोजीको चर्चा गर्नुभएको छ— अनार्य खोजी र आर्य खोजी।
स्वयं नश्वर भएर नश्वर वस्तुहरूमै अन्तिम आश्रय खोज्नु अनार्य खोजी हो भने जन्म, जरा, रोग र मृत्युको बन्धनबाट मुक्त निर्वाण खोज्नु आर्य खोजी हो।
सिद्धार्थले राजकीय सुख छाड्नुभयो। तर कठोर तपस्याद्वारा शरीरलाई अत्यधिक कष्ट दिँदा पनि उहाँले खोजेको सत्य प्राप्त भएन। अन्ततः इन्द्रियभोग र आत्मपीडनका दुवै अतिलाई त्यागेर मध्यम मार्ग अवलम्बन गर्नुभयो र बोधि प्राप्त गर्नुभयो।
बुद्धको जीवनले सुख र सुविधाको विरोध गर्न सिकाउँदैन। बरू अनित्य वस्तुहरूमा नित्य तृप्ति खोज्ने हाम्रो प्रवृत्तिमाथि प्रश्न गर्न सिकाउँछ।
नेपालको आध्यात्मिक इतिहासमा खप्तड बाबाको जीवन पनि उत्तिकै प्रेरणादायी छ।
चिकित्साको ज्ञान र अनुभव भएका खप्तड बाबाले आफ्नो जीवनको लामो कालखण्ड हिमालयको एकान्तमा साधना, स्वाध्याय र चिन्तनमा बिताउनुभयो। बाहिरी सुविधा अत्यन्त सीमित रहेको खप्तडको प्राकृतिक परिवेश उहाँको गहन बौद्धिक तथा आध्यात्मिक कर्मभूमि बन्यो।
उहाँको प्रसिद्ध कृति 'विचार विज्ञान' ले मानिसको जीवनमा विचारको शक्ति, मानसिक अनुशासन र आन्तरिक विकासको महत्त्वलाई उजागर गर्छ।
खप्तड बाबाको जीवनले एउटा गम्भीर प्रश्न उठाउँछ—यदि आनन्दको एकमात्र स्रोत बाहिरी सुविधा हो भने मानिस किन स्वेच्छाले सुविधासम्पन्न जीवन छाडेर साधना र आत्मअन्वेषणमा समर्पित हुन्छ?
यसको अर्थ आनन्द प्राप्त गर्न सबैले गृहत्याग गर्नुपर्छ भन्ने होइन।
त्याग गर्नुपर्ने मूल कुरा संसार होइन, आनन्दका लागि संसारमाथिको हाम्रो अन्धनिर्भरता हो।
बुद्ध र खप्तड बाबाको जीवनबाट प्राप्त हुने साझा प्रेरणा यही हो— मानिसको सबैभन्दा ठूलो उपलब्धि बाहिरी संसारमाथिको स्वामित्व मात्र होइन, आफ्नै अन्तर्जगतमाथिको स्वतन्त्रता हो।
आन्तरिक विकासबारे आधुनिक विज्ञान के भन्छ?
सन् २०१४ मा माधव गोयल र उनका सहकर्मीहरूले ध्यान सम्बन्धी ४७ वटा नियन्त्रित वैज्ञानिक अध्ययनको विश्लेषण प्रकाशित गरे।
४,७५१ सहभागी समेटिएको उक्त अनुसन्धानले ध्यानका विधिहरूबाट चिन्ता, अवसाद र पीडा घटाउन सानोदेखि मध्यम स्तरको लाभ प्राप्त हुन सक्ने देखायो।
त्यसैगरी सन् २०२३ मा म्याथ्यु किलिङ्सवर्थ, ड्यानियल काह्नेमन र बारबरा मेलर्सले गरेको अनुसन्धानले आयवृद्धि र भावनात्मक कल्याणबीच सकारात्मक सम्बन्ध देखाए पनि सबै व्यक्तिमा त्यसको प्रभाव समान नरहने स्पष्ट पारेको छ।
यी अनुसन्धानहरूको महत्त्वपूर्ण सन्देश के हो भने मानिसको कल्याण बाहिरी परिस्थितिबाट मात्र निर्धारित हुँदैन। व्यवस्थित अभ्यासबाट उसले आफ्ना मानसिक तथा भावनात्मक प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउन सक्छ।
यद्यपि प्रयोगशालामा मापन गरिएको तनावको न्यूनीकरण र उपनिषद्ले वर्णन गरेको परमानन्द एउटै कुरा होइनन्। विज्ञानले अहिलेसम्म आध्यात्मिक अर्थमा मोक्ष वा परमानन्द प्रमाणित गर्न सकेको छैन। सम्भवतः विज्ञानका प्रयोगशालाहरूमा आजसम्म पाइने उपकरणले यस्तो सूक्ष्म अवस्था नाप्न सकेको छैन।
तर मनको प्रशिक्षण र आन्तरिक विकासको सम्भावनालाई वैज्ञानिक अनुसन्धानले पनि समर्थन गरेको छ।
आफ्नो मूल खोजी थाहा पाएपछि जीवन बदलिन्छ
जुन क्षण मानिसले आफ्नो मूल खोजी दुःखमुक्ति र परमानन्द प्राप्तिको हो भन्ने बुझ्छ, त्यही क्षणदेखि उसका निर्णयहरूको आधार बदलिन थाल्छ।
नशालु पदार्थ सेवन गर्नुअघि उसले प्रश्न गर्छ— यसले मलाई दुःखबाट मुक्त गर्छ कि थप दुःखतर्फ लैजान्छ?
कसैप्रति क्रोध वा प्रतिशोधको भावना राख्नुअघि उसले विचार गर्छ— यसले मेरो अन्तःकरणलाई शान्त बनाउँछ कि अशान्त?
धन, पद र प्रतिष्ठाको खोजी गर्दा उसले सोध्छ— यी उपलब्धिहरू मेरो कल्याणका साधन हुन् कि म यिनकै दास बन्दै छु?
कठोपनिषद्ले श्रेय र प्रेयको भेद स्पष्ट गरेको छ— श्रेयश्च प्रेयश्च मनुष्यमेतः।
मनुष्यका सम्मुख श्रेय अर्थात् कल्याणकारी र प्रेय अर्थात् प्रिय लाग्ने दुवै विकल्प उपस्थित हुन्छन्।
भगवद्गीताले सात्त्विक सुखको वर्णन गर्दै भन्छ–
यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम्।
तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम्॥
जुन प्रारम्भमा विषजस्तो कठिन लागे पनि परिणाममा अमृतसमान हुन्छ, त्यो सात्त्विक सुख हो।
जीवनका सबै सही निर्णय तत्काल सुखद नहुन सक्छन्। तत्काल सुख दिने सबै निर्णय दीर्घकालीन कल्याणकारी पनि हुँदैनन्।
जीवनमा विवेक जाग्नु भनेको तत्काल के प्रिय लाग्छ भन्नेभन्दा अन्ततः के कल्याणकारी हुन्छ भन्ने बुझ्न सक्नु हो।
शान्ति र आनन्द– एउटै यात्राका दुई आयाम
अब एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। के सम्पूर्ण दुःखबाट मुक्त भइसकेपछि मात्र आनन्दको खोजी सुरू गर्नुपर्छ?
त्यसो हो भने त्यो दिन कहिल्यै नआउन पनि सक्छ।
जीवनका समस्या समाधान गर्दै शान्तितर्फ अघि बढ्नु र चेतनाको गहिराइमा प्रवेश गर्दै आनन्दको अनुभूति विकसित गर्नु सँगसँगै चल्नुपर्ने प्रक्रिया हुन्।
रोगी नहुनु र ऊर्जावान् हुनुमा भिन्नता छ। त्यसरी नै दुःख नहुनु र आनन्दित हुनुमा पनि भिन्नता छ।
शान्ति अन्तर्द्वन्द्वको निवृत्तिसँग सम्बन्धित छ। आनन्द अस्तित्वको पूर्णताको अनुभूतिसँग सम्बन्धित छ।
बुद्ध भन्नुहुन्छ— नत्थि सन्तिपरं सुखं।
शान्तिभन्दा श्रेष्ठ सुख छैन।
कुरानमा शान्त आत्मालाई सम्बोधन गर्दै भनिएको छ —हे शान्त आत्मा! आफ्नो पालनकर्तातर्फ फर्क, सन्तुष्ट र उहाँबाट स्वीकार गरिएको अवस्थामा।
शान्ति र आनन्द परस्पर पूरक छन्। ध्यान, योग, आत्मनिरीक्षण, प्रार्थना, प्रेमपूर्ण जीवन र विवेकपूर्ण कर्म तिनको विकासका महत्त्वपूर्ण माध्यम बन्न सक्छन्।
अब आफ्नो खोजीलाई सही दिशा दिऔं!
विद्वान् पाठकवर्ग पक्कै पनि मैले लेखेका कुरालाई मात्र विश्वास गरेर मात्र बस्नुहुने छैन। आफ्नै जीवनभित्र प्रवेश गरी स्वअनुभवलाई आधार बनाउनुहुनेछ।
तपाईं बिहानदेखि बेलुकासम्म जे गरिरहनुभएको छ, त्यसको अन्तिम प्रयोजन के हो? तपाईंको सम्पूर्ण परिश्रम, सङ्घर्ष, प्रतिस्पर्धा र उपलब्धिको अन्तिम गन्तव्य कहाँ हो?
आजदेखि प्रत्येक महत्त्वपूर्ण निर्णयलाई दुई प्रश्नको कसौटीमा राख्नुहोस्—
१. के यसले मलाई दुःखबाट मुक्तितर्फ लैजान्छ?
२. के यसले मेरो जीवनमा दिगो आनन्दको सम्भावना बढाउँछ?
प्रत्येक दिन केही समय ध्यान, मौन र आत्मनिरीक्षणका लागि छुट्ट्याउनुहोस्।
राति सुत्नुअघि आफैंलाई सोध्नुहोस्— आज म आफ्नो जीवनको मूल उद्देश्यतर्फ अगाडि बढेँ कि त्यसबाट अझ टाढिएँ?
यी प्रश्नलाई आफ्नो जीवनपद्धतिको अंग बनाउनुहोस्। तपाईंका प्राथमिकता बदलिनेछन्। रोजाइ बदलिनेछन्। सम्बन्ध, कर्म र उपलब्धिप्रतिको दृष्टिकोण बदलिनेछ।
आगामी आलेखहरूमा हामी दुःखमुक्ति र परमानन्द प्राप्तिका व्यावहारिक उपायहरू, मनोशक्तिको इतिहास, प्राचीन आध्यात्मिक खोज तथा आधुनिक वैज्ञानिक अनुसन्धानका निष्कर्षहरूबारे गहिरो अध्ययन गर्नेछौं।
तर आजका लागि यति मनन गरौं— कतै हामीले खोजेका वस्तुहरू प्राप्त गर्ने दौडमा आफूले वास्तवमा खोजेको कुरा नै त बिर्सिरहेका छैनौं?
जीवनभर आनन्द प्राप्त गर्ने साधनहरू संकलन गरेर पनि आनन्द प्राप्त गर्न सकिएन भने हाम्रो सम्पूर्ण दौडको सार्थकता के रह्यो?
धन कमाऔं। समृद्ध बनौं। ज्ञान र सामर्थ्य आर्जन गरौं। संसारलाई सुन्दर बनाऔं। तर यी सबै प्रयासका बीच आफूले वास्तवमा खोजेको कुरा नबिर्सौं।
जीवनको वास्तविक सफलता आफूले चाहेका सबै वस्तु प्राप्त गर्नुमा मात्र छैन; आफूले ती सबै वस्तुमार्फत खोजिरहेको शान्ति र आनन्द प्राप्त गर्नुमा छ।