केही वर्षअघि काठमाडौंबाट नेपालगन्ज जाँदा मैले जहाजको झ्याल नजिकको सिटमा बस्ने मौका पाएको थिएँ। म ऊर्जा क्षेत्रमा काम गर्ने भएकाले हिमालबाट तराईतर्फ बग्ने नदीहरू नियाल्न खोज्दै थिएँ।
तर मैले तल हेर्दा नदी होइन, जताततै हरिया पहाडहरू प्रशस्त देखेँ। एउटा पहाड सकिनासाथ अर्को पहाड र त्यसपछि अर्को पहाड, त्यसपछि एउटा नदी, अनि फेरि पहाडै पहाड।
हामी सानैदेखि नेपाल जलस्रोतमा धनी छौं भन्ने सुन्दै हुर्कियौं। तर मलाई लाग्यो, हामी पहाडमा बढी धनी छौं। यदि हामीले यी पहाडहरूमा केही गर्न सक्यौं भने नेपाल धनी बन्न सक्नेछ।
पहाडमा रूख उम्रिन्छ। रूखबाट काठ आउँछ। स्वदेश र विदेशमा काठको माग प्रशस्त छ। हामीले पहाड र तराईमा वन विनाश नहुने गरी रूख खेती गर्न सक्छौं।
वन एउटा नवीकरणीय स्रोत हो र त्यसको दिगो व्यवस्थापन गर्यौं भने यसले हामीलाई अनन्तकालसम्म काठ दिन्छ। वनले वर्षभरिमा जति नयाँ रूख उमार्न सक्छ, त्योभन्दा कम मात्र कटानी गरी दिगो वन व्यवस्थापनमार्फत हामी वनजंगलको संरक्षण, रोजगारी सिर्जना र आर्थिक लाभ लिन सक्छौं।
यसलाई हामीले देश विकासको एउटा मुख्य आधार बनाउन सक्छौं। यदि जलविद्युत हाम्रो 'सेतो सुन' हो भने सन्तुलित र दिगो काठको खेती हाम्रो 'हरियो सुन' हुन सक्छ। 'हरियो वन नेपालको धन' भन्ने भनाइलाई चरितार्थ गर्न सक्छौं।
रूख काट्नु पाप होइन
धेरैजसो नेपालीहरू रूख काट्नुलाई पाप ठान्छन्। हामीलाई सानैदेखि यही कुरा सिकाइएको थियो। रूख काट्दा वातावरण बिग्रिन्छ भन्ने हाम्रो बुझाइ छ। तर हामीमध्ये थोरैलाई मात्र के थाहा छ भने, एउटा रूख पूर्ण रूपमा हुर्किसकेपछि त्यसको आयु र उद्देश्य पूरा भइसकेको हुन्छ।
त्यसैले सबैभन्दा उत्तम उपाय भनेको त्यो बुढो रूखलाई प्रयोग गर्ने र त्यसको ठाउँमा नयाँ रूख रोप्नु हो।
एउटा रूख बढ्दै जाँदा यसले हावामा भएको कार्बन डाइअक्साइड ग्यास सोस्छ। यही ग्यासका कारण पृथ्वीमा गर्मी र जलवायु परिवर्तन बढिरहेको छ। तर रूख बुढो भएपछि यसले यो ग्यास सोस्न छाड्छ। अरू जीवजन्तुजस्तै बुढो रूख पनि बढ्न छाड्छ, भित्रभित्रै कुहिन थाल्छ र अन्त्यमा सुकेर ढल्छ।
यसो हुँदा त्यसले वर्षौंदेखि आफूभित्र जम्मा गरेर राखेको ग्यास फेरि हावामै छाडिदिन्छ।
त्यसैले रूखलाई वनमै कुहिन दिनुभन्दा त्यसबाट ढोका, झ्याल, टेबल, कुर्सी आदि बनाउन सकिन्छ। यसो गर्दा कार्बन दशकौंसम्म काठभित्रै थुनिएर रहन्छ। राम्रोसँग ट्रिटमेन्ट गरिएको काठ सयौं वर्ष टिक्छ। काठमाडौंका पुराना मन्दिरहरूमा रहेका सालका खावा र दलिनहरू सयौं वर्षदेखि प्रयोगमा छन्। पुरानो रूखको ठाउँमा नयाँ रूख हुर्कायौं भने त्यसले थप कार्बन सोस्छ।
यसरी हामीसँग प्रयोग गर्न काठ पनि हुन्छ र वनमा नयाँ रूख पनि उम्रिन्छ।
कस्तो रूख रोप्ने भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ।
एउटै प्रजातिको रूख मात्र रोप्नुभन्दा विभिन्न प्रकारका रैथाने रूखहरू मिश्रित भएको वन वातावरणका लागि बढी फाइदाजनक हुन्छ।
उदाहरणका लागि, सल्लाको रूख मात्र रोप्दा त्यसले माटो अम्लीय बनाउँछ, भुइँमा अरू घाँसपात उम्रिन दिँदैन र पहाडका पानीका मुहानहरू सुकाउँछ। अहिले नेपालका पहाडमा धेरै ठाउँमा सल्लाका एकल प्रजातिका वृक्षरोपण छन्।
त्यसैले हामीले तराईमा साल र अन्य फराकिला पाते रूखहरू तथा पहाडमा बाँस, उत्तिस र चिलाउनेजस्ता हाम्रा रैथाने रूखहरू मिसाएर रोप्नुपर्छ। यसले गर्दा मिश्रित वनमा उच्च जैविक विविधता कायम राख्न ठूलो मद्दत पुग्छ।
संसारका धेरै देशहरूले यसै गरिरहेका छन्। फिनल्यान्डले वनका उत्पादनहरू बेचेर वर्षमा करिब २० खर्ब रूपैयाँ कमाउँछ र यो देश दिगो वन व्यवस्थापनका लागि संसारभरि प्रख्यात छ। जर्मनीमा वन र वन उत्पादनका सामान बनाउँदा लाखौं मानिसले रोजगारी पाएका छन्। नर्वेले सय वर्षअघि आफ्नो धेरैजसो वन गुमाएको थियो, तर पछि व्यापक रूपमा रूख रोपेर आज त्यहाँको काठ उद्योग निकै फस्टाएको छ।
यी देशहरूमा अघिल्लो पुस्ताको पालामा भन्दा अहिले धेरै रूखहरू छन्। वन जोगाउँदै वनबाट आर्थिक लाभ लिन सकिन्छ भन्ने यी देशहरू ज्वलन्त उदाहरण हुन्।
नेपालमा पनि वन फँडानी नगरीकन वैज्ञानिक र दिगो तरिकाले वन व्यवस्थापन गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।
वन फँडानीको इतिहास
सन् १९५० देखि १९८० को दशकको बीचमा नेपालले निकै तीव्र रूपमा वन गुमायो। त्यति बेला अवैध रूपमा धेरै वन फँडानी भयो। देशको वन क्षेत्र घटेर झन्डै २५ प्रतिशतमा सीमित हुन पुग्यो। त्यस्तो अवस्थामा जनतालाई 'रूख काट्नु पाप हो' भनेर सिकाउनु सरकारको सही र बाध्यकारी नीति बन्न पुग्यो।
'हरियो वन नेपालको धन' भन्ने पुरानो उखानले वनलाई एउटा आर्थिक स्रोतका रूपमा हेरेको थियो। काठ, दाउरा र जडीबुटी बेचेर जनता र सरकारले आम्दानी गर्थे। तर तीन दशकको तीव्र फँडानीले गर्दा यो उखानको अर्थ फेरियो। 'धन' भन्नाले उपयोग गर्ने चिज होइन, बरू जोगाएर राख्नुपर्ने चिज भन्ने बुझिन थाल्यो।
त्यसपछि एउटा अचम्मको परिवर्तन भयो। सन् १९९३ पछि वनको रेखदेख र व्यवस्थापन गर्ने जिम्मा वनकै वरिपरि बस्ने स्थानीय समुदाय (उपभोक्ता समिति) लाई दिइयो। यी समुदायका मानिसहरूले वनको संरक्षण र नियम पालना निकै राम्रोसँग गरे।
फलस्वरूप सन् १९९२ मा २६ प्रतिशतमा झरेको वन क्षेत्र आज बढेर ४५ प्रतिशतसम्म पुगेको छ। नेपालको यो सामुदायिक वन कार्यक्रमलाई संसारभरि नै वन जोगाउने एउटा सफल उदाहरणका रूपमा हेरिन्छ।
हामी रूखमा धनी छौं
जहाजबाट हेर्दा देशको ठूलो भाग हरियो वनले ढाकेको देखिन्छ। हिमाली भेगलाई छाड्ने हो भने हाम्रा ७७ वटै जिल्ला निकै हरिया देखिन्छन्। सरकारका अनुसार देशको ४५ प्रतिशत भाग वनले ओगटेको छ। यसमध्ये झन्डै आधा भाग राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रभित्र पर्छ।
यी क्षेत्रमा रूख काट्न पाइँदैन। बाँकी रहेको वनमध्ये आधा सरकारले हेर्ने राष्ट्रिय वन र आधा समुदायले हेर्ने सामुदायिक वन हो। हाम्रो मुख्य अवसर यही सामुदायिक र सरकारी वनमा छ।
सरकारी अनुमान अनुसार नेपालमा करोडौं होइन, अर्बौं रूखहरू छन्। संरक्षित क्षेत्रहरूलाई पूरै छाडिदिने हो भने पनि हामीसँग सजिलै र कानुनी रूपमा वन खेती गर्न मिल्ने अर्बौं क्युबिक फिट काठ उपलब्ध छ।
वैज्ञानिक र आधुनिक तरिकाले यसको एउटा सानो हिस्सा मात्र हरेक वर्ष उपयोग गर्ने हो भने वनलाई त्यस्तो असर पर्दैन। किनभने वनमा त्योभन्दा बढी रूख हरेक वर्ष प्राकृतिक रूपमा उमार्न सकिन्छ।
यसरी हरेक वर्ष लाखौं रूख वैज्ञानिक वन व्यवस्थापनमार्फत उपयोगमा ल्याउन सकिन्छ।
वास्तवमा यदि यो उद्योग फस्टायो भने यसले हजारौं नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ। रूख काट्ने, ओसार्ने, काठ चिरान गर्ने र फर्निचर बनाउने काममा धेरै मानिसहरूको आवश्यकता पर्छ।
नेपालका ७७ वटै जिल्लाका ग्रामीण क्षेत्रमा २०,००० भन्दा बढी सामुदायिक वनहरू छन्। गाउँगाउँमा नयाँ जागिर र आम्दानीको बाटो खुल्नेछ। यसले ग्रामीण अर्थतन्त्र सुधार्नेछ र रोजगारीका लागि गाउँबाट सहर वा विदेशमा भइरहेको बसाइँसराइलाई रोक्न मद्दत गर्नेछ।
यसबाट निजी क्षेत्रले पनि ठूलो फाइदा लिन सक्छ। देशमा सयौं नयाँ आधुनिक मिल, काठ सुकाउने भट्टी र फर्निचर कारखानाहरू चाहिन्छ। काठलाई टिकाउ बनाउने प्रविधि र प्रशोधनमा ठूलो लगानीको खाँचो पर्नेछ।
यसबाट देशले कमाउने विदेशी मुद्रा पनि निकै धेरै हुनेछ। आज आफ्ना युवा कामदारहरू विदेश पठाइरहेको देशले भोलि आफ्नै देशमा हुर्केको काठ विदेश निर्यात गर्न सक्छ। प्रशोधित काठ र काठका उत्पादनहरू निर्यात गर्ने ठूला अवसरहरू छन्। प्लाइउडजस्तै यी पनि नेपालको प्रमुख निर्यातमध्ये एक हुन सक्छन्।
स्वदेशी काठ प्रयोग गर्दा विदेशबाट आउने काठ रोकिन्छ, जसले गर्दा हाम्रो पैसा देशबाहिर जाँदैन। यसका साथै, रोयल्टी, दस्तुर र भ्याट मार्फत तीन वटै सरकार (स्थानीय, प्रदेश र केन्द्र) ले हरेक वर्ष अर्बौं रूपैयाँ राजस्व पाउनेछन्।
बाधा कहाँ छ त?
यदि यसमा यति धेरै फाइदा छ भने यो क्षेत्र किन फस्टाउन नसकेको त?
यसका पछाडि हाम्रा पुराना सोच र कानुनी जटिलताहरू छन्।
रूख काट्नु नै नराम्रो हो भन्ने सन् १९९० को दशकको पुरानो सोच हामीमा अझै बाँकी छ। नियमहरू थोरै मात्र खुकुलो पार्दा पनि विगतको जस्तै फेरि वनविनाश होला कि भन्ने डर छ।
हाम्रो इतिहास हेर्दा यो डर स्वाभाविकै लाग्छ, तर यसले हामीलाई कुनै फाइदा गर्दैन। दुर्घटना होला कि भनेर हामी राम्रा र फराकिला सडक बनाउन त रोक्दैनौं नि! बरू सुरक्षित आवतजावतका लागि सवारीको गति सीमित गर्छौं र ट्राफिक नियमहरू कडा बनाउँछौं।
हाम्रा वनको सन्दर्भमा पनि ठ्याक्कै यही सोच आवश्यक छ।
वनबाट आर्थिक लाभ लिनु र यसको संरक्षण गर्नु फरक कुरा होइनन्। सही नियमहरू पालना गरेर यी दुवै लक्ष्य सँगसँगै हासिल गर्न सकिन्छ, वनलाई प्रयोग नै नगरी होइन।
हाम्रा कानुन र पालना गर्नुपर्ने प्रक्रियाहरू पनि अव्यावहारिक र झन्झटिला छन्। कुनै प्रदेशको कानुन अनुसार सालको रूख आफै ढलेपछि मात्र त्यसलाई उपयोग गर्न सकिन्छ। तर एउटा बुढो रूख आफै कुहिएर ढल्दासम्म त्यसको काठको गुणस्तर र परिमाण दुवै निकै घटिसकेको हुन्छ।
त्यस्तै, बाढी, पहिरो वा हावाहुरीजस्ता विपदबाट क्षतिग्रस्त काठ नियमित समय र कार्ययोजनाबाहिर गएर संकलन गर्नुपर्दा पनि डिभिजनल वन अधिकृत, जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश वन निर्देशनालय हुँदै प्रदेश मन्त्रालयको अन्तिम स्वीकृति लिनुपर्ने बहुस्तरीय झन्झट छ।
यसले गर्दा अनुमति पाउन ढिलाइ भई बहुमूल्य काठहरू वनमै सडेर खेर जान्छन्। यस्ता नियमहरू वन संरक्षणका उपाय होइनन्, बरू स्थानीय समुदायलाई नै निरूत्साहित गर्ने कानुनी झन्झट मात्र हुन्।
त्यस्तै गरी सरकारले तोकेको रोयल्टी दरले गर्दा नेपाली काठ विदेशी काठसँग प्रतिस्पर्धा गर्न नसक्ने गरी महँगो भएको छ।
'क' वर्गको सालको काठको रोयल्टी प्रतिक्युबिक फिट करिब १,२५० रूपैयाँ पर्छ। यो काठ काठमाडौंसम्म आइपुग्दा कर, ढुवानी खर्च र कटान-मिलानको लागत थपिँदा मूल्य बढेर प्रतिक्युबिक फिट झन्डै ४,५०० रूपैयाँ पुग्छ। यसमा विभिन्न चेकपोइन्टहरूमा तिर्नुपर्ने अनुमानित १,५०० रूपैयाँजतिको खर्च पनि सामेल हुन्छ, जुन प्रक्रिया अगाडि बढाउन तिर्नुपर्ने हुन्छ।
यदि नेपालले आफ्नै देशको काठलाई सस्तोमा आयात हुने विदेशी काठसँग प्रतिस्पर्धी बनाउने हो भने मूल्य बढाउने यो चक्रलाई घटाउनै पर्छ। यसको सुरूआत सरकारी रोयल्टी दर परिमार्जन गरेर र बाटोका चेकपोइन्टहरूमा हुने अतिरिक्त खर्च हटाएर गरिनुपर्छ।
हाम्रो हरियो सुन
जलविद्युत क्षेत्रमा देशले आफ्ना नदीहरूबाट बिजुली निकाल्ने दृढ निर्णय गरेको कारणले नेपाल विद्युत प्राधिकरणले गत वर्ष १२० अर्ब रूपैयाँको बिजुली नेपालभित्र बेच्यो र २९ अर्बको बिजुली निर्यात गर्यो। आज कसैले पनि 'नेपालका नदीहरूलाई यत्तिकै बग्न दिनुपर्छ, चलाउनु हुँदैन' भनेर विरलै तर्क गर्छ।
हाम्रो वन क्षेत्र पनि जलविद्युत जस्तै हो। शतप्रतिशत नेपालमै बनेको काठ देशको अर्थतन्त्रको बलियो मेरूदण्ड बन्न सक्छ।
त्यसैले अब हामीले आफ्नो सोच र नीतिहरू बदलेर यो राष्ट्रिय सम्पत्तिको सही उपयोग गर्ने बेला आएको छ। दिगो वन व्यवस्थापन गर्यौं भने हाम्रा वन कहिल्यै नसकिने सम्पत्ति हुन्।
यसले हरित रोजगारी दिन्छ, यसमा गरिने लगानी वातावरणमैत्री हुन्छ र यसबाट उठ्ने कर र कमाइने विदेशी मुद्रा पनि देशकै हितमा हुन्छ। यही नै हाम्रो वास्तविक 'हरियो सुन' हो, जुन उचित नीति र व्यवस्थापनको अभावमा अहिले वनमै कुहिएर गइरहेको छ।