नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गोली चलाएरमात्र लोकतन्त्रको रक्षा हुने हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा लोकतन्त्र रक्षाका लागि गोली चलाउँदा पौडेललगायतको मृत्यु भएको बताएपछि शर्माले ट्वीट गर्दै गृहमन्त्रीको धारणा व्यक्तिगत हो कि सरकारकै धारणा भनेर सोधेका हुन्।
‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो प्रधानमन्त्रीज्यू?,’ शर्माले भनेका छन्, ‘गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा? उसबेलाको प्रजातन्त्रले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादल बेपत्ताको लिष्टमा पुग्ने थिएनन् र? सहादतको सूचीमा भलै हामी कैयौंको नाम हुन्थ्यो।’
प्रहरीसँगकै मुठभेडमा पौडेलको मृत्यु भएको गृहमन्त्रीले जवाफ दिएका थिए। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस र राष्ट्रिय जनता पार्टीले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेर संसद अवरूद्ध गरेका थिए।