बाग्लुङ क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलले नेपाली काङ्ग्रेसलाई यसपाली पनि चुनौति दिएको छ।
२०७४ को चुनावमा काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो।
सो चुनावमा काङ्ग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए।
घर्तीको कलेजो सम्बन्धी रोगका कारण मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
यसअघिको चुनामा घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो।
उपचुनावमा पनि कांग्रेसले शेरचनलाई नै फेरि उम्मेदवार बनाएको छ। उनी विरूद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो।
२०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको काङ्ग्रेस वाम तालमेलकै कारण ०७४मा पराजित भएको थियो ।
यो चुनावमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ। चुनाव जित्ने जिकिर भने दुवैतर्फका उम्मेदवार र नेताको छ । नेपाली काङ्ग्रेसका सभापति दीपेन्द्रबहादुर थापा यसपालिको वाम तालमेललाई ‘आत्मिय’ नभएको रूपमा अर्थ्याउँछन्।
'पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता पर्यो होला,' सभापति थापाले भने, 'उहाँहरुको एकता आत्मिय खालको छैन, एकतर्फीजस्तो छ।'
काङ्ग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावको हारपछि आफू जनतामाझ झन् बढी घुलमिल भएको दाबी गर्छन्।
'गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन,' उनले भने,'अहिले परिस्थिति फरक छ, हामी चुनाव जित्छौँ।'
राजमोका जिल्ला अध्यक्ष अमर थापा पनि अघिल्लो चुनावमा भन्दा बढी मतका साथ चुनाव जित्नेमा ढुक्क छन्।
'काङ्ग्रेसले जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि काङ्ग्रेसकै थियो,' उनले भने,'त्यो परिस्थितिमा त काङ्ग्रेस ठूलो मतान्तरसहित चुनाव हार्यो, अहिले कसरी जित्छ? जित्दैन।'
तीनै तहमा बलियो कम्युनिष्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेदवारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ।
उनले यस्तो ठोकुवा गरेपनि सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठेरो परेको छ।
'उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन,' अध्यक्ष थापाले भने, 'विश्वास छ उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरुले पहल गर्नुहुनेछ।'
शेरमान तत्कालीन नेकपा (माआवोदी केन्द्र) मा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आवद्ध थिए। गएको स्थानीय तह चुनावमा उहाँ माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लडेका थिए। केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उनको उम्मेदवारी फिर्ता हुने बताए।
को हुन् शाही र शेरचन ?
राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य हुन्। निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भए।
राजमोका पाका र विश्वासिला नेता मानिन्छन्। यस्तै नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका शेरचन विद्यार्थीकालदेखि नै काङ्ग्रेसको राजनीतिमा थिए।
राजमो, नेपाली काङ्ग्रेससहित आठ दल र दुई स्वतन्त्र उम्मेदवारले उपचुनावका लागि मनोनयन दर्ता गरेका छन् । अन्य दलमा समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।