सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले केन्द्रीय कमिटी विस्तार गर्दै भागबन्डा मिलाएको छ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकतापछि विद्यार्थी संगठनहरू पनि एकता भए पनि भागबन्डा नमिल्दा लामो समयदेखि केन्द्रीय कमिटी विस्तार हुन सकेको थिएन।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार शुक्रबार साँझ केन्द्रीय कमिटी विस्तार गरेसँगै केन्द्रीय कमिटी तीन सय ३५ पुगेको छ। एमाले समर्थित विद्यार्थीबाट एक सय ८० र माओवादी समर्थितबाट एक सय ५५ जना केन्द्रीय कमिटीमा परेका छन्।
बस्नेतका अनुसार केन्द्रीय कमिटी सचिवालय एक सय ११ सदस्यीय बनाइएको छ। स्थायी कमिटी भने ४५ सदस्यीय बनाउने निर्णय भएको हो। अनुशासन, निर्वाचन र लेखा आयोग पनि गठन गरिने उनले बताए। अनेरास्ववियूका संयोजक ऐन महर र रञ्जित तामाङ सहसंयोजक रहेको केन्द्रीय कमिटीले केन्द्रीय कमिटी विस्तार गर्दै भागबन्डा मिलएको हो।
बस्नेतका अनुसार ४२ जिल्लाको नेतृत्व पूर्व एमाले समर्थित विद्यार्थी र ३५ जिल्ला नेतृत्व पूर्वमाओवादी समर्थित विद्यार्थीले पाएका छन्।