प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्।
बाँस्तोलासहित केही विप्लव कार्यकर्तालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दियो।
विप्लव समूहको गतिविधि रहेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले बाँस्तोलासहित केहीलाई पक्राउ गरेको ती अधिकारीले जानकारी दिए।
‘हाम्रो अपरेसन जारी छ, के कति व्यक्ति पक्राउ परेकोबारे यकिन भइसकेको छैन,’ उनले भने। महानगरीय प्रहरी परिसर ललितपुरले मकवानपुरसँग सीमा जोडिएको क्षेत्रमा परिसरले अपरेसन गरेको बतायो।
परिसर प्रमुख एसएसपी किरण बज्राचार्जले विप्लव समूहमाथि प्रहरीले अपरेसन चलाइरहेको र केही पक्राउ परेको बताइन्। परिसरबाट ठूलो समूहमा त्यस क्षेत्रमा प्रहरी खटिएको छ। त्यहाँ भएको अन्य गतिविधिबारे विस्तृत विवरण आउन बाँकी छ।