सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ।
बुधवार पार्टी कार्यालय तुल्सीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने बताए। उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धी कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए।
प्रवक्ता खतिवडाले भने, ‘संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ। यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म ४ महिना चल्नेछ, र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि मुख्य ४ वटा कामहरु हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडीहरु जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम यो अभियान अन्तर्गत हुनेछ।’
बैठकले पार्टी भित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धी घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई चयन गरिएको समेत उनले बताए।
प्रवक्ता खतिवडाले भने, ‘आजको बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरेको छ भने पार्टी भित्र आउन सक्ने विभिन्न समस्याहरु, अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।’
बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताए।