मनसुन सुरू भएयता देशका अधिकांश भागमा राम्रो वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ गतेदेखि असार १८ गतेसम्म ३०२ मिलिमिटर वर्षा भएको छ। यो भनेको सरदरको २०.४ प्रतिशत वर्षा हो।
मनसुनको सुरूआतमा उल्लेख्य वर्षा भए पनि २६ जेठदेखि १ असारसम्म सरदरभन्दा कम वर्षा भएको थियो।
अहिले औसत नै वर्षा भइरहेको छ।
तर पूर्वी तराई भने सुख्खा छ। पानी नपरेकाले रोपाइँ हुन सकेको छैन। मधेसमा त सुख्खा नै लागेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार यसपालिको मनसुनमा कोशीमा उल्लेख्य वर्षा हुने अनुमान गरिएको थियो। अहिले त्यसविपरीत देखिएको छ।
यो क्रम अझै केही समयसम्म रहने उनले बताएका छन्। शनिबारसम्म पूर्वी नेपालमा उल्लेख्य वर्षाको सम्भावना देखिएको छैन।
त्यस कारण किसानहरूले सिञ्चाइका लागि वैकल्पिक उपाय अपनाउन पनि उनले आग्रह गरेका छन्।