अध्यक्ष पदका आकांक्षीहरू चुनावमा जाने र पार्टी नेतृत्व भने सहमतिमै पदाधिकारी चयन गर्ने अडानबाट पछि नहटेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन पदाधिकारी चयन नगरी सकिएको छ।
मंसिर २५ मा सुरू भएको प्रदेश अधिवेशनले २६९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ।
सुरूमा कमिटीका सदस्यहरू चयन गर्ने र तिनैमध्येबाट पदाधिकारी चयन गर्ने माओवादीको संगठन शैली छ। तर, तीन जना आकांक्षीहरूबीच सहमति प्रयास विफल भएपछि पदाधिकारी टुंगो नलगाई अधिवेशन सकिएको हो।
वर्तमान अध्यक्ष सुरेशकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो र हालका सचिव हेमराज भण्डारी प्रदेश अध्यक्षका दाबेदार छन्।
उनीहरूले कमिटीमा चुनाव गरेर पदाधिकारी टुंगो लगाउन माग गरेका थिए। तर, पार्टी नेतृत्वले दुई दिनपछि बैठक गर्ने र पदाधिकारी टुंग्याउने निर्णय लिएको छ।
‘तीन जनाले अध्यक्षमा दाबी गरेका छन्,’ माओवादी प्रदेश १ कमिटीका एक सदस्यले भने, ‘सहमति पनि जुटेन, अब चुनाव नै गर्ने भए पनि दुई दिनपछि गरौं भनेर दुई दिनलाई स्थगन गरिएको हो।’
प्रदेश १ मा माओवादीका ९ जना पदाधिकारी चयन हुनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन्।
अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकार सम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ।