पुस्तक परिचय
राष्ट्रिय संग्रहालय, छाउनीले नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्त्वका कला–सम्पदा झल्काउने सामग्रीहरूको परिचय दिने उद्देश्यले पहिलोपटक किताब प्रकाशन गरेको छ।
'राष्ट्रिय संग्रहालयको कला सम्पदा' शीर्षकको यो किताब दुई भागमा प्रकाशित छ। यसको अंग्रेजी रूपान्तरण 'आर्ट हेरिटेज अफ नेसनल म्युजियम' पनि दुई भागमै प्रकाशित छन्। यी किताब जयराम श्रेष्ठ र यमुना महर्जनले सम्पादन गरेका हुन्। किताबको फोटोग्राफी किरणबहादुर श्रेष्ठ गरेका छन्।
साठी–साठी पृष्ठका यी किताबमा मूर्त तथा अमूर्त धरोहरहरूको संरक्षण, त्यसको पुस्ता–हस्तान्तरण र सांस्कृतिक पुनरूत्थानमा संग्रहालयले निर्वाह गरेको जिम्मेवारीबारे वर्णन गरिएको छ।
असी वर्षको आधिकारिक इतिहास बोकेको छाउनीको राष्ट्रिय संग्रहालय नेपालकै जेठो संग्रहालय हो। पचास रोपनी जग्गामा फैलिएको यो संग्रहालयले वस्तुहरूको संग्रह मात्र गर्दैन, त्यसलाई व्यवस्थित ढंगबाट प्रदर्शन पनि गर्छ। सँगसँगै; इतिहास, संस्कृति, पुरातत्व र सभ्यताबारे विश्वसनीय सूचना र शिक्षा दिन्छ। संग्रहालयको यही उद्देश्य उजागर गर्न यो पुस्तक प्रकाशन गरिएको हो।
किताबको पहिलो परिच्छेदमा संग्रहालयको परिचय समावेश छ। दोस्रो परिच्छेद किताबको मूल भाग हो, जसमा संग्रहालयमा प्रदर्शित वस्तुहरूको एकपछि अर्को सचित्र वर्णन गरिएको छ।
यसमा वर्णन गरिएका वस्तुमा हाडीगाउँबाट ल्याइएको हातखुट्टा र टाउकोविहीन मथुरा शैलीको ढुंगे यक्षमूर्ति सबभन्दा पहिला आउँछ।
त्यसपछि हाडीगाउँबाटै प्राप्त इसाको दोस्रो शताब्दीका राजा जयवर्माको ढुंगे शालिक, नवौं शताब्दीको मानिएको बुद्धजन्मको शिला–फलक, छैठौं शताब्दीको मानिएको यंगाल टोलबाट प्राप्त पाषाण निर्मित मारविजयको मूर्तिको टुक्रा र नःघल टोलबाट ल्याइएको सातौं शताब्दी ताकाको कुमारसम्भवको ढुंगे फलकको विवरण दिइएका छन्।
लिच्छवि अभिलेखसहित भक्तिको दृश्य अंकित शिला, लाजिम्पाटबाट ल्याइएको पाँचौं शताब्दीका लिच्छवि राजा मानदेवको अभिलेख सहितको विष्णु विक्रान्तको पाषाण मूर्ति, नक्सालबाट ल्याइएको आठौं शताब्दीको शिलाको श्रीधर मूर्ति, छैठौं शताब्दी ताकाको मानिएको श्रीधर विष्णुको शिलामूर्तिको खण्डित टुक्राको वर्णन छ।
यसबाहेक उमामहेश्वरका दुई ढुंगे मूर्तिफलक पनि छन्। तीमध्ये एउटा साँखु दुगाहिटीबाट ल्याइएको हो भने अर्को दसौं शताब्दीको मानिएको मूर्ति हो। पाषाण निर्मित दसौं शताब्दीको पञ्चमुखी शिवको मूर्ति पनि किताबमा प्रस्तुत गरिएको छ।
संग्रहालयमा प्रदर्शित धातुका पाँच वस्तुको विवरण पनि किताबमा छ। यसमा चौधौं शताब्दीको स्वर्णलेपित तामाको नामसंगितीको मूर्ति, सोह्रौं शताब्दीको तामाकै महिषसम्बर मूर्ति, पाटन दरबारको सुन्दरी चोकबाट ल्याइएको सत्रौं शताब्दीको गरूडासन लक्ष्मीनारायणको मूर्ति, उन्नाइसौं शताब्दीको स्वर्णलेपित तामाको गणेश र उन्नाइसौं शताब्दीकै ठूलो हयग्रीव लोकेश्वर मण्डल छन्।
सोह्रौं शताब्दीको नृत्यदेवीको काष्ठमूर्ति, अठारौं शताब्दीको विद्याधरको काष्ठ फलक, उन्नाइसौं शताब्दीमा निर्मित हाथु द्यः, अठारौं शताब्दीको शिव परिवारको पौभाःचित्र तथा सन् १६०० को पर्सियन भाषामा लेखिएको शाहनामा ग्रन्थचित्र पनि किताबमा समावेश छन्।
आखिरीमा लुम्बिनीको चौकोर चैत्य उत्खननबाट ल्याइएको सानो अस्थिधातु पात्रको विवरण छ।
पुस्तकको पहिलो भागको पहिलो नम्बरको वस्तुलाई यक्ष भनिएको छ। तर यस्तै शारीरिक बनोटका राजा जयवर्माको दोस्रो शताब्दीको मूर्ति हाँडीगाउँमा र छैठौं शताब्दीका काठका बोधिसत्व मूर्तिहरू इटालीको टुरान म्युजियम र प्रिट्जर संकलनमा भेटिएकाले ती मूर्ति यक्षको हुने सम्भावना घटेको छ।
यसैगरी पद्महस्ता लक्ष्मीको मूर्तिमा आभूषणका रूपमा केयुर देखिएकाले आठौं शताब्दीभन्दा केही पछिल्लो कालको मान्नुपर्ने तर्क गर्न सकिन्छ।
पञ्चमुखी शिवलाई अझ बढी खुलाएर मातंगारि अर्थात् गजसंहार मूर्तिका रूपमा परिचय दिन सकिन्छ। उनले धारण गरेको परशु, मृग र दायाँ खुट्टाले टेकेर गजचर्म ओढेको स्वरूपले यो मूर्तिलाई मातंगारि सिद्ध गर्छ। यसको मुण्डशृंलिक सहितको पञ्चमुखलाई भने नेपालको विशेषता मान्न सकिन्छ।
मातंगारिबारे यस्तो कथा पाइन्छ — घोर तपस्याबाट प्राप्त वरदानले बलवान बनेका गजासुरले वनारसका शिवभक्तहरूलाई आक्रमण गरी धेरै दुःख दिन थाले। त्यसपछि वनारसका भक्तले आत्मरक्षाका लागि शिवजीलाई बिन्ती चढाए। शिवजीले गजासुरको संहार गरी त्यसको छाला काढी आफूले ओढेर मातंगारि रूपमा दर्शन दिए।
त्यस्तै, किताबमा वर्णन गरिएको नृत्यदेवीलाई मल्ल राजाकी कुनै रानीका रूपमा अर्थ्याउन सकिन्छ। नेवार शैलीको पूर्णाभूषण र वस्त्रमा रातो बुट्टेदार रङको प्रयोगले यिनी कुनै सौभाग्यवती रानी हुन् कि भन्ने देखिन्छ। हनुमानढोका दरबारको मोहनचोकमा फागु बेला प्रदर्शन गरिने कृष्णको रूपका प्रताप मल्ल र गोपिनीहरूको रूपका उनका रानीहरूका काष्ठमूर्ति पनि यस्तै प्रकारका तर सादा छन्।
पुस्तकको दोस्रो भागमा इसाको पहिलो शताब्दी ताकाको ढुंगे यक्षयक्षिणी मूर्ति, पहिलो शताब्दीको मानिएको मातृकाको पाषाण मूर्ति, दोस्रो शताब्दीको भोटाहिटी सबवे निर्माण क्रममा प्राप्त अर्धनारीश्वरको पाषाण मूर्ति तथा एघारौं शताब्दीतिरको उमामहेश्वर फलक, बाह्रौं शताब्दीको सूर्य मूर्ति, सत्रौं शताब्दीको पञ्चायन मूर्ति तथा भोटाहिटी सुरूङमार्गबाटै ल्याइएको सत्रौं शताब्दीको चतुर्मुखी शिवलिंग छन्।
त्यसपछिका धातु निर्मित वस्तुको समूहमा अमेरिकाबाट फर्काइएको सुवर्णलेपित सानो मारविजय मूर्ति, विभिन्न कालका पञ्चध्यानी बुद्धका मूर्तिको समूह, अठारौं शताब्दीको स्वर्णलेपित तामाको विष्णु मूर्ति, लक्ष्मीको ताम्रमूर्ति र बीसौं शताब्दीको तामाको हरिहरवाहन लोकेश्वरको मूर्ति वर्णन गरिएको छ।
त्यसपछिको मृण्मय कलामा लुम्बिनीको उत्खननबाट ल्याइएको मौर्यकालिक धर्मचक्र, मत्स्यअवतार विष्णु, शैलपुत्री, ब्रह्मचारिणी लगायतका नवदुर्गाका मूर्तिको वर्णन गरिएको छ।
काष्ठकला समूहमा अठारौं शताब्दीको महालक्ष्मी, अठारौं शताब्दीकै भैरवमुख, सत्रौं शताब्दीको शिवपार्वती तोरण, अठारौं शताब्दीको गणेशको टुँडाल तथा उन्नाइसौं शताब्दीको सूर्यझ्यालको विवरण दिइएको छ।
यसबाहेक अनुमानित पन्ध्रौं शताब्दीको उष्णिष विजयाको पौभाःचित्र र दशमहाविद्याको पौभाःचित्र पनि वर्णन गरिएको छ।
किताबका दुवै भाग सर्वसाधारणले बुझ्ने गरी शिक्षात्मक शैलीमा लेखिएको छ। यस्तो शैलीको पहिलो प्रयोग पाटन संग्रहालयको लेबलिङमा मेरी शेपर्ड स्लस्सरले गरेकी थिइन्। म आफैले पनि अमेरिकाको लस एञ्जल्सस्थित क्रोकर म्युजियममा नेपाली कला सम्पदा प्रदर्शनीको क्याटलग र त्यसबारे २०१३ मा प्रकाशित पुस्तक 'दि आर्ट अफ नेपाल' मा त्यही शैली अनुसरण गरेको थिएँ।
यो पुस्तकमा दर्पण लिएकी एक देवीलाई लक्ष्मी वा पार्वती हुनसक्ने भनी प्रश्नवाचक चिह्न दिइएको छ। नेपालमा दर्पण लिएकी देवी लक्ष्मी र भारतमा दर्पण लिएकी देवी पार्वतीका मूर्ति पाइन्छन्। तर राष्ट्रिय संग्रहालयबाट प्रकाशित यस पुस्तकमा पार्वतीको अर्धभागले दर्पण समातेको देखाइएको छ। दोस्रो शताब्दीको यो मूर्तिबाट नेपालका पार्वतीका प्राचीन मूर्तिमा पनि दर्पण नै समातिने गरिएको रहस्य खुल्छ।
पुराणमा अर्धनारीश्वरबारे यस्तो कथा पाइन्छ —
भृंगी ऋषि शिवभक्त थिए। उनी शिवजीलाई मात्रै पुज्थे, शक्तिलाई पुज्दैनथे। त्यही भएर देवी क्रोधित भएर भृंगी ऋषिको शरीरबाट सबै शक्ति खिँचिन् र उनलाई शक्तिहीन बनाइदिइन्। यसले उनी उठ्नै नसक्ने गरी थलिए।
भृंगी ऋषिले शिवजीसँग शक्ति प्राप्तिका लागि याचना गर्दा शिवजीले उनलाई एक लट्ठी दिए। त्यही लट्ठीको भरमा उनले शिवजीको मात्र उपासना गरे।
देवी शक्ति शिवको अभिभाज्य अंग भएर रहन चाहन्थिन्। त्यसैले आजित भएर देवीले केदार महाव्रत बसिन्। यसबाट शिवजी प्रसन्न भएर देवीलाई उनकै शरीरको एक भाग भएर रहने वरदान दिए।
फलस्वरूप दायाँतर्फको अर्धभाग शिव र बायाँतर्फको अर्धभाग देवी भएर अर्धनारीश्वरका रूपमा देखिए।
किताबको पहिलो नम्बरको वस्तुलाई यक्ष–यक्षिणी भनिएको छ। तर यसको टाउकोमा नागको फणा दिइएकाले यिनीहरू नागराजा र नागरानी हुन् भन्ने प्रस्ट हुन्छ।
त्यसस्तै पुस्तकको छैठौं वस्तुमा रहेको पाञ्चायन देवताको बीचमा अवस्थित देवी रूद्रायणीलाई वनदेवीका रूपमा दर्शाइएको छ। यसमा सप्तफणालंकृत नागको फणले ओढाइएको छ, जुन नेपाल वा विशेषतः ललितपुरको उल्लेखनीय विशेषताका रूपमा लिन सकिन्छ।
एघारौं वस्तु लक्ष्मीका रूपमा वर्णित धातुको मूर्तिलाई गोपिनीको रूपमा अर्थ्याउन सकिन्छ। मजुरको प्वाँखको पंखा हम्काइरहेकी र कार्तिक नाचमा गोपिनीहरूले लगाउनेजस्तै मुकुट पहिरिएकीले यस्तो अर्थ गर्न सकिन्छ।
सोह्रौं वस्तुका रूपमा वर्णित महालक्ष्मीको मूर्तिको माथिपट्टि तोरणमा क्रमशः रूद्रायणी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी र बायाँ र दायाँ ब्रह्मायणी र चण्डिकाका साना आकृति अंकित भएकाले यसलाई अष्टमातृकाको मूर्ति मान्न सकिन्छ। यसको मुनिपट्टि प्वाल सहितको मकराकृति रूपको धारोले यो मूर्ति काठमाडौं उपत्यकामा इन्द्रजात्रामा प्रदर्शन गरिने मूर्ति हो भन्ने थाहा लाग्छ।
यस प्रकार पुस्तक सर्सर्ती हेर्दा केही थप सुधार आगामी संस्करणमा समावेश गरी प्रकाशन गर्न सकिने देखिन्छ।
नेपाली कलाका पारखीले यो पुस्तक रूचाउने छन्। देशको इतिहास, संस्कृति र कला–सम्पदाको प्रचारमा टेवा पुर्याउने उद्देश्यमा यो पुस्तकलाई सफल मान्न सकिन्छ।
***