एयर इन्डिया जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।
१२ जुनमा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको केहीबेरमै मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्य सहित विमानमा रहेका २४२ जना र आवासीय क्षेत्रका सर्वसाधारणसमेत गरी २७० भन्दा बढीको मृत्यु भएको थियो।
दुर्घटना भएको एक महिनापछि शनिबार प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको हो।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले विमान ३२ सेकेन्डमै दुर्घटना भएको खुलाएको छ।
प्रारम्भिक अनुसन्धानले जेटका दुई इन्जिनमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द भएको देखाएको छ। त्यसो हुँदा भुइँ छोडेको केही समयपछि नै 'थ्रस्ट' गुमेर उड्न नसकेको देखिएको अधिकारीहरूले बताएका छन्।
सामान्यतया उडानका बेला यी स्विचहरू अन हुनुपर्ने र ती कसरी वा किन बन्द गरिए भन्ने स्पष्ट नभएको ती व्यक्तिहरूले खुलाए। यो कार्य भूलवश वा जानाजानी थियो वा फेरि अन गर्ने प्रयास भएको थियो भन्ने खुलेको छैन।
इन्धन आपूर्ति रोकिएपछि टेकअफ लगत्तै एक सेकेन्डको अन्तरमा जहाजका दुवै इन्जिन बन्द भएको अनुसन्धान प्रतिवेदनमा खुलाइएको छ।
ब्ल्याक बक्सबाट ककपिटमा पाइलटहरूबीच भएको कुराकानी पनि सार्वजनिक भएको छ। इन्जिन बन्द भएपछि ककपिट एक जना पाइलटले अर्कालाई इन्जिन तपाईंले बन्द गर्नुभएको? भनेर प्रश्न गरेका थिए। तत्कालै अर्का पाइलटले ‘होइन’ भनेर जबाफ दिएका थिए।
विमानमा क्याप्टेन सुमित सभरवाल र सह-पाइलट क्लाइभ कुन्दर थिए। सुमितसँग वाइड-बडी वा ठूला विमानहरू १० हजार घण्टाभन्दा बढी उडाएको अनुभव थियो। उनका सह-पाइलटसँग ३४ सय घण्टाभन्दा बढीको अनुभव थियो।
पाइलटहरूले लगत्तै जेटका इन्जिनहरू पुन सुरू गर्ने प्रयत्न गरेका थिए। इन्जिन वान (एन-१) केही हदसम्म पुन सुरू भएपनि दुर्घटना हुनुभन्दा अगाडि दोस्रो इन्जिन (एन-२) स्टार्ट हुन नसकेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
विमान नजिकैको मेडिकल कलेजका विद्यार्थीहरूको छात्रावासमा खस्नुअघिका क्षणमा जेटको आपतकालीन-शक्तिको जोहो गर्ने र्याम एयर टर्बाइन (र्याट) सक्रिय रहेको देखिन्छ। ती स्विचहरू अफ भएका कारण र्याटको प्रयोग गरेर आपत्कालीन-शक्तिको जोहो गर्न खोजिएको हुनसक्छ।
विशेषगरी इन्जिनको मुख्य पावर सप्लाई बन्द भएको अवस्थामा र्याट सक्रिय हुन्छ। यसले कम्तीमा पनि विमानको नेभिगेसन र कन्ट्रोल सिस्टमलाई केही हदसम्म सञ्चालनमा राख्न सहयोग पुर्याउँछ। यसले आकस्मिक अवस्थामा विमानलाई न्यूनतम आवश्यक प्रणालीहरू चलाइराख्न सघाउँछ।
जहाज दिउँसो १:३९ बजे उडेको थियो। विमानस्थलबाट १९० मिटर (६२५ फिट) को उचाइमा पुगेपछि जहाजसँग अन्तिम सम्पर्क भएको भनिएको छ। उडान भर्नेबित्तिकै पाइलटले एयर ट्राफिक कन्ट्रोलमा आपतकालीन सन्देश पठाएका थिए। तर त्यसको लगत्तै कुनै जबाफ नआएको अनुसन्धान प्रतिवेदनबाट खुलेको छ।
शुक्रबार १४ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन प्रारम्भिक मात्रै हो।
एयर इन्डिया भारतको सबैभन्दा पुरानो एयरलाइन्स कम्पनी हो। दशकौंदेखि सरकारी स्वामित्वमा रहेपछि भर्खरै निजीकरण भएको सो कम्पनी अहिले सञ्चालन सुधार गर्न लागि परेको थियो। त्यस्तै अमेरिकी विमान निर्माता बोइङको ड्रीमलाइनर पनि पहिलो पटक दुर्घटना भएको हो।
त्यसैले के कारणले यो दुर्घटना भएको हो भन्ने कुराले एयर इन्डिया र बोइङ दुवैको व्यापारमा फरक पार्नेछ।
२०११ मा सेवामा आएको ड्रीमलाइनर विश्वका एयरलाइनहरू माझ लोकप्रिय छ। सामान्यतया अन्तर्राष्ट्रिय लामो-दूरीका उडानका लागि ड्रीमलाइनरको प्रयोग गरिन्छ। यसअघि ड्रीमलाइनरको दुर्घटना भएको थिएन। बोइङले दुर्घटनामा भएको सो विमान जनवरी २०१४ मा एयर इन्डियालाई हस्तान्तरण गरेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)