हरेक सन्तानको मनभित्र आफ्ना आमा–बुबाप्रतिको माया र दायित्व बसेको हुन्छ।
समय, स्थान र जिम्मेवारीले यो माया कहिलेकाहीँ टाढा देखिए पनि यसलाई कहिल्यै मेटाउन सकिँदैन। यो मेरो जीवनको कथा मात्र होइन, आज धेरै नेपाली परिवारको साझा कहानी हो।
मेरो परिवारमा दुई दाजुभाइ र एक दिदी छौं। भाइ अस्ट्रेलियामा छ, ऊ त्यहाँ गएको पाँच वर्ष भइसक्यो। मेरी दिदी अमेरिकामा बसेको सात वर्षभन्दा बढी भयो। म घरमा आमा–बुबा र श्रीमतीसँग बस्छु। हाम्रो विवाह भएको तीन वर्ष पूरा भयो।
अघिल्लो वर्ष आमा–बुबाले अस्ट्रेलियामा छोराको घरमा छ महिना समय बिताउनुभयो। नयाँ ठाउँ, नयाँ जीवनशैली र आफ्नो छोराको परिवारसँग बिताएको समय उहाँहरूका लागि खुसीको क्षण थियो।
नेपाल फर्किएपछि उहाँहरूले फेरि अमेरिका जाने योजना बनाउनुभयो। मेरी दिदीको आग्रहले उहाँहरू दिदीको परिवारसँग केही महिना बस्न चाहनुहुन्छ।
तर यतिबेला म भने भित्रभित्रै आफूलाई खाली महसुस गरिरहेको छु। किनकि आमा–बुबा विदेश जानुहुन्छ, उनीहरूसँग खुसी हुनुहुन्छ, म त्यो बुझ्छु। तर मेरो रहर भने सधैं उहाँहरूकै छेउमा बस्ने हो।
मेरो काम चितवन मेडिकल कलेजको क्याथ ल्याबमा छ। क्याथ ल्याब इन्चार्जको रूपमा काम गर्दै जाँदा म जीवनका धेरै यथार्थलाई नजिकबाट देख्छु। यहाँ धेरैजसो बिरामी श्रीमान–श्रीमती एक–अर्काको साथमा आउँछन्। कोही सँगै हिँडेर आउँछन्, कोही हात समातेर। ती दृश्यले कहिलेकाहीँ मेरो आँखामा चसक्क घोच्छ। तर धेरै पटक यस्ता घटनाहरू पनि देख्छु, जहाँ बिरामीले आफ्ना छोराछोरीको नाम मात्रै लिएर बाँच्नुपरेको छ।
केही समय अगाडिको कुरा हो, ७० वर्षीय एक जना बिरामी बुवा क्याथ ल्याबमा उपचारका लागि आउनुभएको थियो।
उहाँको अवस्था गम्भीर थियो। उहाँलाई छोराछोरीले गहिरो माया गर्थे भन्ने कुरा मैले सोधपुछ गर्दा थाहा पाएँ। तर दुःखको कुरा, उहाँका तीनै जना सन्तान विदेशमा हुनुहुन्थ्यो।
‘बाबु, तिमीहरू जस्तो छोराहरूले गर्दा म अझै बाँचिरहेको छु। तर हाम्रा सन्तान हाम्रै हात समातेर यहाँ बसिदिन्थे भने कति राम्रो हुन्थ्यो,’ बिरामीले यसो भन्दा मभित्र कताकता तिखो चोट परेको जस्तो भयो।
यस्ता घटनाहरू मैले क्याथ ल्याबमा धेरै देखेँ।
अस्पतालका कोठामा बाआमा भर्ना हुन्छन्, तर बाहिरबाट छोराछोरीको फोन मात्र आउँछ। उनीहरू पैसा पठाउँछन्, सबै सुविधा जुटाइदिन्छन्। तर बाआमाले चाहेको कुरा भने सन्तानको साथ मात्रै हो।
हरेक नेपाली परिवारको एउटा यथार्थ हो, विदेश जाने सपना।
शिक्षा, रोजगारी र आर्थिक अवसरको खोजीमा लाखौँ नेपाली युवा विदेशिएका छन्। घरमा बुढा आमा–बुबा मात्रै छन्, जसका सन्तानले विदेशमा आफ्नो भविष्य बनाइरहेका छन्। मैले यो कता आफ्नो आँखाले देखेको मात्र होइन, आफ्नो जीवनमा पनि बुझेको छु।
मेरो परिवार पनि यस वास्तविकताबाट अछुतो छैन। मेरो भाइले अस्ट्रेलियामा, दिदीले अमेरिकामा आफ्नै मेहनतले खुसीको जीवन बिताउँदै हुनुहुन्छ। तर यो खुसीको अर्को पक्ष पनि छ। घरमा सन्तानविहीन आमा–बुबा।
विदेश बसाइँमा सन्तानका खुसी त देखिन्छन् तर बा–आमाले चाहेको सानो रहर, ‘छोराछेरीसँग सँगै बस्न पाउँछु’ भन्ने आकांक्षा धेरै पटक अधुरो हुन्छ।
नेपाली समाजमा आमा–बुवालाई भगवानको दर्जा दिइन्छ। तर विडम्बना के छ भने, बाआमाको बुढ्यौलीमा उहाँहरूलाई आत्मिक खुसी चाहिन्छ, जसको लागि सन्तानको साथ अपरिहार्य छ।
अहिले आमा–बुवा विदेशमा सन्तानको घरमा घुम्न जानु एउटा फेसनजस्तै बनेको छ। दाजु अस्ट्रेलियामा छ, दिदी अमेरिकामा छ भनेर गर्व गर्ने नेपालीहरू थुप्रै छन्। बा–आमा पनि सन्तानका घरमा जान पाउँदा निकै खुसी देखिनुहुन्छ। तर कहिलेकाहीँ त्यो उहाँहरूको ‘छोराछोरीलाई हेर्ने’ रहरभन्दा पनि ‘सन्तानलाई नजिकबाट महसुस गर्ने’ चाहना हो।
काम गर्ने ठाउँमा बिरामीका कुराकानी सुन्दा यस्तो लाग्छ। ‘स्वास्थ्यले साथ नदिँदा बाँच्नुपरेको एउटा सहारा भनेकै सम्झना हो।’ सुविधा त किन्न पाइन्छ तर सन्तानको माया र साथ कहिल्यै बजारबाट किनेर ल्याउन सकिँदैन।
हामी नेपालीको जीवनमा परम्परा र संस्कृति ठूलो कुरा हो। म जस्ता धेरै सन्तानले सोच्छन् बाआमासँग जीवनभर बस्न पाए कस्तो हुन्थ्यो। तर सन्तानहरूको विदेश मोहले गर्दा त्यो सम्भव नहुने अवस्था छ।
विदेशमा बसेर सफलता पाएका सन्तानका आमा–बुवा खुसी देखिए पनि भित्रभित्र कताकता खालीपनको महसुस गर्नुहुन्छ। उहाँहरूको चाहना सधैँ आफ्ना छोराछोरीसँग बस्ने नै हो।
आजको नेपालमा, बुढ्यौलीमा एक्लिएका बा–आमाका कथा हरेक टोल–छिमेकमा सुन्न पाइन्छ।
गाउँमा छोराछोरी विदेश गएका कारण सुनसान घरहरू, आँगनमा बाआमाको एक्लो हिँडाइ र कोठामा तस्बिरमा झुन्डिएका छोराछोरीका फोटोहरू यस्तै दृश्यले नेपाली समाजको वास्तविकता झल्काउँछ।
मेरो लागि यो कथा जीवनको साँचो अनुभूति हो।
म आफ्ना बा–आमालाई कहिल्यै गुमाउनु नपरोस् भन्ने चाहन्छु। उहाँहरूको विदेश जाने रहर पूरा होस्, तर उहाँहरू फर्किएर सधैँ मेरो छेउमा बस्न सक्नुहोस्।
हामीले विदेशबाट फर्केर आउने पैसाभन्दा पनि आमा–बुबाको साथलाई महत्व दिनुपर्छ। जीवनभर सँगै बस्न पाउने सपना, बा–आमाको खुसीमा आफ्नो खुसी देख्न पाउने चाहना नै सन्तानको सच्चा कर्तव्य हो।
नेपालको चाडपर्वमा घर परिवारसँग बसेर माया साटसाट गर्ने त्यो समय साँच्चै अमूल्य हुन्छ। तर परिवारका सदस्य परदेशमा हुन्छन्, त्यो खुसी अधुरो लाग्छ।
मेरो आफ्नै परिवारको कुरा गर्दा, दसैंको बेला मेरो भाइले अस्ट्रेलियाबाट फोन गर्छन्, मेरो दिदी अमेरिकाबाट भिडिओ कलमा मुस्कुराउँछिन्। हामी सँगै नभए पनि घरमा उनीहरूको सम्झनाले वातावरण तातो बनाउँछ। आमाले जमरा राख्दै छोराछोरीलाई सम्झेर ‘यसपालि भएन नि’ भन्नुहुन्छ।
टीका लगाउँदा बुबाको नजर बारम्बार ढोकातिर जान्छ, सायद उहाँलाई हाम्रा सबै सन्तान एकै ठाउँमा भेला भएको दृश्यले खुसी पार्दो हो।
तीजमा आमाले दिदीलाई सम्झेर ‘यसपालि त मन नलाग्ने’ भन्नुहुन्छ, अनि भाइटीकामा बुबाले ठट्टा गर्दै भन्नुहुन्छ, ‘छोराहरू विदेशै बस्न थाले भने टीका कसले लगाउने हो?’ त्यो कुरा सुन्दा मुटु चसक्क दुख्छ। मेरी श्रीमती र मैले सकेसम्म बा–आमालाई त्यो खालीपन महसुस नहोस् भनेर सधैँ प्रयास गर्छौं। जे जति गरिए पनि परिवारका सबैजना एक ठाउँमा भेला हुने त्यो क्षणको महत्वलाई कसैले पनि बदल्न सक्दैन।
विदेशमा बसेर चाडपर्वमा समय छुट्याएर फोन गर्नु ठूलो कुरा हो, तर नेपालमा आमाको हातले पकाएको खाना, बुबाको आशीर्वाद र घरको माहोलले दिने आत्मीयता भने कहिल्यै परदेशमा भेटिँदैन। यही कारण मलाई सधैँ लाग्छ। जसरी पनि बा–आमको साथमा सधैं बस्नुपर्छ, उहाँहरूको खुसी र चाडपर्वको रौनक जिउँदो राख्नुपर्छ। केही पैसा र सुविधा भन्दा परिवारको माया नै सबैभन्दा ठूलो सम्पत्ति हो।
जीवन भनेको खुसी र सन्तुष्टिको खोजी मात्र हो, जुन परिवारसँगै हुँदा पूर्ण हुन्छ। मेरा बा–आमा संसार घुम्न चाहनुहुन्छ, सबै सन्तानको घरमा पुगेर उनीहरूको प्रगति देख्न चाहनुहुन्छ र त्यो उहाँहरूको लागि ठूलो गर्वको कुरा हो। जब उहाँहरू हिँड्नका लागि तयार हुनुहुन्छ, मुस्कानसहित भन्नुहुन्छ, ‘सबैलाई भेट्न पाउँदा मन खुसी हुन्छ नि।’ त्यो मुस्कानले उहाँहरूको रहरलाई देखाउँछ, तर मेरो मन भने भित्रभित्रै भक्कानिन्छ। किनभने मलाई सधैँ उहाँहरूको हात समातेर, उहाँहरूकै छेउमा बाँच्न मन छ।
म चितवन मेडिकल कलेजको क्याथ ल्याबमा धेरै व्यस्त हुन्छु। कहिलेकाहीँ कामको चापले समय बितेको पत्तै हुँदैन। त्यस्तो समयमा पनि मेरी आमाले फोन गरेर छोरा, खान खायौ त? भनेर सोध्नुहुन्छ।
उहाँको यो सानो चिन्ताले मलाई भित्रबाट धेरै गहिरो सान्त्वना दिन्छ। साँझ जतिबेला घर पुग्छु, त्यो बेला जुन समय भए पनि बा–आमा र मेरी श्रीमती मेरो प्रतीक्षा गरिरहनुभएको हुन्छ।
हामी सबै सँगै बसेर खाना खान्छौं, अनि दिनभरको थकान एकै छिनमा बिसर्जन हुन्छ। त्यो सानो क्षण, जहाँ म सन्तानको रूपमा बा–आमाको साथमा र श्रीमतीको मायाले भरिएको वातावरणमा छु, त्यही नै मेरो लागि सबैभन्दा ठूलो खुसी हो।
मेरी श्रीमती यो घरको जेठी बुहारी हुन्, उनले आमा–बुबाको ख्याल राख्दै, हरेक दिन आफ्नो जिम्मेवारीको गहिरो अर्थ खोजिरहेकी छन्। उनको त्यो माया र समर्पणले घरलाई अझ न्यानो बनाएको छ। जब उनी आमा–बुबासँग बसेर कुरा गर्छिन्, म टाढैबाट हेरे सोच्छु यो सम्बन्धलाई बोक्ने कति भाग्यमानी छु म।
यो सबै अनुभवले मलाई सिकाएको छ। परिवारसँग बिताएका हरेक क्षण अमूल्य छन्। आमा बुबाको हात समातेर सँगै बस्न पाउनु, उहाँहरूको खुसीमा म खुसी हुनु ठूलो कुरा रहेछ। जब जीवनको अन्तिम घडी आउँछ, न बैंकमा थुपारेको सम्पत्ति काम लाग्छ, न संसारभरका
सफलता।
त्यो बेला केवल मायाले भरिएको एक नजर, हात समातेर भन्न पाउने त्यो वाक्य ‘बा–आमा, म यहाँ छु, तपाईंहरूको लागि’ यही शब्दहरूले जीवनको सम्पूर्ण अर्थ पूरा गर्छ।
आखिरमा, संसारको सबभन्दा ठूलो धन भनेकै परिवारको माया हो, जसलाई कहिल्यै गुम्न दिनु हुँदैन। मैले अस्पतालमा काम गर्ने क्रममा धेरै बिरामीहरूसँग समय बिताएको छु। कैयौं पटक मैले देखेको छु, बुबा–आमा उपचारका लागि अस्पताल आउँदा उहाँहरूका छोरा–छोरी कोही साथमा छैनन्। बाहिरबाट लाग्छ, उहाँहरू साहसी हुनुहुन्छ, सबै कुरा व्यवस्थापन गर्न सक्नुहुन्छ, तर जब गहिरो कुरा गरिन्छ, उहाँहरूको आँखामा एक प्रकारको खल्लोपन र मनको गहिरो पीडा देख्न सकिन्छ।
धेरैजसो आमाबुबाले भन्नुहुन्छ, ‘मेरो छोरा अस्ट्रेलियामा छ, मेरी छोरी अमेरिकामा छ।’ तर त्यो गर्वसँगै उहाँहरूको आवाजमा एउटा नरम पीडा लुकेको हुन्छ। उहाँहरू गाउँ समुदायमा गर्वसाथ छोराछोरीको प्रगतिको कुरा गर्न त पाउनुहुन्छ, तर मनमा एउटा अधुरो चाहना बाँकी नै रहन्छ– यिनीहरू हाम्रो छेउमा हुँदा कति सुखी हुने थियौं।
अस्पतालमा उपचार गर्दा धेरै बुबा–आमाले भन्नुभएको सुनेको छु, अब त छोरा छोरीलाई भेट्न पाइँदैन होला र त्यो वाक्यले मेरो मन भक्कानिन्छ।
जब स्वास्थ्य समस्या गम्भीर बन्छ, सन्तानको आवश्यकता अझ बढी महसुस हुन्छ। अस्पतालका वार्डहरूमा उहाँहरूको छेउमा कोही नहुँदा, त्यो एक्लोपनको क्षणले उहाँहरूको आत्मालाई मात्र होइन, मेरो जस्तो छोराको मनलाई पनि छोइरहन्छ।
म यस्तै दृश्य देख्दा बारम्बार महसुस गर्छु कि जीवनमा सन्तानका लागि जे गरे पनि, आमाबुबाको माया र स्नेहको सट्टा केही दिन सकिँदैन।
विदेशमा छोराछोरी हुनु ठूलो कुरा होला, तर आफ्ना बुबा–आमाको उपचारका बेला उनीहरूको हात समातेर भन्न पाऊन्, ‘बा, म यहाँ छु।’ यो भन्दा गर्वको कुरा केही पनि हुँदैन। आखिरमा, बुबा–आमाले चाहेको भनेको सन्तानको साथ र माया हो, जसले उहाँहरूको जीवनमा साँचो सन्तुष्टि र खुसी दिन्छ।
हाम्रो जीवनका हरेक पाइलामा बुवाले गर्नुभएको संघर्ष अमूल्य छ, जसले हाम्रो परिवारलाई आज यहाँसम्म ल्याएको छ। कहिलेकाहीँ हामीलाई लाग्छ, उहाँले गरेको मेहनतले नै आज मेरो दिदी र भाइलाई विदेशमा सफल बनाएको छ। उहाँहरू टाढा भए पनि हाम्रो परिवारका लागि खट्नु, हामीप्रतिको प्रेम र जिम्मेवारीको प्रमाण हो।
जीवनको यो चक्रले देखाउँछ हिजो बुवाले हामीलाई सक्षम बनाउन संघर्ष गर्नुभयो र आज दिदीभाइ हामी सबैको उज्जवल भविष्यको लागि त्यही मार्गमा हिँडिरहनुभएको छ। यो केवल समयको कथा मात्र नभई भावनाले भरिएको एउटा बन्धन हो।
आमाले पनि सधैं परिवारलाई जोड्ने काम गर्नुभयो, उहाँको माया र धैर्यताले हाम्रो घरलाई एकतामा बाँधिराखेको छ। हामी सबैले आ–आफ्नो ठाउँबाट जस्तोसुकै संघर्ष सामना गरे पनि हाम्रो परिवारको प्रेम र आदर कहिल्यै घटेको छैन। दिदीभाइ टाढा बसेर हाम्रो लागि जुन त्याग गर्नुभएको छ, त्यसले हाम्रो सपनालाई जीवित राखेको छ।
अन्ततः सबै सन्तान परदेश जानु आफ्नो खुसीका लागि मात्रै होइन। धेरैले बाध्यता र परिस्थितिका कारण विदेश रोज्नुपरेको छ। नेपालमा शिक्षा, रोजगारी र अवसरको कमीले गर्दा हजारौं युवाहरू आफ्नो घर–आँगन छोडेर संसारका विभिन्न कुनामा पुग्छन्। आमाहरू आँसु लुकाउँदै छोराछोरीलाई पढेर ठूलो मान्छे बन्नु भनेर विमानस्थलमा बिदाइ गर्छन्। त्यो आमाको चाहना सन्तानले राम्रो भविष्य पाओस् भन्ने हुन्छ।
उता, छोराछोरी पनि आमा बाबाको सपना पूरा गर्न कठोर परिश्रम गरिरहेका हुन्छन्।
यसरी विदेशमा बसेर परिवारका लागि दिनरात मेहनत गर्ने छोराछोरीहरूको निर्णय पनि गलत होइन। उनीहरूले नेपालमा नदेखिएको भविष्य विदेशमा खोज्दैछन्, जुन कुनै पनि परिवारलाई गर्व गर्नलायक कुरा हो। तर यो यात्रा सधैँ सजिलो हुँदैन। परदेशमा बिताएका कठिन दिनहरू, एक्लोपन र घरको सम्झनाले उनीहरूको मन पनि कहिल्यै शान्त हुँदैन।
हरेक पटक तीज, दसैं, तिहार आउँदा उनीहरूलाई घरको यादले सताउँछ।
त्यसैले, यो कुरा बुझ्न जरूरी छ कि परदेश जानेहरूलाई दोष लगाउन मात्र पर्याप्त हुँदैन। उनीहरूको बाध्यता र संघर्षलाई सम्मान गर्नुपर्छ। तर सँगै नेपालमै अवसरहरू सिर्जना गर्न, युवाहरूलाई आफ्नै देशमा फर्केर केही गर्न प्रेरित गर्न हामी सबै लाग्नुपर्छ।
सन्तान परदेशमा गएर आमाबाबाको लागि कमाइ पठाउँछन्, तर त्यही माया र साथ दिन उनीहरूको आफ्नै उपस्थितिको अभावले कहिल्यै पूर्ति गर्न सक्दैन।
यस कथाको अन्त्य यत्ति हो परिवार भनेको नजिक रहनु, साथ दिनु र खुसी बाँड्नु हो। परदेशमा भएका छोराछोरीको माया जति टाढाबाट भए पनि अमूल्य छ, तर नेपालमै बस्ने सन्तानको साथले आमाबाबाको जीवनलाई पूर्णता दिन सक्छ।
तसर्थ, परिस्थितिले परदेश धकेले पनि हाम्रो उद्देश्य भनेको परिवार र आफ्नोपन जोगाउँदै अघि बढ्ने हुनुपर्छ।
‘पैसा कमाउन सपना बोके पनि, आफ्नो माया र जिम्मेवारी कहिल्यै भुल्नु हुँदैन।’
(अमृत काफ्ले चितवन मेडिकल कलेजका क्याथ ल्याब इन्चार्ज हुन्)