नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताका संवाहक भएको बताएका छन्।
बुधबार सपथ लिएका एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलीले नेपालमा नियन्त्रित अस्थिरता चाहने तत्वहरूसँग उनीहरूको तार जोडिएको बताए।
उनले भने,‘नेपालमा अस्थिरता फैलाउने तत्वहरू को हुन् भन्ने हामीले चिन्नुपर्छ। तिनीहरू प्रचण्ड एन्ड कम्पनी र माकुने एन्ड कम्पनी हुन्। उनीहरूको स्विच अन/अफ कहाँबाट हुन्छ भन्ने हामीले छर्लंग देखेका छौं।’
ओलीले माओवादीले चलाएको सशस्त्र युद्ध परिवर्तनका लागि नभएर नेपालमा अस्थिरता सिर्जना गर्न अपनाइएको विधि भएको दाबी गरे।
‘ठूला क्रान्तिका कुरा गरे। गाउँ-गाउँका युवा महिला ज्यान दिन तयार भए तर हतियार कहाँबाट आयो त्यतातिर हेर्न दिइएन,’ ओलीले भने,‘जनयुद्ध सफल हुनुका लागि थालिएको नै होइन। अस्थिरता सिर्जना गर्न अपनाइएको अस्त्र हो।’
उनले नेपाली कांग्रेसको पनि आलोचना गरे। कांग्रेसकै कमजोरीका कारण २०१७ साल र २०६१ मा राजाले शासन लिएको ओलीको कथन थियो।
उनले प्रचण्ड र नेपालको पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताए।