सेयर बजारबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच दोहोरी चलेको छ।
गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए।
उनको उक्त भनाइले सेयर लगानीकर्ताहरूमा तरंग आएको थियो। धेरैले उनको आलोचना गरेका थिए।
बुधबार भएको अर्को कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई अस्थिरताका संवाहक भएको भन्दै चर्को आलोचना गरेका थिए। उनले प्रचण्डको सेयर बजारबारेको अभिव्यक्ति पनि त्यसको अंग भएको बताएका थिए।
‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए।’
आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन भइसक्ने ओलीको तर्क थियो।
‘माइतीघरले पुग्दैनथ्यो, सडक तात्थे,’ ओलीले भने,‘अहिले त सब चुपचाप छन्। किनकि सबै अस्थिरता फैलाउने तत्वहरू हुन्।’
ओलीको उक्त भनाइको जवाफ दिँदै प्रचण्डले बिहीबार बिहान विज्ञप्ति जारी गरेका छन्। प्रचण्डको विज्ञप्तिमा भनिएको छ- मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रूपमा खारेज गर्दछु। आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र मसमेत लाखौं लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु। दलाल पुँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पाँच बुँदे सहमति भएको भनेर ओलीले गरेको दाबी प्रमाणित गर्न चुनौती दिएका छन्।
‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ,‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्रमात्र प्रदर्शन गरेका छन्। म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’