विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।
उनले बागमती प्रदेशकी संयोजक रञ्जु दर्शना र अन्तर्राष्ट्रिय समितिका संयोजक सुरेश भट्टलाई जिम्मेवारीबाट हटाएका छन्।
पुस १ गते पाण्डेलाई मिश्रले स्पष्टीकरण सोधेको र दर्शना र भट्टलाई संयोजकबाट हटाएको नेता हरिश भट्टले बताए।
मिश्रले ती बागमती प्रदेश र अन्तर्राष्ट्रिय समितिका सहसंयोजकलाई बोलाएर नयाँ संयोजक छान्ने प्रस्ताव ल्याउन निर्देशन दिएको उनले बताए।
मिश्रले बिहीबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए।
पाण्डेलाई पुस ४ सम्म स्पष्टीकरण बुझाउन समय दिइएको छ।
त्यस्तै, पार्टीका वरिष्ठ नेता केशव दाहाललाई प्रशिक्षण विभाग प्रमुखबाट हटाइएको छ। साथै, संसदीय दलका नेता रमेश पौड्याललाई फिर्ता बोलाउने तयारी गरेको बुझिएको छ।
उनले आफूसँग बहुमत छ भनेर निर्वाचन आयोगमा पेस गरेको दस्ताबेज नक्कली भएको भन्दै पाण्डेले निर्वाचन आयोगमा उजुरी दिएका थिए।
पाण्डेले निर्वाचन आयोगमा उजुरी दिएपछि निर्वाचन आयोगले मिश्रलाई स्पष्टीकरण सोधेको थियो।
एकचोटि फुटेर गत मंसिरमा दोस्रोपटक एकीकरण गरेका मिश्र र पाण्डेले एकीकरण गर्दा पार्टीलाई गतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने र विगतका आन्दोलनका उपलब्धीहरूलाई रक्षा गर्ने पार्टी बनाउने भनेर लिखित सहमति गरेका थिए।