नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीको विषयमा छानबिन गर्न उपसमिति गठन भएको छ।
पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले सिइओ रेग्मीमाथि छानबिन गर्न उपसमिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको हो।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। तीन सदस्यीय समितिमा दुई जना मन्त्रालयबाट सिफारिस भएका व्यक्ति हुनेछन् ।
रेग्मीले विदेशबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई दुर्व्यवहार गरेको र बोर्डको हितविपरीत काम गरेको गुनासो आएपछि छानबिन गर्न सञ्चालक समितिले समिति बनाएको हो। छानबिन प्रभावित नहोस् भनेर रेग्मीलाई निलम्बन गरिएको पर्यटनका उपाध्यक्ष रिजालले सेतोपाटीलाई जानकारी दिए। ‘छानबिन समिति बनेपछि सिइओलाई काम गर्न नदिने भन्ने व्यवस्था अनुसार उहाँलाई निलम्बन गरेर छानबिन अगाडि बढाउन लागिएको हो’, उनले भने,‘१५ दिन भित्र समितिले प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने निर्णय हुन्छ।’
करिब १ महिना अगाडि लन्डनबाट फर्किंदा रेग्मीले ल्याएको ६ बोतल मदिरा भन्सार नियमविपरीत भएको भन्दै कर्मचारीले रोकेका थिए । तर, रेग्मीले उल्टै भन्सारका कर्मचारीलाई दुर्व्यवहार गरेको भन्ने खबर बाहिर आएको थियो।
पदीय हैसियतको दुरुपयोग, नैतिक आचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको भएकाले सिइओ रेग्मीको विषयमा छानबिन गर्न समिति बनाइएको हो। यसअघि पर्यटन मन्त्रालयले उनलाई २ पटकसम्म स्पष्टीकरण सोधेको थियो।
यसैबीच रेग्मीलाई आफू निलम्बनमा परेकोबारे केही जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
‘शुक्रबाको बैठकमा मलाई कुरा राख्न भनियो। मैले भएका सबै कुरा बताइदिएँ। त्यसपछि हामी छुट्टै मिटिङ गर्छौं भनेपछि म बाहिरिएँ।, घर आएर हेर्दा समाचार देखेँ। तर मलाई केही थाहा छैन’, उनले सेतोपाटीसँग भने,‘मैले निल्बनको पत्र पाएँ भने बोलौला।’
देखेको बेथितिबारे कुरा उठाउँदा आफूलाई कारबाही गरेको हो भने म पत्र पाउनासाथ कानुनी बाटोमा लाग्नेछु’, उनले भने।
तत्कालिन नेकपा सरकारमा योगेश भट्टराई पर्यटनमन्त्री हुँदा रेग्मीलाई पर्यटन बोर्डको सिइओ नियुक्त गरेका थिए।