सत्तारूढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरूद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको बताएका हुन्।
‘लोकतन्त्रको मर्म विपरित, संविधानको विपरित त हुँदै हो। उहाँहरूले स्वीकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष। यसैलाई त उहाँहरूले जनताको बहुदलीय जनवाद भनेर स्वीकार गर्नुभएको छ। त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो’, उनले भने, ‘बैठकनै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो। संविधानलाई असफल पार्ने कुरा हो।’
उनले एमालेले अब पनि संसद बैठक सूचारू नगरे जनता आफैंले दण्डित गर्ने दावी समेत गरे। अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरूद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गरे।
गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाणनै संसद अवरूद्ध गरिरहनु रहेको उनको भनाई थियो। अध्यक्ष भट्टराईले संसदमा असहमती राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यहीँ भित्र तर्क वितर्क गर्ने रहेको बताए।
‘यसले पनि केपी शर्मा ओली गत पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा हुनुहुन्थ्यो। उहाँहरू अहिले पनि त्यसैमा हुनुहुन्छ। सरकारले अग्रसरता लिने भनेको त उहाँहरुलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ। त्यसलाई दण्डित गर्न मात्रै बाँकि छ। जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाई थियो,’ अध्यक्ष भट्टराईले भने।
अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए।