नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पराजित भएका नेताहरूलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले छ जना उम्मेदवार तय गरेको हो।
आजै बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभामा रिक्त १९ पदमध्ये ६ पदमा कांग्रेसले उम्मेदवार उठाउने निर्णय गरेको थियो।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको केन्द्रीय समिति बैठकमा छ जना उम्मेदवारको नाम प्रस्तुत गरेका थिए। केन्द्रीय सदस्यहरूले उक्त नाम अनुमोदन गरेका छन्।
कांग्रेसले संसदीय समिति गठन गरेर त्यसबाट उम्मेदवार तय गर्नुपर्ने भए पनि केन्द्रीय समितिबाटै उम्मेदवार तय गरेको छ।
माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ। त्यसैले कांग्रेसले आज नै उम्मेदवार तय गरेको हो।
उम्मेदवार तय गर्दा हालै भएको १४ औं महाधिवेशनमा विभिन्न पदमा पराजित भएका नेताहरूलाई समेटिएको छ।
प्रदेश नम्बर १ मा झापाका गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा गोरखाकी कमला पन्त, कर्णालीमा सुर्खेतकी दुर्गाकुमारी गुरूङ, लुम्बिनीमा बाँकेका युवराज शर्मा र सुदूरपश्चिममा कैलालीका नारायण मिश्रलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ।
झापाका बस्नेत भने राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गरेर पनि राष्ट्रिय सभा सदस्य हुन पाएका थिएनन्।
साथै कृष्णप्रसाद कांग्रेस मुख्यसचिव हुन्। उनी काठमाडौं क्षेत्र नम्बर ७ मा महाधिवेशन प्रतिनिधि पराजित भएका थिए।
साथै कमला सहमहामन्त्रीमा पराजित भएकी थिइन्। उनी शेखर कोइराला पक्षबाट सहमहामन्त्री उठेकी थिइन्।
नारायण भने सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायरसँग पराजित भएका थिए।
यीमध्ये गण्डकीमा उम्मेदवार बनेकी कमला र सुदूरपश्चिममा प्रदेश सभापति पराजित नारायण संस्थापनइतर समूहका हुन्।
कांग्रेसले सर्वसम्मत रूपमा उम्मेदवार तय गरेको बताएको छ।
