नवनिर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेवा गर्ने अन्तिम अवसर र अन्तिम चुनौती भएको बताएका छन्।
सोमबार पुनः अध्यक्षमा निर्वाचित भएपछि सम्बोधन गर्दै अध्यक्ष दाहालले यो आफ्नो लागि अन्तिम अवसर र अन्तिम चुनौती भएको बताएका हुन्।
‘मैले भनेको थिएँ, सायद नेतृत्वको रूपमा यो अन्तिम अवसर हुनेछ। नेपाल राष्ट्र र नेपाली जनताको सेवा गर्ने,' उनले भने, 'हरेक दृष्टिकोणले मेरो लागि यो अन्तिम अवसर र यो अन्तिम चुनौती भनेको थिएँ केन्द्रीय कमिटीको बैठकमा।'
उनले महाधिवेशन कुनै व्यक्तिको आदेश अनुसार चल्न नदिएको पनि बताएका छन्।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक समूहगत रूपमा छलफल गरी पारित गरेको भन्दै कुनै व्यक्तिको आदेश अनुसार नचलेको बताएका हुन्।
‘हाम्रो महाधिवेशन विचारमा आधारित भएर, बहस भएको महाधिवेशन बन्यो। हामी राजनीतिक प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक समूहगत छलफल गरेर अगाडि ल्याएर त्यसैमाथि बहस गरेर हामीले प्रतिवेदन विधान पारित गर्यौं,' उनले भने, 'यसर्थमा माओवादी पार्टीको महाधिवेशन कुनै व्यक्तिको आदेश अनुसार चल्ने पनि हुन दिएनौं।'