प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धरान जाने कार्यक्रम छ।
प्रधानमन्त्री देउवा आज बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम तय भएको हो।
धरानका मेयर तिलक राईको सचिवालयले दिएको जानकारीअनुसार आज 'धरान डे' लगायत विभिन्न कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम तय भएको छ।
धरान उपमहानगर स्थापनाको अवसरमा आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ।
प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा आज दिनभर धरानमा रहनेछन्।
साथै धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने र धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम पनि छ।
धरान १२ स्थित प्राविधिक शिक्षालय भवनको पनि प्रधानमन्त्री देउवाले आज उद्घाटन गर्नेछन्।
धरान स्थापना दिवसका अवसरमा आज दिउँसो १ बजे पब्लिक हाइस्कूलमा हुने कार्यक्रम पनि प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने मेयरको सचिवालयले जनाएको छ।