किसान आन्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताले रूपन्देही र पश्चिम नवलपरासीमा दैनिक प्रदर्शन गर्दै आएका छन्।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले विगत पाँच दिनदेखि पश्चिम नवलपरासी र रूपन्देहीको भैरहवा-भूमही सडक खण्ड बन्द गराउँदै आएका छन्।
यसअघि गत आइतबार भैरहवा-लुम्बिनी सडकखण्ड अन्तर्गत बनगाई चोकमा चक्काजाम गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले हटाएपछि उनीहरूको प्रदर्शन भैरहवा परासी खण्डमा केन्द्रित भएको हो।
भैरहवा लुम्बिनी सडकखण्डमा बन्द र प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरे पनि उनीहरू झनै आन्दोलित बनेका छन्।
रूपन्देही प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोज केसीका अनुसार आन्दोलनका नाममा सडकमा अवरोध गर्दै चक्काजाम गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

त्यसपछि उनीहरू भैरहवा भुमही सडकखण्डको परासी सदरमुकामको कसियानजिकै सडक बन्द गराउँदै आएका छन्।
जनमत पार्टीका कार्यकर्ताहरूको अवरोधका कारण प्रहरीले बन्द स्थानदेखि आधा किलोमिटरको दूरीदेखि नै सवारी साधनलाई रोकेर राखेको छ।
१५/२० जनाको समूहमा रहेका जनमत पार्टीका कार्यकर्ताहरूले दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गराउँदै आएका छन्।
सडकमा गरिएको अवरोधका कारण सो सडक खण्डमा चल्ने सवारी साधन सडकमै रोकिन बाध्य भएका छन्।
बुटवल-नारायणगढ सडकखण्ड निर्माणको क्रममा रहेको र पुल निर्माणको लागि ठाउँ-ठाउँमा कल्भर्ट भत्काएर अस्तव्यस्त भएपछि कतिपय सवारी साधन भैरहवा भूमही सडकखण्ड हुँदै आवतजावत गर्न थालेका छन्।

त्यसैगरी बेलहिया भन्सार हुँदै बुटवल पूर्व आउने मालबाहक गाडी यही सडक भएर चल्ने गरेका थिए। जनमत पार्टीका कार्यकर्ताहरूको अवरोधले मालबाहक गाडीहरू पनि बाटोमै रोकिएका छन्।
जनमत पार्टीले किसान माथिको दमन बन्द गर्नुपर्ने, किसान र आफ्ना कार्यकर्तामाथि लगाइएका झूटा मुद्दा फिर्ता गर्नुपर्ने, किसानलाई समयमै मलखाद, बीउविजन र सिँचाइको व्यवस्था गरिदिनुपर्ने, सिँचाइको लागि प्रयोग गरिने बिजुली निःशुल्क गर्नुपर्ने, हावाहुरी र वर्षाका कारण बालीनालीमा पुगेको क्षतिपछि तत्काल राहत उपलब्ध गराउनुपर्ने, किसानहरूको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राखेको छ।