राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरिएको थियो।
गत पुस १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रिस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए। सोही समितिको सिफारिसको आधारमा मन्त्रिपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो।
राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो।
उपाध्यक्ष पदको लागि १२ जनाले आवेदन दिएका थिए। सुरेन्द्र बस्नेत अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष हुन्।
उनी नेकपा माओवादी केन्द्रको विशेष प्रदेश सचिव तथा केन्द्रीय प्रतिनिधि हुन्। राष्ट्रिय युवा परिषदमा यसअघि एमाले केन्द्रीय सदस्य माधव ढुंगेल थिए।
यस्तै एक मन्त्रीका अनुसार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई तीन लाख रुपैयाँ दिने निर्णय भएको छ।