सत्तारूढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ।
बैठक मुख्यगरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित रहेको थियो।
यही माघ १२ गते १९ पदका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। सत्तारूढ गठबन्धनमा रहेका ५ दलले भागबन्डा गरेर उम्मदेवार उठाएका छन् भने नेकपा एमालेलगायत १२ दल पनि यो निर्वाचनमा भाग लिनेछन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले समन्वय समिति गठन गरेको थियो। पौडेल नेतृत्वको यो समितिको दोस्रो बैठक आज बालुवाटारमा बसेको थियो।
दुई महिनाको अन्तरालमा गठबन्धनमा रहेका शीर्ष नेताहरूमध्येबाट समन्वय समिति संयोजक चयन गर्ने सहमति छ।
आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनभित्र रहेका दलका नेताहरू सहभागी थिए।
समन्वय समितिमा सरकारका तर्फबाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि छन्।
मन्त्री कार्कीका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मदेवारलाई जिताउनेबारे आज छलफल भएको थियो।
उम्मेदवारलाई जिताउने प्रदेशस्तरमा पनि दलहरू सम्मिलित रहेको संयन्त्र बनाउन सकिने निर्णय भएको छ।
साथै बैठकमा प्रतिनिधि सभा बैठक सुचारू गर्न एमालेसँग संवाद गर्नुपर्नेलगायत १५ बुँदामा संयोजक पौडेलले कुरा राखेका थिए।
१९ पदका लागि विभिन्न दलबाट ४३ जनाको उम्मदेवारी परेको छ। गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच मुख्य प्रतिस्पर्धा हुनेछ।
साथै बैठकले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपिलसमेत गरेको छ।