मोरङका उद्योगी व्यवसायीले भारत अररियाको मीरगञ्ज पुलको वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सोमबार मोरङ व्यापार संघको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई भेटेर भारत सरकारसँग अविलम्ब पहल गरी आयात-निर्यात सहज बनाउन माग को हो।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष महेश जाजुले परराष्ट्र मन्त्री खड्कालाई सोमबार उनको क्वाटरमा पुगेर ज्ञापन पत्र बुझाएका छन्।
जोगबनीबाट करिब ६ किलोमिटरको दूरीमा रहेको बथनाहस्थित मीरगञ्ज पुल भासिएका कारण आयात-निर्यात ठप्प हुन पुगेको छ।
चार दिनदेखि आयात ठप्प हुँदा सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रको कच्चापदार्थ, पेट्रोलियम पदार्थ, औषधीलगायत रोकिएका छन्।
‘मीरगञ्ज पुलको वैकल्पिक व्यवस्थाका लागि त्यहाँ पुल निर्माण भइरहेको भए पनि सञ्चालनमा आएको छैन,’ खड्कासँग भेटपछि जाजुले भने, ‘हामीले तुरून्तै वैकल्पिक व्यवस्था नभए औद्योगिक क्षेत्र ठप्प हुने जानकारी गराएका छौं।’
मीरगञ्जको पुल भासिएपछि शुक्रबारदेखि जोगबनी भन्सारबाट मालबाहक गाडी भित्रिएका छैनन्।
सयौं गाडी अहिले बथनाहमा रोकिएको जाजुले बताए।
यसअघि वाणिज्य तथा आपूर्ति विभागको टोली पनि बथनाह पुगेको थियो।
‘मन्त्रीज्यूले यस सम्बन्धमा सरकार गम्भीर रहेको र अविलम्ब भारतीय सरकारसँग पहल गरी समस्या समाधान गर्ने बताउनुभएको छ,’ जाजुले भने।