अर्म, पर्म, मेलापात, घाँसको भारी,
बस्तु गोठालो अनि गोठको बास
यस्तै यस्तै हुन्छ
म नछुने भएको बेला
घरको काम गर्न हुन्न रे
तर
घर बाहिरको काम मरुन्जेल गरे नि केही हुन्न रे
दिउँसोमा त केही छैन
उज्यालोसँग बोल्छु
घामसँग रिसाउँछु
हावालाई मेरो कविता सुनाउँछु
रुखसँग थकाइ बिसाउँछु
चरीसँग चिर्बिराउँछु
जसरी पनि समय कटाउँछु
तर जब चकमन्न अन्धकार सुरु हुन्छ
अनि सुरु हुन्छ मेरो आर्तनाद
द्रौपदीको चीरहरण हुँदाको जस्तै चित्कार उठ्छ मनभरि
तर विडम्बना
म प्रतिवाद गर्न सक्दिनँ
कस्ता कस्ता एनजिओ, आइएनजिओ अनि
सिंहदरबारले गर्न नसकेको रूपान्तरणको आन्दोलन
यो गाउँले सोझी केटीले गर्नै सक्दिन
अहँ गर्नै सक्दिन
हिजो मात्रै पल्लो घरको बाख्रा बाघले लग्यो भन्थे
दिउँसो मात्रै अजिङ्गर सर्प घाम तापेर बसेको थियो
त्यही बाटो माथि घरमा जड्याहरूको अखडा हुन्छ
रातैभरि झगडा हुन्छ
बिजुली बत्ती छैन गोठमा गोठमा त के सुविधा हुन्छ?
यता अँध्यारो, उता अँध्यारो
ढोका खोलौँ डर मात्र लाग्छ
नखोलौँ उकुसमुकुसले मार्छ
हिजो आएको बाघ आज न आउला कसरी भनूँ
यो वर्षा र झरीमा त्यो सर्प ओभानो खोज्दै कता पुग्यो होला?
नशा, उत्तेजना र बलात्कार त्यो त सामान्य भइहाल्यो
सुनाऊँ त यो डर कस्लाई सुनाऊँ
छाउ गोठमा म एक्लै छु
चकमन्न अन्धकार
एक्लो म
डराएको ढुकढुकी
थाकेको शरीर
निर्बल नारी
रातभर मलाई के निन्द्रा लाग्छ
पक्कै म मर्छु यस्तो चाहिँ लाग्छ
आज नमरे भोलि मर्छु
भोलि बाँचेछु भने अर्को महिना मर्छु
त्यसैले डाक्टर साब म दूरबाट आएकी छु
यो समाजले छाउघर फाल्न सकेन
त्यसैले म पाठेघर फाल्न आएकी छु
डाक्टर साब मेरो मद्दत गर्नुस्
म यो जिन्दगी बाँच्न चाहन्छु।