नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउन आग्रह गरेको छ।
आइतबारमात्रै देशभर एक हजार १६७ कोरोना संक्रमित थपिएका थिए। अहिलेसम्म कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका २७ जना संक्रमित समेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यसरी बढ्दो संक्रमणलाई रोकथाम गर्न आइतबार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठक बस्यो।
बैठकले सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन नपाइने र प्रवेश गर्दा खोप कार्ड अनिवार्य गर्ने, विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने, सार्वजनिक सेवा लिन माघ ७ गतेदेखि खोप कार्ड अनिवार्यलगायत विभिन्न सिफारिस गरेको छ।
सिसिएमसीको बैठकले नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ।
त्यस्तो परीक्षणबाट कोरोना पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेसनमा राख्न जिल्लास्थित समन्वय गर्ने निर्णय सिसिएमसीले गरेको छ।
योसँगै सिसिएमसीले अध्यागमन विभागलाई एउटा निर्देशन पनि दिएको छ।
सिसिएमसीले पहिलो बुँदामा विभागलाई पूर्ण मात्राको खोप लगाएका र बोर्डिङ पास जारी हुनुभन्दा ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ भएका यात्रुलाई विदेशबाट नेपाल प्रवेशको लागि सम्बन्धित वायुसेवाले बोर्डिङ पास जारी गर्न भनेको छ।
त्यस्तै दोस्रो बुँदामा कोरोनाका नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिाकालगायत नौ देशबाट नेपाल आउने वा ती मुलुकहरूमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिज्ञ तथा आधिकारिक राहदानीवाहक वा आवासीय प्रवेशाज्ञा प्राप्त यात्रुलाई मात्रै क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्था लागू गर्न भनिएको छ।
अध्यागमन विभागले यसअघि गत मंसिरमा दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लोसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङलगायत नौ वटा राष्ट्रबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध गरेको थियो। तर त्यो निर्यणको आलोचना भएपछि विभागले त्यस निर्णयलाई फिर्ता गरेको थियो।
अहिले सिसिएमसीले पुन: ती मुलुकहरूबाट आउनेहरूलाई मात्रै आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्न भन्दै निर्णय गरेको छ। जबकी ती मुलुकभन्दा बढी संक्रमण छिमेकी राष्ट्र भारत, अमेरिका तथा अरू युरोपेली मुलुकमा देखिन्छ।
यो निर्णयबारे हामीले सिसिएमसीकी प्रवक्ता तथा सहसचिव सुनिता नेपाललाई सोध्यौं।
उनले सो निर्यण यसअघि मन्त्रिपरिषदबाट भएको हुँदा फिर्ता पनि त्यहीँबाट हुने बताइन्। यस्तै यसअघि विभागले जारी गरेको ट्राभल एड्भाइजरीले गर्दा पनि विदेशमा रहेका मानिसहरू अलमलमा परेको भन्दै त्यसलाई स्पष्ट पार्न पनि मिलाएर नयाँ एड्भाइजरी जारी गरिने उनले जानकारी दिइन्।
‘यसअघि जारी भएको ट्राभल एड्भाइजरीले परराष्ट्रमा थोरै कन्फ्युजन भएको छ। सबै देशबाट आउने कूटनीतिक राहदानी होल्डरहरू पनि अनिवार्य आइसोलेसनमा बस्नुपर्ने भन्ने बुझाइ भएको थियो। पहिले क्याबिनेटले निर्णय गरेको सिसिएमसीले खारेज गर्न सक्दैन त्यो नौ वटा देशलाई फेरि क्याबिनेटले नै खुलाउनु पर्ने हुन्छ,’ प्रवक्ता नेपालले भनिन्, ‘त्यही कन्फ्युजन भएको हुनाले त्यसरी निकालिएको हो। यसबारे अध्यागमन विभागले मिलाएर नयाँ ट्राभल एड्भाइजरी निकाल्छ।’
यस्तै खोप लगाएका वा नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरूको हकमा भने घरमै क्वारेन्टिनमा बस्ने निर्णय भएको उनले बताइन्।