पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको कीर्ति, जनताको सुखबाहेक प्रजातन्त्रको अर्को लक्ष्य हुन नसक्ने बताएका छन्।
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रणाली केवल साधन हुन् भनेका छन्।
‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र जेसुकै चयन गरिऊन्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निर्थक सावित हुनेछ,’ शाहले भनेका छन्।
साधन परिवर्तनलाई नै महान् उपलब्धीका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने स्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन,’ सन्देशमा उल्लेख छ।
शाहले हाम्रो भूगोल, माटो र पन आफ्नै धर्म संस्कृति एवम् गतिविधि नै प्यारो र राम्रो लाग्ने बताए।
‘आफ्नो गौरवमय अस्तित्वलाई जोगाइराख्न हिमाल, पहाड र तराईका हामी सबै एक बनौं,’ उनले भनेका छन्।